आन्यगमन शब्दले सरल अर्थमा विवाहित पुरुष या महिलाले आफ्ना पत्नी या पतिबाहेक अर्को व्यक्तिसँग राख्ने शारीरिक सम्बन्धलाई बुझाउँछ । विवाहेतर सम्बन्धलाई अन्यगमन भन्ने गरिन्छ । सामाजिक रूपमा विवाहबाहिरको सम्बन्धलाई पूर्वीय होस् या पश्चिमा समाज, सबैतिर अनैतिक कार्यका रूपमा लिने गरिन्छ । कतिपय मुलुकमा अन्यगमनलाई कानुनी रूपमै वर्जित गरिएको छ भने कतिपय समाजले यसलाई गैरसामाजिक कार्यका रूपमा लिँदै आएका छन् ।
सर्वमान्य रूपमा अन्यगमन कुनै पनि समाजमा सहज स्वीकार्य कार्य होइन । तथापि अन्यगमनको समस्या विश्वका सबै देशमा रहँदै आएको छ । जसका कारण सामाजिक विकृति र विसंगति सबैजसो समाजले भोग्दै आएका छन् । यस्तो सम्बन्ध व्यक्तिगत रूपमा परिवार या पारिवारिक सम्बन्धको क्षयीकरण तथा विभिन्न अपराधका घटनाको जड पनि बन्दै गएको छ । यस आलेखमा अन्यगमनको कारण तथा यसले समाजमा निम्त्याउन सक्ने सामाजिक समस्याका सन्दर्भमा सैद्धान्तिक तथा केही तथ्यांकको विश्लेषण गरिनेछ ।
अन्यगमनको समाजशस्त्रीय अवधारणा : समाजशस्त्रीय दृष्टिकोणमा कुनै पनि सामाजिक मुद्दा या विषयको विश्लेषण गर्दा समाजशास्त्रीय परिकल्पना (सोसियोलोजिकल इम्याजिनेसन) को दृष्टिबाट हेर्ने गरिन्छ । यसले सामाजिक यथार्थलाई व्यक्तिगत अनुभव र बृहत् सामाजिक एवं ऐतिहासिक परिवेशको दृष्टिकोणबाट विश्लेषण गर्न सहजीकरण गर्छ । जसले आसन्न सामाजिक मुद्दाका विविध सवालको तर्कसंगत जवाफ भेट्टाउन मद्दत पुर्याउँछ । समाजको आधुनिकीकरण सँगसँगै समाजमा अन्यगमनको समस्या निकै जटिल बन्दै गएको छ ।
जीवन जिउन जसरी सामाजिक, आर्थिक र राजनीतिक आवश्यकताको परिपूर्ति जरुरी छ, शारीरिक तृप्ति पनि त्यति नै आवश्यक हुन्छ । यसर्थ विवाह या सहवासको संस्कृति विश्वव्यापी संस्कृतिका रूपमा रहँदै आएको छ । विवाह सामान्य बुझाइमा सहवासको कानुनी प्रबन्धका साथै वंशवृद्धिको माध्यम पनि हो । विवाहपश्चात् विवाहेतर सम्बन्ध प्रायः विश्वको सबै समाजमा कम्तीमा पनि नैतिक रूपमा मान्य छैन । तथापि जीवनसाथीलाई ढाँटेर या लुकेर विवाहित पुरुष र महिला यस्तो
सम्बन्धमा रहने गरेको पाइन्छ । अन्यगमनको सन्दर्भमा अन्तर्क्रियावादी (इन्टरयाक्सनिस्ट), द्वन्द्ववादी (कनफ्लिक्टस्) र कार्यवादी (फ्ङ्सन्यालिस्ट), सिद्धान्तको दृष्टिकोणबाट व्यभिचारको विश्लेषण गरौँ ।
अन्तर्क्रियावादीहरू कुनै पनि मानवीय आचरण, सामाजिक सिकाइका र अन्तरक्रियाका उपज मान्छन् । मानिसले जसरी समाजका परम्परागत मूल्य र मान्यता सिक्छन्, ठिक त्यसरी नै गलत एवं असामाजिक कार्य पनि समाजबाटै सिक्छन् । मानिस विचलित हुनु या गैरकानुनी बाटोमा हिँड्नुको मुख्य जड भनेको उसको समाजिकीकरणको प्रतिफल हो । समाजले ऊप्रति गर्ने व्यवहार हो । समाजमा उसले गर्ने संगतको उपज हो । यसर्थ कुनै पनि मानिसको संगत व्यभिचारी मानिससँग हुन गयो भने ऊ पनि व्यभिचारी हुने सम्भावना अधिक रहन्छ । त्यसो त कुनै समय जीवनसाथी, साथीभाइ र समाजबाट उसलाई व्यभिचारीको उपमा दिइयो या आशंका गरियो भने आफन्तबाट त्यस्तो नामपत्र (लेबल/ट्याग) पाएका व्यक्ति पनि विचलित हुने सम्भावना अधिक रहन्छ ।
द्वन्द्ववादीहरू भने समाजमा कुनै पनि किसिमको द्वन्द्व असमानताको कारण हुने जिकिर गर्छन् । भेदभाव, थिचोमिचो र असमानताजस्ता सामाजिक कुरीतिका कारण समाजमा सामाजिक विचलन पैदा हुनेमा उनीहरू विश्वास राख्छन् । यस हिसाबले हेर्दा असन्तुलित पारिवारिक जीवन, पति र पत्नीबीचको असमान सम्बन्ध, घरेलु हिंसा, थिचोमिचो र कलहजस्ता कारण समाजमा अन्यगमनको सम्बन्ध हुने गर्छ ।
मानिसले जसरी समाजका परम्परागत मूल्य–मान्यता सिक्छन्, ठिक त्यसरी नै गलत एवं असामाजिक कार्य पनि समाजबाटै सिक्छन् । मानिस विचलित हुनु या गैरकानुनी बाटामा हिँड्नुको मुख्य जड उसको सामाजीकरणको प्रतिफल हो, समाजले ऊप्रति गर्ने व्यवहार हो र समाजमा उसले गर्ने संगतको उपज हो ।
कार्यवाद सिद्धान्तअनुसार हेर्ने हो भने समाजका हरेक तत्व र क्रियाको आफ्नो विशेष दायित्व र कार्य हुन्छ । जसको समन्वय एवं कार्यबाट सामाजिक सद्भाव र एकता कायम रहन्छ । तसर्थ, सामाजिक व्यवस्था बनिरहन्छ । यस हिसाबले हेर्ने हो भने कार्यवादी समाजशास्त्रीहरू एकातर्फ अन्यगमनले आफ्ना यौनसाथीबाट शारीरिक रूपमा असन्तुष्ट वयस्कले आफ्नो यौन अतृप्ति पूर्ति गर्ने मान्यता राख्छन् ।
अर्काथरी कार्यवादीहरू चिन्तक यस्ता अन्यगमनका कारण समाजमा घटेका पारिवारिक विघटन र हत्या–आत्महत्याजस्ता घटनाबाट मानिस सत्कर्म र कुकर्मबारे जानकार हुने अवस्था सिर्जना हुने ठान्छन् । जसबाट मानिसले कुन कार्य सही र कुन कार्य गलत हो भनी ठम्याउन सक्छन् भन्ने उनीहरूको बुझाइ छ ।
अन्यगमनका कारण : सामान्य बुझाइमा वैवाहिक साथीबाट आशातीत मायाप्रेम नपाउनु र यौनसन्तुष्टि प्राप्त नहुनुलाई नै अन्यगमनको प्रमुख कारक मान्ने गरिन्छ । केहीचाहिँ विवाहपश्चात्को पारिवारिक तथा यौनहिंसालाई यसको कारक मान्छन् । त्यसो त, जोडीबीचको सामीप्य, विचारको सम्प्रेषण, सहअस्तित्व र सम्मानजस्ता कुराको प्राप्ति र तृप्तिले पनि विवाहपश्चात्को सम्बन्ध निर्धारण गर्छ ।
बेलायतमा गरिएको एक सर्वेक्षणले अन्यगमनका यौनसम्बन्धभन्दा पनि अरू नै कारण रहेको देखाएको छ । ‘दि कन्भर्सेसन’ को पोर्टलमा मार्च ४, २०१८ मा प्रकाशित ‘इट्स नट जस्ट सेक्स’ शीर्षकको आलेखमा मानिसले विवाहेतर सम्बन्ध किन खोज्छ भन्नेबारे तथ्यांक प्रकाशित गरिएको छ ।
जसअनुसार पाँच हजार बेलायती महिला र पुरुषमा गरिएको सर्वेक्षणमा करिब ८४ प्रतिशत महिलाले भावनात्मक समीप्यको अभाव तथा ७५ प्रतिशतले पतिपत्नीबीच भावनात्मक रूपमा खुलस्त विचार सम्प्रेषणको अभाव प्रमुख कारण बताएका छन् भने केवल २३ प्रतिशतले पार्टनरसँगको यौन सन्तुष्टिको कमीलाई कारण बताएका छन् । २३ प्रतिशत महिलाले यौनहिंसा/दुरुपयोगलाई कारण बताएका छन् । त्यस्तै ६८ प्रतिशत पुरुषले भने पतिपत्नीबीच भावनात्मक विचार सम्प्रेषणको अभाव प्रमुख कारण बताएका छन् भने ४४ प्रतिशतले पार्टनरसँगको यौन सन्तुष्टिको कमीलाई कारण बताएका छन् भने ३८ प्रतिशतले भावनात्मक समीप्यको अभावलाई जिम्मेवार ठहर्याएका छन् ।
अन्यगमनसम्बन्धी केही
सर्भे : टाइम्स अफ इन्डियाको २३ मे, २०२२ मा प्रकाशित एक सर्भेको तथ्यांकले विवाहित जोडीमा अन्यगमन विवाहको पाचौँदेखि दसौँ वर्षबीच अधिक हुने गरेको देखाएको छ । कुल अन्यगमनको १८ प्रतिशत विवाहको पाँचदेखि सात वर्षभित्र, ४३ प्रतिशत विवाहको दसाैँ वर्षमा र ३९ प्रतिशत जुन कुनै समयमा पनि हुने देखाएको छ । त्यसो त मिन्ट पत्रिकाको फेब्रुअरी २६, २०२० मा प्रकाशित अर्को सर्भे तथ्यांकले भारतमा ५५ प्रतिशत विवाहित जोडीले विवाहेतर सम्बन्ध राख्ने गरेको देखाएको छ । जसअनुसार ५६ प्रतिशत महिलाले विवाहपश्चात् अन्य सम्बन्ध राखेको तथ्य प्रकाशित गरेको छ । दिल्ली, मुम्बई, अहमदावादलगायत ६ ठूला सहरमा करिब एक हजार पाँच सय २५ विवाहित मानिसमा सर्वेक्षण गरिएको मिन्टले जनाएको छ ।
फ्रान्सेली न्युज एजेन्सी सिटिभी न्युजमा २७ फेब्रुअरी, २०१४ मा प्रकाशित समाचारअनुसार युरोपमा फ्रान्स र इटलीमा सबैभन्दा बढी विवाहेतर सम्बन्ध हुने गरेको छ । हरेक दुई विवाहित पुरुषमा एक र हरेक तीन विवाहित महिलामध्ये एकले विवाहेतर सम्बन्ध राख्ने गरेको सो तथ्यांकले देखाएको थियो । पियू रिर्सच सेन्टरको २०१३ को सर्वेक्षणअनुसार ८४ प्रतिशत अमेरिकीले विवाहबाहिरका सम्बन्ध अस्वीकार्य र अनैतिक मान्ने गरेको देखाउँछ । यसो त, टाइम्स म्यागेजिनको २७ फ्रेब्रुअरी, २०१४ को तथ्यांकअनुसार युरोपमा सबैभन्दा कम विवाहेतर सम्बन्ध बेलायतमा देखिएको बताएको छ । जसअनुसार ४० प्रतिशत पुरुष र २९ प्रतिशत महिलाले मात्र विवाहपश्चात् आफ्नो जीवनसाथीलाई चिटिङ गर्छन् ।
अन्यगमनका परिणाम : एक वाक्यमा भन्दा अन्यगमन असामाजिक र अनैतिक कार्य हो । जब यस्तो निजी सम्बन्ध सार्वजनिक बन्न पुग्छ, तब दुई व्यक्ति मात्र होइन, कम्तीमा पनि दुई परिवारमा यसको प्रत्यक्ष असर पर्छ । त्यसो त यो सार्वजनिक हुनासाथ मानिसले लाज र दोष दुवै महसुस गर्छ । मानिसले सामाजिक प्रतिष्ठा गुमाएको महसुस गर्छ । उसले आफ्नो निकट पार्टनरबाट विश्वास र सामीप्य गुमाउँछ । यसले कतिपय सम्बन्ध पारपाचुकेमा पुगेर टुंगिन्छन् ।
कतिपयमा एक्लोपन तथा मानसिक रोगको सिकार हुनेसम्मको अवस्था आउँछ । कतिपय विवाहेतर सम्बन्धको गन्तव्य आत्महत्या हुने गर्छ । आजको युगमा प्रविधि र सूचनाको विकास र पहुँचसँगसगै यस्ता सामाजिक विसंगतिका समास्या पनि विकराल हुँदै गएका छन् । खुला समाजभन्दा पनि परम्परावादी समाजमा अन्यगमनका परिणाम भयंकर हुने गरेको पाइन्छ ।
अन्त्यमा : अन्यगमन हरेक समाजले अनैतिक रूपमा लिएको र कुनै पनि समाजले सहजै नस्विकारेको विषय हो । यो हरेक समाजमा व्याप्त सामाजिक समस्या हो । यसको मुख्य जड पतिपत्नीबीच भावनात्मक निकटताका साथै शारीरिक सामीप्यको ह्रास हुनुको परिणाम हो । त्यसो त आर्थिक अपर्याप्तता पनि आधुनिक समाजमा अन्यगमनको महत्वपूर्ण कारक बन्ने गरेको छ । आजको समाजमा सामाजिक सञ्जालको प्रयोगले पनि बाह्य पहुँच बढाइदिएको छ । जसले अन्यगमनलाई टेवा पुर्याएको छ । अन्यगमनलाई गैरकानुनी मान्ने कि अनैतिक, यस विषयमा भने विभिन्न देश र संस्कृतिमा आआफ्नै बुझाइ र व्याख्या कायम छन् ।
(ओझा अमेरिकास्थित मिनिसोटा नर्थ कलेजमा प्राध्यापनरत छन्)