१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o७:२९:oo
Read Time : > 4 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

खाण र रायमाझीको राजनीतिक भविष्यमा ग्रहण 

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:२९:oo

भुटानी शरणार्थीको नाममा भएको ठगी धन्दामा संलग्न देखिएपछि कांग्रेस नेता खाण र एमाले सचिव रायमाझीलाई फेरि राजनीतिमा स्थापित हुन नैतिक संकट

खाणमाथिका आरोप

  • १८ मंसिर ०७८ मा गृहमन्त्री हुँदा शरणार्थीसम्बन्धी निर्णय कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय झापा र मोरङलाई पत्राचार
  • बिचौलिया सानु भण्डारीद्वारा खाणलाई एक करोड २४ लाख बुझाएको बयान
  • खाणकी पत्नी मञ्जुलाई ६ करोड बुझाएको दाबी गर्दै सामाजिक सञ्जालमा अडियो सार्वजनिक
  • कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाले पक्राउ परेका अभियुक्तलाई भेटेर खाणको नाम नलिन भन्दै पैसा फिर्तासम्बन्धी ‘डिल’

नक्कली भुटानी शरणार्थी प्रकरणले कांग्रेस र एमालेका प्रभावशाली दुई नेता बालकृष्ण खाण र टोपबहादुर रायमाझीको राजनीतिक भविष्यमा ग्रहण लाग्ने देखिएको छ । दुवै नेता आ–आफ्नो पार्टीमा प्रभावशाली थिए । कांग्रेस सभापति शेरबहादुर देउवाका ‘कोर टिम’का विश्वासिला पात्र पूर्वगृहमन्त्री खाण प्रहरी हिरासतमा छन् भने पूर्वउपप्रधानमन्त्री रायमाझी एक सातादेखि फरार छन् । फरार भएर राज्यको अनुसन्धानलाई असहयोग गर्दा पार्टीको प्रतिष्ठामा समेत आँच पुगेको निष्कर्षपछि एमालेले बुधबारै रायमाझीलाई निलम्बन गरेको छ ।

खाणले मुख्य अभियुक्तकै रूपमा भ्रष्टाचार प्रकरणकै नेतृत्व गरेको बलियो प्रमाण भेटिएको प्रहरीको दाबी छ । पार्टीभित्र पकड भएका खाण करिब पाँच दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय छन् । नेविसंघ, तरुण दलजस्ता पार्टीको ‘पिल्लर’ संगठनबाट राजनीतिमा जम्प गर्दै कांग्रेस सहमहामन्त्री भइसकेका खाण पछिल्लो महाधिवेशनमा महामन्त्रीका दाबेदार थिए । तर, देउवालाई सभापति जिताउने सर्तमा उनी केन्द्रीय सदस्य मात्र बन्न सहमत भएका थिए । उनी नेविसंघका पूर्वअध्यक्ष र तरुण दलका संस्थापक अध्यक्ष हुन् ।

देउवाको थोरै विश्वासपात्र र हर्ताकर्ताभित्र पर्ने नेता खाणले पछिल्ला दिनमा पार्टीभित्र पकड विस्तार गरिरहेका थिए, तर गत ४ मंसिरको निर्वाचनमा भने बहालवाला गृहमन्त्री खाण रुपन्देही ३ मा राप्रपाका दिपक बोहरासँग पराजित भए । नक्कली भुटानी शरणार्थीको भ्रष्टाचार र ठगी काण्डमा मुछिएपछि उनको राजनीतिक जीवनमा ग्रहण लागेको आकलन गरिएको छ ।

कांग्रेसबाट मन्त्री भएका खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, विजयकुमार गच्छदार, जेपी गुप्तालगायत थुप्रै नेता भ्रष्टाचार काण्डमा मुछिँदा राजनीतिक जीवन नै समाप्त भएको दृष्टान्त दिँदै नागरिक समाजका अगुवा श्याम श्रेष्ठ खाणले पनि उस्तै नियति भोग्नुपर्ने अवस्था आउन सक्ने बताउँछन् । ‘यो काण्डसँगै उहाँको व्यक्तिगत राजनीतिक भविष्यमा त ग्रहण लाग्छ नै, राजनीतिक रूपमा फेरि सक्रिय भएर आउन सक्ने सम्भावना पनि धेरै कम छ,’ श्रेष्ठले भने, ‘कांग्रेसबाट मन्त्री भएका चिरञ्जीवी वाग्ले, खुमबहादुर खड्कालगायत जो–जो नेताहरू यस्तै भ्रष्टाचार काण्डमा मुछिए, उनीहरूको राजनीतिक भविष्य सकियो, चकनाचुर भयो ।’ 

यससँगै खाणको पक्राउले नेपाली राजनीतिमा हेभिवेटका नेता पनि पक्राउ पर्न सक्छन् र उनीहरूमाथि पनि सजाय हुन सक्छ भन्ने सन्देश जानु धेरै सकारात्मक भएको उनको टिप्पणी छ । त्यसो त खड्का, वाग्ले, गोविन्दराज जोशी, विजय गच्छदार, मोहम्मद अफ्ताव आलम, जेपी गुप्ता, तारणीदत्त चटौतसँगै पछिल्लोपटक कांग्रेसका पूर्वमन्त्री टेकबहादुर गुरुङ भ्रष्टाचार प्रकरणमा मुछिएका थिए । खड्काको मृत्यु भइसके पनि बाँकी नेताहरू राजनीतिबाट ओझेलमा छन् ।

खाणले ०४८ मा प्रत्यक्षबाट चुनाव जितेर पहिलोपटक संसद्मा डेब्यु गरेका थिए । उनी ०६४ र ०७० मा प्रत्यक्ष र ०७४ मा समानुपातिक सांसद थिए । रक्षा, सिँचाइ र गृहसहित तीनपटक मन्त्री तथा शिक्षा र युवा तथा खेलकुद राज्यमन्त्रीसहित पाँचपटक मन्त्री बनिसकेका उनीमाथि अदालतमा मुद्दा चल्यो र सफाइ पाउन सकेनन् भने अबको राजनीतिमा उनलाई माथि उठ्न कठिन देखिन्छ । 

देउवा समूहका प्रभावशाली नेता खाणको पक्राउले कांग्रेसभित्रको आन्तरिक राजनीतिमा पनि ठूलै प्रभाव पार्न सक्नेछ । पार्टीमा शेखर कोइराला–गगन थापा समूहले निष्पक्ष छानबिन र कारबाहीका लागि दबाब बढाइरहेकाले पनि सभापति देउवा दबाबमा परेका छन् । बुधबार साँझ सभापति देउवानिवासमा बसेको पदाधिकारी बैठकमा खाणलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने आवाज उठेको थियो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ठगी काण्डमा मुछिएकाले उनलाई कारबाही गर्नुपर्ने अडान राखेका थिए । तर, सभापति देउवाले कुनै निर्णय लिन सकेनन् ।

खाण पक्राउ परेसँगै देउवाको उत्तराधिकारीका रूपमा भावी सभापतिका सम्भावित दाबेदारका रूपमा हेरिएका उपसभापति पूर्णबहादुर खड्कालाई समेत धक्का लागेको छ । खाणले प्रकरणबाट जोगिन पक्राउ परेका बिचौलियालाई पार्टीकै पूर्वसांसदमार्फत पैसा फिर्ता गर्नेदेखि वक्तव्य निकालेर खण्डन गर्ने, तरुण दललाई विरोधमा उतार्नेदेखि सभापति देउवामार्फत सरकार र प्रहरी प्रशासनमाथि दबाब सिर्जना गरेका थिए । 

श्याम श्रेष्ठ नागरिक समाजका अगुवा
यो काण्डसँगै बालकृष्ण खाणको व्यक्तिगत राजनीतिक भविष्यमा त ग्रहण लाग्छ नै, राजनीतिक रूपमा फेरि सक्रिय भएर आउन सक्ने सम्भावना पनि धेरै कम छ ।

कांग्रेसबाट मन्त्री भएका चिरञ्जीवी वाग्ले, खुमबहादुर खड्कालगायत जो–जो नेता यस्तै भ्रष्टाचार काण्डमा मुछिए, उनीहरूको राजनीतिक भविष्य सकियो, चकनाचुर भयो । प्रमाण भए मात्र पक्राउ गर्ने प्रहरीको नीतिअनुसार एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको होला ।

शीर्ष नेताको दबाबमा प्रकरण सामसुम हुने सम्भावना जीवितै छ, तर जुनसुकै तहको नेता पनि गल्ती गर्दा दण्डित हुन्छ भन्ने उज्यालो पक्ष अहिलेको घटनाक्रमले देखाएको छ ।

माओवादीबाट एमाले प्रवेश गरेका रायमाझी संकटमा

रायमाझीमाथिका आरोप

  • नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तसँग मिलेमतो गरी ठगीमा सघाएको 
  • छोरा सन्दीप रायमाझीलाई पटक–पटक गरेर बैंकमा ठूलो रकम पठाएको खुलासा 
  • राष्ट्रिय राजनीतिमा स्थापित भइसकेको र पूर्वउपप्रधानमन्त्री फरार हुँदा एमालेको साखमा धक्का पुर्‍याएको

साढे चार दशकदेखि विद्यार्थी राजनीतिबाट माओवादी र पछिल्लोपटक एमालेको राजनीतिमा प्रभावशाली हैसियत बनाएका टोपबहादुर रायमाझीको राजनीतिक जीवनलाई पनि यो प्रकरणले संकटमा पारेको छ । डा. बाबुराम भट्टराईले नेतृत्व गरेको तत्कालीन जनमोर्चा, माओवादी हुँदै पार्टी एकतापछि नेकपा र विभाजनपछि एमालेमै रहेका रायमाझी दशौँ महाधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए । रामबहादुर थापा बादलले प्रत्यक्ष चुनाव लड्ने आँट नगर्दा र सचिव लेखराज भट्ट पराजित हुँदा पूर्वमाओवादी समूहका रायमाझी सत्तागठबन्धनबाट उम्मेदवार रहेकी कांग्रेसकी डा. पुष्पा भुसाललाई  पराजित गरेर अर्घाखाँचीबाट चौथोपटक विजयी भएका थिए । 

तत्कालीन माओवादीभित्र पनि जनाधार बलियो भएका नेताका रूपमा परिचय बनाएका रायमाझी अनेरास्ववियु छैटौँको अध्यक्ष हुँदै पार्टीको केन्द्रीय राजनीतिमा स्थापित भएका थिए । एमालेभित्र पनि लगातार चुनाव जित्न सक्ने बलियो जनाधार भएका थोरै नेताभित्र पर्ने भएका कारण छोटो समयमै उनले अध्यक्ष ओलीको विश्वास जित्ने गरी प्रभाव जमाउँदै थिए । तत्कालीन माओवादीको केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी समिति, केन्द्रीय कार्यालय, नेकपाको स्थायी समिति, एमालेको सचिवसम्म बनेर राष्ट्रिय राजनीतिमा स्थापित रायमाझी फरार हुँदा एमालेले आफ्नो राजनीतिमा समेत धक्का महसुस गरेको छ । कार्यकर्ता र जनस्तरको दबाबपछि ढिलै भए पनि रायमाझीलाई निलम्बन गरेर प्रहरीको अनुसन्धानलाई सहयोग पुर्‍याउने एमालेको निर्णयसँगै उनी यो प्रकरणबाट अब उम्किने अवस्थामा छैनन् भन्ने स्पष्ट भएको छ । पक्राउ परेका बिचौलियासँगको उठबस, उनीहरूसँगको तस्बिर, पटक–पटकको कनेक्सनलगायत प्रमाणका रूपमा फेला परेकैले उनलाई पुर्जी काटिएको प्रहरीले दाबी गर्दै आएको छ ।

स्थानीय विकास, भौतिक पूर्वाधारमन्त्री र पछिल्लोपटक ऊर्जासहित उपप्रधानमन्त्री बनिसकेका रायमाझीले भ्रष्टाचार प्रकरणबाट उन्मुक्तिका लागि धेरै प्रयास गरेको रहस्योद्घाटन हुँदै आएको छ । पार्टी अध्यक्ष केपी ओलीमार्फत दबाब सिर्जना गर्नेदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर रायमाझीले आफू संलग्न नरहेको दाबी गरेका थिए । तर, पक्राउ पुर्जी जारी भएपछि एमालेले व्यक्तिगत तवरबाट मुछिने पार्टीको जो–कोही नेतामाथि कारबाही हुनुपर्ने स्ट्यान्ड लिएको छ । ‘हामी पार्टीको जो–कोही नेतामाथि यस्ता प्रकरणमा कारबाही हुनुपर्छ भन्ने मान्यतामा छौँ,’ उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भनेका छन्, ‘त्यही कारण हामीले प्रहरीको अनुसन्धानलाई सहयोग पुर्‍याउन निलम्बनको कारबाही गरेका हौँ ।’

नागरिक अगुवा श्रेष्ठ खाणको जस्तै रायमाझीको राजनीतिक भविष्यमाथि पनि ग्रहण लागेको बताउँछन् । रायमाझीलाई प्रमाण पुगेरै प्रहरीले पक्राउ पुर्जी जारी गरेको हुन सक्ने भए पनि शीर्ष दबाबमा छुट्न नहुने उनको मत छ । ‘प्रमाण भए मात्र पक्राउ गर्ने प्रहरीको नीतिअनुसार पक्राउ पुर्जी जारी भएको होला । शीर्ष नेताको दबाबमा प्रकरण सामसुम हुने सम्भावना जीवितै छ, तर जुनसुकै तहको नेता पनि गल्ती गर्दा दण्डित हुन्छ भन्ने उज्यालो पक्ष अहिलेको घटनाक्रमले देखाएको छ,’ श्रेष्ठले भने । 

ad
ad