
दैलेखको आठबिस नगरपालिका– ६ मा पर्ने माल्या जंगलमा भएको आगलागीमा परी घाइते भएका नौजनामध्ये एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्बर ६ का ३७ वर्षीय भीमबहादुर विक रहेका छन् । उनलाई बुधबार उपचारका लागि नेपालगन्ज लगिएको थियो । भेरी अस्पताल नेपालगन्जमा उपचारकै क्रममा उनको मृत्यु भएको उपचारमा गएका सहयोगी खगेन्द्र शाहीले जानकारी दिए।
शाहीले भने, ‘उहाँको उपचारकै क्रममा मृत्यु भएको छ । पोस्टमार्टम गरेर शव दैलेखतर्फ ल्याउने तयारी भएको छ ।’ आगोले उनको शरीरकाे ५५ प्रतिशत जलेको थियो, अन्य गम्भीर चारजनालाई नेपालगन्जका प्रमुख जिल्ला अधिकारीको सहयोगमा थप उपचारका लागि काठमाडौं पुर्याउने तयारी भएको छ ।
अन्य घाइतेहरूमध्ये तीनजनाको भेरी अस्पताल र पाँचजनाको नर्सिङहोममा उपचार भइरहेको छ । मिना विक, जुना विक, प्रकाश विक, नैना विक, जौकला विक, भैरे विक, प्रज विक, नवीन विकको उपचार भइरहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको कामका लागि वडा नम्बर ६ को गोरेटो बाटो निर्माणका लागि गएका १० जनामध्ये आगोमा परेर नौजना गम्भीर घाइते भएका थिए ।
माथि सडक निर्माणमा लागेका उनीहरू तलबाट आगो दन्किँदै आएपछि केहीबेर निभाउने प्रयास गरेको र निभाउन नसकेर आगो नै शरीरमा आएपछि घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । घाइतेमध्येका गम्भीर आगलागीमा परेका नौजनालाई हेलिकप्टरमार्फत बुधबारनै थप उपचारका लागि नेपालगन्ज लगिएको थियो ।