१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २९ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २९ शुक्रबार २१:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्ड कमरेड ! क्यान्टोनमेन्टकाे फाइल खाेलियाेस्, तुरुन्त छानबिन होस् : वाइसिएल अध्यक्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २९ शुक्रबार २१:४o:oo

माओवादी केन्द्रको सहायक संगठन वाइसिएलका अध्यक्ष सुबोधराज शेर्पालीले लडाकु शिविर (क्यान्टोनमेन्ट)मा भएको भनिएको भ्रष्टाचारको छानबिन गर्न प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन् । 

सरकारले सुरु गरेको भ्रष्टचारविरोधी अभियानमा ऐक्यबद्धता जनाउँदै  वाइसिएललगायत माओवादीनिकट जनवर्गीय संगठनहरूले शुक्रबार बानेश्वरमा गरेको सभामा शेर्पालीले यस्तो माग गरेका हुन् । 

‘गणतन्त्र प्राप्तिको आन्दोलनमा होमिएका जनमुक्ति सेनाहरूलाई पटकपटक क्यान्टोनमेन्टको कुरा निकालेर अपमान गर्ने काम भइरहेको छ । यसको सत्यतथ्य छानबिन गर्न म प्रधानमन्त्री तथा पार्टी अध्यक्षसँग माग गर्दछु,’ सभामा उनले भने । 

नेपाली नागरिकलाई भुटानी शरणार्थीको आवरणमा अमेरिका पठाउन गरिएको ठगीमा संलग्न ठूला नेताहरूलाई सरकारले कानुनको कठघरामा उभ्याउँदै गर्दा क्यान्टोनमेन्टको कुरा निकालेर कांग्रेस–एमालेका नेताहरूले जनताको ध्यान अर्कैतिर मोड्न खोजेको उनले आरोप लगाए । क्यान्टोनमेन्टको छानबिन गरेर जनतामा परेको भ्रम चिर्नुपर्ने उनको भनाइ थियो । 

‘तत्कालीन समयमा सरकारले नै लडाकु शिविर व्यवस्थापन समिति बनाएर पारदर्शी ढंगले सेना समायोजनको काम सम्पन्न गरेको थियो । तर, कांग्रेस–एमालेका नेताहरूले अरू कुनै खोट नपाएर जतिखेर पनि क्यान्टोनमेन्टको कुरा निकालेर माओवादीलाई पटक–पटक अपमान गर्ने काम गरिरहेका छन्,’ उनले भने, ‘यदि उनीहरूको आरोप सत्य हो भने जोकोही दोषी देखिए पनि कारबाही होस् । आरोप असत्य भए स्पष्ट पारियोस् ।’ 

उनले भ्रष्टाचारविरुद्ध कठोरतापूर्वक उभिएको सरकारको मनोबल कमजोर बनाउने गरी कसैले अभिव्यक्ति दिन नहुने जिकिर गरे । 

सभालाई माओवादी केन्द्रीय सदस्य एवं वाइसिएल फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा, केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यमान दोङ, राजन दाहाल, मीना लामालगायतका नेताले सम्बोधन गरेका थिए ।