छात्राको आत्महत्या प्रकरणमा चितवन मेडिकल कलेजले दुईजना शिक्षकलाई निलम्बन गरेको छ । मेडिकल स्कुल अफ डेन्टल कलेजमा दन्त चिकित्सक चौथो वर्षमा अध्यनरत सिमरन थापाले बुधबार भरतपुर महानगरपालिका–१० सप्तगण्डकी चोकमा रहेको आफू सुत्ने कोठामै सिलिङ पंखामा सलको पासो लगाई आत्महत्या गरेकी थिइन् ।
शिक्षकले मानसिक तनाव दिएर परीक्षाबाट निकालेको, विगतमा पनि मानसिक तनाव दिने गरेकाले थापाले आत्महत्या गरेको आरोप लागेपछि मेडिकल कलेजले डा. अभिषेक गुप्ता र डा. हरेन्द्र सिंहलाई बिहीबार निलम्बन गरेको हो ।
‘विद्यार्थीबाट धेरै गुनासो आएकाले गुप्ता र सिंहलाई आजैको मितिबाटै लागू हुने गरी संस्थाबाट निलम्बन गरिएको छ,’ कलेज प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विद्यार्थीले निष्पक्ष छानबिनको माग गर्दै संघर्ष समितिमार्फत आन्दोलन गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक एसपी रामेश्वर कार्कीका अनुसार परिवारका सदस्यहरू प्रहरीको सम्पर्कमा आएका छैनन् ।