
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र भियतनामका पूर्वगृहमन्त्री एवं नेपाल–भियतनाम मैत्री संघका अध्यक्ष एचआर ट्रान आन तुआनबीच शिष्टाचार भेटवार्ता भएको छ।
अध्यक्ष तिमिल्सिना र भियतनामी प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल आएको टोलीका नेता पूर्वगृहमन्त्री तुआनबीच अध्यक्षनिवास बालुवाटारमा सोमबार बिहान शिष्टाचार भेटवार्ता भएको हो।
भेटघाटका क्रममा आपसी सहयोग र पर्यटन विकासका क्षेत्रमा सहयोग आदान–प्रदान गर्ने विषयमा छलफल भएको छ। भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशहरूबीच रहेका सांस्कृतिक र ऐतिहासिक समानतालाई जोड दिँदै दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन बौद्ध धर्मले विशेष भूमिका खेलेको बताए।
बौद्ध जन्मस्थल लुम्बिनीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नेपाल–भियतनाम सीधा हवाई सम्पर्क स्थापना गर्न सकेमा अझै जनस्तरको सम्बन्ध विकास हुने विश्वास पनि व्यक्त गरे।
अध्यक्ष तिमिल्सिनाले व्यापार, पर्यटन र लगानीको क्षेत्रलाई प्राथमिकतामा राख्दै दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन आवश्यक रहेको बताउँदै दुवै देशका बीचमा रहेको व्यापार घाटा घटाउन आवश्यक पहल गर्न पनि आग्रह गरे।
नेपालले भियतनामबाट मसला (मरिच), ताजा तथा सुकाइएका फलफूल, माछा, मासु आयात गर्छ भने नेपालले भियतनामतर्फ मासु र कुकुर र बिरालोको खाना निर्यात गर्दै आएको छ।
अध्यक्ष तिमिल्सिनाले भियतनामले तीन दशकअघि लागू गरिएका आर्थिक सुधारका कदमको फलस्वरूप भियतनामले हासिल गरेको उच्च आर्थिक वृद्धिप्रति खुसी पनि व्यक्त गरे।
सो भेटमा पूर्वगृहमन्त्री तुआनले बौद्धजन्मस्थल धेरै भियतनामीका लागि पवित्रस्थलको रूपमा रहेको उल्लेख गर्दै सीधा हवाईसेवा सुचारु गर्न तथा व्यापार घाटा घटाउन पनि पहल गर्ने बताए।