१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १६:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चट्याङ लागेर घाइते यार्सा संकलकको तीन दिनसम्म उद्धार भएन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:३o:oo

दार्चुलामा चट्याङ लागेर घाइते भएका तीनजना यार्सा संकलकको अझै उद्धार हुन सकेको छैन। व्याँस गाउँपालिका– २ हुँम्दुङतीस्थित पाटनमा चट्याङ लागेर घाइते भएका दुँहु गाउँपालिका– २ हिकिलाका १८ वर्षीय महेश बडाल, वडा नं. १ का ३८ वर्षीय आनसिंह महरा र उनकी ३३ वर्षीया श्रीमती मानमतीको उद्धारमा ढिलाइ भएको हो।

शनिबार राति चट्याङ लागेर उनीहरू घाइते भएका थिए। आइतबारबाटै हेलिकोप्टर माग गरे पनि अझै हेलिकोप्टर पुगेको छैन। घटनास्थल दुम्लिङबाट एक दिनको पैदल दूरीमा पर्छ। बाटो पनि अप्ठ्यारो भएकाले प्रहरी टोली पनि उक्त स्थानमा पुग्न सकेको छैन।

घटना भएको तीन दिनसम्म घाइतेहरूको उद्धार नभएको भन्दै स्थानीयले आपत्ति जनाएका छन्। दुहुँ गाउँपालिकाका निवर्तमान अध्यक्ष पुलेन्द्रबहादुर कार्की चट्याङ प्रकरणमा राज्य संवेदनविहीन भएको बताउँछन्। विकट ठाउँबाट उद्धारका लागि स्थानीय सरकारले पहल गर्दा पनि संघीय सरकारले चासो नदिएकोमा स्थानीयको दुखेसो छ।

हुँम्दुङतीमा चट्याङ लागेर यार्सा संकलक घाइते भएको खबरपछि सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले घाइतेको उद्धारका लागि सुर्खेतबाट हेलिकोप्टर उडेको जानकारी आएको बताइन्। यद्यपि, मौसम हिजोबाटै खुल्न सकेको छैन। मौसम सुधार हुनेबित्तिकै हेलिकोप्टरमार्फत उद्धारको तयारी भएको उनको भनाइ छ।

यसअघि यार्सागुम्बा संकलन सिजन सुरु भएलगत्तै वैशाख १९ गते व्याँस गाउँपालिका– १ छाङरुस्थित भोलुममा हिमपहिरो जाँदा पाँचजना यार्सा संकलकको ज्यान गएको थियो। सातजनाले भागेर ज्यान जोगाएका थिए।

ad
ad