मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अविन ओझा
२०७९ श्रावण १२ बिहीबार ०७:१६:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बुढ्यौली : लैंगिक विभेदको समाजशास्त्र

बुढ्यौली मानव जीवनचक्रको अनिवार्य चरण हो, यसलाई घृणा या अभिशापका रूपमा हेर्नु दृष्टिदोष मात्र हो

Read Time : > 3 मिनेट
अविन ओझा
२०७९ श्रावण १२ बिहीबार ०७:१६:००

बुढ्यौली धेरैले नचाहेको तर जीवनचक्रमा प्रायः सबैले अनिवार्य अनुभव गर्नुपर्ने एक अवस्था हो । सर्वविदितै छ, मानिसको जीवन जन्मेपछि बाल्यावस्था, वयस्कावस्था, हुँदै बुढ्यौलीमा पुगेर समाप्त हुने गर्छ । बाल्यावस्था र वयस्कावस्थाको सन्दर्भमा धेरै अध्ययन र बहस हुने गरे पनि बुढ्यौलीको अध्ययन र बहस भने तुलनात्मक रूपमा कम हुने गर्छ । ‘जेरेन्टोलजी’ अर्थात् बुढ्यौली अध्ययन शब्दावलीको प्रयोग पहिलोपटक प्रतिरक्षा विज्ञ (इम्युनालजिस्ट) इली मेचिनकफले सन् १९०४ मा गरेका थिए । सन् १९३० को दशकमा जेरेन्टोलजीलाई बुढ्यौलीको जैविक तथा सामाजिक पक्षहरूको अध्ययन–अनुसन्धान गर्ने शास्त्रका रूपमा परिभाषित गरियो । यस आलेखमा बुढ्यौलीको जैविक तथा सामाजिक पक्षका विषयमा विषयगत बहसभन्दा पनि बुढ्यौली र बुढ्यौलीका सन्दर्भमा महिला र पुरुषबीचको विभेदका सन्दर्भमा केही परिदृश्यको सेरोफेरोमा रहेर चार्चा गरिएको छ । 

मानिस कहिले बूढो हुन्छ ?
यो प्रश्न निकै फितलो लाग्न सक्छ, तर यसको उत्तर भने सहज छैन । प्रायः सबैको उत्तर हुने गर्छ, सरकारी सेवा निवृत्तको उमेरहद नै बुढ्यौलीको सुरुवात हो । तर, देशैपिच्छे फरक–फरक उमेरको हद छ । नेपालमा ६० वर्ष कायम गरियो, अमेरिकामा ६५ वर्ष छ । अधिकांशजेरेन्टोलजिस्टको उमेरगत वर्गीकरणलाई हेर्ने हो भने बुढ्यौली उमेरलाई ६५–७४, ७५–८४, र ८५ वर्षमाथि क्रमशः युवा–वृद्ध, मध्य–उमेर वृद्ध, र वयोवृद्ध गरी विभाजन गर्ने गरेको पाइन्छ । 

व्यवहारतः बुढ्यौलीलाई सामाजिक भूमिका जस्तो कि हजुरबा–आमा, विधुर–विधवा, सेवानिवृत्त आदिका आधारमा विभाजन गर्न सकिन्छ । महिलामा रजस्वला बन्द हुनु, शारीरिक शिथिलता देखिन थाल्नु र छालामा चाउरीपना देखिनुलाई पनि बुढ्यौलीको संकेत मान्न सकिन्छ । मानिसको सक्रियता, रोजगारी योग्य तथा स्वास्थ्य स्थितिका आधारमा पनि बुढ्यौलीलाई हेर्ने गरिन्छ । जसले जसरी परिभाषित गरे पनि शारीरिक दुर्बलता, मानसिक शिथिलता र बिग्रिँदो स्वास्थ्य अवस्था नै बुढ्यौलीका सूचक हुन् । 

के बुढ्यौली साँच्चै समस्या हो ?
यसको उत्तर सहज छ । बुढ्यौलीसँगसँगै मानिसहरू एकातर्फ सामाजिक, आर्थिक, मनोवैज्ञानिक र शारीरिक रूपमा कमजोर बन्दै जान्छन् भने अर्कातर्फ बुढ्यौलीग्रस्त जीवनले अरूको आश्रय या सहारा खोज्दै जान्छ । यसरी हेर्दा बुढ्यौली पक्कै पनि समस्यायुक्त हुने देखिन्छ । सैद्धान्तिक रूपमा बुढ्यौलीका मुख्य दुई समस्या हन्छन्, पहिलो पूर्वाग्रही र दोस्रो विभेद । मानिसहरू वृद्ध मानिसले आधुनिक समाजमा केही गर्न सक्दैनन् र यिनीहरू समाज र देशका लागि बोझ हुन् भन्ने पूर्वाग्रही विचार राख्छन् । उनीहरू पारिवारिक रूपमा एक्ल्याइन्छन् । तिनलाई सामाजिक रूपमा करिब–करिब बहिष्कृतजस्तै गराइन्छ । यहाँसम्म कि सञ्चार माध्यममा आउने विज्ञापनदेखि टिभी सिरियलसम्म सबैमा बुढ्यौलीलाई प्राकृतिक प्रक्रियाभन्दा पनि सामाजिक समास्याका रूपमा चित्रण गरिएको देखिन्छ । त्यसो त बुढ्यौली उमेर समूहका मानिसमाथि सामाजिक विभेद पनि अधिक हुने गर्छ । तिनलाई श्रमको अवसरबाट पनि वञ्चित गराउँदै लगिन्छ । नेपालमा ३५ वर्षमाथि सरकारी सेवामा स्थायी नियुक्ति तथा विश्वविद्यालय र विद्यालयमा ४० वर्षमाथि नयाँ स्थायी नियुक्ति नपाउने गरी कानुनी हद तोकिएको छ । सेवा निवृत्तिको उमेर बढाइँदा, यो उमेर हद पनि बढाइनुपर्ने होइन र ? त्यसो त सेवा प्रवेशमा सुरक्षा क्षेत्रबाहेक अन्यमा उमेर हद कति आवश्यक छ ? अब यस विषयमाथि पनि बहस जरुरी छ । 

बुढ्यौलीमा महिला विभेदको समाजशास्त्र
बुढ्यौलीमा पुरुषका तुलनामा महिलाहरू पूर्वाग्रह र विभेदको सिकार बढी हुने गरेका छन् । यसमा मूलतः तीन पक्षको महत्वपूर्ण भूमिका रहेको हुन्छ । पहिलो– पित्तृसत्तात्मक समाजिकीकरण, दोस्रो– नकारात्मक रुढिवादिता र तेस्रो आमसञ्चार माध्यममा महिला र पुरुषमाथि हुने विभेदकारी चित्रण । पितृसत्तात्मक सामाजिकीकरणको एउटा उदाहरण हेरौँ । अमेरिकी दार्शनिक सुजेन सोनटागका अनुसार बुढ्यौलीको मापक पुरुषको हकमा दुई प्रकारका हुन्छन् भने महिलाका लागि केवल एक मापक छ ।

सञ्चारमाध्यममा आउने विज्ञापनदेखि टिभी सिरियलसम्म सबैमा बुढ्यौलीलाई प्राकृतिक प्रक्रियाभन्दा पनि सामाजिक समस्याका रूपमा देखाइदिँदा यसको समाजमा नकारात्मक प्रभाव पर्छ र वृद्धवृद्धाको जीवन थप कष्टकर बन्छ

एउटा केटो, जसको बाक्लो र कालो कपाल छ, पोटिलो छाला छ, मसिनो कम्मर र लुकेको भुँडी छ, ऊ युवक हुन्छ । उमेर बढेसँगै तालु खुइलिन्छ, कपाल फुल्छ, छाला चाउरिन्छ, कम्मर फराकिलो हुन्छ, भुँडी बाहिर निस्किन्छ, तब ऊ एक परिपक्व मानिस बन्छ । तर, महिलाको हकमा भने ऊ १८ कि होस् या ५५ कि जहिल्यै युवती बन्नुपर्छ । त्यसरी युवती बन्न नसके एकैचोटि बुढ्यौलीले छोएको स्विकार्नुपर्छ । प्राकृतिक रूपमा युवती हुन नसके पनि कृत्रिम रूपमै सही, उनले युवतीपन कायम गर्नैपर्छ । अमेरिकी सोसाइटी अफ प्लास्टिक सर्जनको सन् २०१४ को एक तथ्यांकले २०१४ मा भएको कुल कस्मेटिक सर्जरीको ९२ प्रतिशत सर्जरी महिला र बाँकी ८ प्रतिशत पुरुषको भएको देखाउँछ । 

त्यसो त वर्तमान समाज युवाकेन्द्रित छ । त्यसैले बुढ्यौलीलाई विभेद गरिन्छ । यसमा पनि पुरुषको तुलनामा महिलाहरू बुढ्यौलीमा विभेदको बढी सिकार हुने गरेका छन् । ‘एजिङ—इक्वेल’ले सन् २०११ मा युरोपका पाँच मुलुकका करिब तीन हजार बुढ्यौली उमेरका महिलामा गरेको सर्वेक्षणमा २८ प्रतिशले पछिल्लो १२ महिनाभित्र कुनै न कुनै किसिमको विभेद या हिंसा भोगेको बताएका थिए । परम्परागत र रुढिवादमा विश्वास राख्ने कम विकसित मुलुकमा यो संख्या निकै उच्च छ । छरछिमेकका अलिक कम भाग्यशाली र शारीरिक सुगठन कायम नगर्ने महिलालाई बोक्सीको ‘ट्याग’ भिराइदिने प्रचलन नेपालका ग्रामीण भेगमा अझै पनि कायम छ । त्यसो त बुढ्यौलीमा महिलालाई कम महŒव दिइएकै कारण उनीहरू विभिन्न खाले स्त्रीरोगका समस्याबाट ग्रसित हुने गर्छन् । 

आमसञ्चारको आजको दुनियाँमा सञ्चारका माध्यमले जसरी चित्रण गर्छन्, समाजले त्यसरी नै स्विकार्छ । यसर्थ, आमसञ्चारको भूमिका आज निकै महŒवपूर्ण छ । आमसञ्चारका माध्यमले विज्ञापनदेखि कामदारसम्म महिला र पुरुषलाई फरक चित्रण गर्ने गरेका छन् । टिभी न्युज रिडरकै कुरा गरौँ, पुरुषका हकमा ‘विजनेस अटायर अनएअर’का लागि काफी हुन्छ भने महिलालाई भने त्यसका अतिरिक्त अन्य कस्मेटिक सजावटका लागि प्रोत्साहन गरिन्छ । मेन स्ट्रिम मिडियामा समाचार वाचिकादेखि अन्तर्वार्ता, कार्यक्रम प्रस्तोता नै हेरौँ, ५५ वर्षमाथिका महिला कति छन् ? युवा अवस्थामा टिभीको पर्दामा ग्ल्यामर भर्ने महिला सञ्चारकर्मी बुढ्यौलीमा किन मिडियाका रोजाइमा पर्दैनन् ? दृश्य मिडियाले प्रायः महिलाको ब्युटी किन्ने गर्छन् । पिटरसन (१९७३) ले आफ्नो एक अध्ययनमा टिभीका प्राइम टाइम या सोहरूमा बुढ्यौली उमेरका महिलालाई हेर्न करिब ४–५ घण्टा कुर्नुपर्ने तथ्य प्रस्तुत गरेका छन् । जब कि बुढ्यौली उमेरका पुरुष भने करिब २२ मिनेटको अन्तरालमा देखिन्छन् । अर्नोफ (१९७४) को अध्ययनअनुसार टिभी कार्यक्रममा देखिने महिलाको औसत उमेर पुरुष सहकर्मीको भन्दा १० वर्ष कम हुने गर्छ । 

अन्त्यमा
बुढ्यौली मानव जीवनचक्रको अनिवार्य चरण हो । यसलाई घृणा या अभिशापका रूपमा हेर्नु दृष्टिदोष मात्र हो । फलतः एकातर्फ बुढ्यौलीमा मानिसको जीवन कष्टकर भएको छ भने अर्कातर्फ त्यो घृणा र नकारात्मक चित्रणले बुढ्यौली उमेरका मानिसको आत्मविश्वासमा कमी आएको देखिन्छ । जसले गर्दा उनीहरूको सामाजिक तथा स्वास्थ्यसम्बन्धी जीवनमा विभिन्न समस्या देखिने गरेका छन् । उमेर बढेसँगै शारीरिक क्षमतामा ह्रास आउनु स्वाभाविक हो । बुढ्यौलीमा मानिसको जीवन आफैँ असहज बन्दै गएको हुन्छ । यस्तोमा उनीहरूलाई सामाजिक बहिष्करण, पूर्वाग्रह या विभेद गरिदिने हो भने एकातर्फ उनीहरूको जीवन कष्टकर हुन्छ भने अर्कातर्फ समाज र देशमै समस्या पैदा हुन्छ । तसर्थ, बुढ्यौलीलाई एक सुन्दर स्वरूपका रूपमा स्विकार्न सक्ने समाज कसरी बनाउन सकिन्छ, यसतर्फ सम्बन्धित सबैको ध्यान पुग्नु जरुरी छ । 
(ओझा युनिभर्सिटी अफ न्युयोर्कमा प्राध्यापनरत छन्) 

[email protected]