नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने बताएका छन्।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी पार्टीको केन्द्रीय कमिटी बैठक समापन गर्ने क्रममा ओलीले राखेका धारणा उधृत गर्दै पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
बैठकमा संघीयताको विरोधमा छलफल गरिएको भन्ने बाहिर भ्रमपूर्ण हल्ला चलाइएको उल्लेख गर्दै ओलीले एमालेले त्यस्ता हल्लालाई सम्पूर्ण रूपमा खारेज गर्ने बताएका रिजालले उल्लेख गरे। उनका बैठकमा ओलीले पार्टीको आधिकारिक निर्णय मात्रै बाहिर लैजान केन्द्रीय सदस्यहरूलाई निर्देशनसमेत दिएका छन्।
‘हिजोदेखि एउटा हल्ला चलाइएको छ– नेकपा एमालेका चालू केन्द्रीय कमिटी बैठकमा संघीयताका बारेमा बहस सुरु भयो। नेकपा एमालेले संघीयतामा पुनर्विचार गर्ने भयो। अब नेकपा एमालेको संघीयता नमान्ने भयो भन्नेजस्ता जुन खालका गलत हल्लाहरू चलेका छन्। यिनलाई अध्यक्ष कमरेडले सम्पूर्ण रूपमा खारेज गर्नुभएको छ,’ रिजालले भने।