मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २४ आइतबार
  • Thursday, 19 December, 2024
२o८o बैशाख २४ आइतबार १२:१४:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

रेसुंगा धार्मिक महोत्सव : त्रेतायुगदेखिको रेसुंगा-अयोध्या सम्बन्ध 

रेसुंगा किन र कसरी जाने ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २४ आइतबार १२:१४:oo

गुल्मीको रेसुंगामा धार्मिक महोत्सव सुरु भएको छ। अयोध्यादेखि रेसुंगासम्मको सम्बन्ध विस्तारका लागि शनिबारबाट श्रीराम महायज्ञ कथा वाचन महामहोत्सव तथा विराट् सन्तभक्त दर्शन सुरु भएको छ। मेलाको विश्व हिन्दू महासंघका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीले उद्घाटन गरे।

धार्मिक महोत्सव तथा सन्त सम्मेलन ३१ वैशाखसम्म सञ्चालन हुने रेसुंगा संरक्षण समितिले जनाएको छ। रेसुंगाको सम्बन्ध त्रेतायुगदेखि अयोध्यासँग छ। तर, रेसुंगा र अयोध्याबीचको धार्मिक सम्बन्ध प्रगाढ बन्न सकिरहेको छैन। 

अयोध्याबाट आएका योगी शम्भुनाथजी महाराजले रेसुंगा क्षेत्रलाई धार्मिक गन्तव्यको रूपमा विकास गर्न आफूले सहयोग गर्ने बताए।

उनले आयोध्याका राजा दशरथलाई सन्तान प्राप्तिका लागि रेसुंगाका ऋष्यश्रृंग्ये ऋषिले खेलेको भूमिका भारतमा व्यापक रूपमा प्रचार भए पनि रेसुंगा क्षेत्र पछि पर्नु दुर्भाग्यको विषय भएको बताए। 

यो धार्मिक महोत्सव तथा सन्त सम्मेलनले रेसुंगाको अयोध्यासँग त्रेतायुगदेखिको सम्बन्ध विस्तारसँगै साधु सन्तहरूको आवत–जावतमा वृद्धि गराउने विश्वास  शम्भुजी महाराजले व्यक्त गरे।

धार्मिक महोत्सवमा योगी शम्भुनाथजी महारा, स्वामी राजेन्द्रनन्दजी महाराजलगायत दुई दर्जन साधुसन्तद्वारा महायज्ञ सञ्चालन गरिएको रेसुंगा संरक्षण समितिका सचिव गोपाल पन्थीले जानकारी दिए। 

रेसुंगा किन र कसरी जाने ?

रेसुंगा गुल्मीको पहिचान हो। काखमा सुन्दरनगरी तम्घास बजार। नजिकै उभिएको अर्जुनडाँडा। पहिलोपटक गुल्मी घुम्न आउनेहरू लोभिएर फर्किन्छन्। सदरमुकाम तम्घासबाट उक्लिएपछि १० मिनेटमा गर्जुरा पुगिन्छ। 

गर्जुरा पार्क आफैँमा रमणीयस्थल हो। नजिकै देखिने तम्घास बजार र उत्तरका हिमशृंखला तथा दक्षिणमा अर्जुनसहितका मनमोहक गाउँहरू हरेकका मोबाइल र क्यामेरामा कैद गर्न लायक छन्। गर्जुराबाट १० मिनेटमा रेसुंगा पोखरी पुगिन्छ। 

महाप्रभु लक्ष्मीनारायणले गुल्मी र अर्घाखाँचीका जनताको सहयोगमा बनाएको ठूलो पोखरी रेसुंगामा छ। विभिन्न तीर्थस्थलहरूबाट जल र बालुवा ल्याई मिसाएर पोखरीको निर्माण गरेको मानिन्छ। 

रेसुंगाको पोखरी प्राचीन कालदेखि नै पवित्र तीर्थस्थलको रूपमा रहेको छ। आर्कषक सिँढी हुँदै यज्ञशाला उक्लिँदा मन झन् आनन्दित र प्रफुल्लित बन्छ । यदुकानन्दले १९८३ मा बनाएको यज्ञशाला रेसुंगामा छ। सुनको गजुर र तामाको छाना भएको प्यागोडा शैलीमा निर्मित यज्ञशाला रेसुंगाकै सबैभन्दा ठूलो मन्दिर हो। 

यो आन्तरिक तथा बाह्य पर्यटकका लागि निकै आकर्षक रहेको छ। यज्ञशालाभित्र भएको हवन कुण्डमा यद्यपि अखण्ड धुनी प्रज्वलित छ। त्यस्तै, सबैभन्दा पुरानो सिद्धको मन्दिर रेसुंगामा छ। त्यस्तै, स्वामी शशिधरको समाधिस्थल, विष्णुपादुका र लक्ष्मीनारायणको समाधिस्थल पनि रेसुंगामा रहेको रेसुंगा संरक्षण समिति अध्यक्ष सुरेश भुसालले बताए। 

सिद्ध मन्दिरको दक्षिणतिर पर्खालले घेरिएको झाँक्रीस्थान छ। यसको बीचमा मौलो छ। मौलोमा साउनमा पाठाहरू बलि दिने चलन छ। त्यहाँ बस्नेतहरूको कुलपूजा हुने गर्दछ। तम्घासदेखि करिब एक किलोमिटर उकाले हिँडेपछि मैराक्षेत्रमा पुगिन्छ। 

रेसुंगाको शिरमै रहेको भ्युटावरबाट गुल्मीसहित छिमेकी जिल्ला र उत्तरका मनमोहक हिमशृंखला देख्न सकिन्छ। रेसुंगाको पश्चिमपट्टि रेसुंगासँग आम्ने–साम्ने उभिएको अर्जुनडाँडाले पनि तम्घास पहिलोपटक आउने अचम्मित हुन्छन्।

यो डाँडा अत्यन्तै रमणीय छ। पाण्डवहरू महाभारतको युद्धपछि स्वर्गद्वारी जाने क्रममा एक भाइ अर्जुन माथि डाँडामा गई बसेकाले डाँडाको नाम अर्जुन रहन गएको भन्ने किंवदन्ती छ। त्यहाँ अर्जुन भगवतीको विशाल मन्दिर छ। मन्दिरमा बडादसैँ, चैतेदसैँ, हरेक आइतबार र मंगलबार पूजा गरिन्छ। अर्जुनडाँडाको दक्षिण पाखामा एउटा रमणीय गुफा छ। 

रेसुंगामा विशेष गरेर दुई ठूला एकादशी र साउनभर ठूलो मेला लाग्ने गर्दछ। रेसुंगा पोखरीमा नुहाउने तथा मैरीमा पूजा गर्न गुल्मीसहित पाल्पा, अर्घाखाँची, बागलुङ र प्युठानका श्रद्धालु भक्तजन उपस्थित हुने गर्दछन्। 

पोखरीमा नेपालका चार धामको पानी मिसिएकाले एकादशी र साउनमा नुहाउनेहरूको घुइँचो हुने गर्दछ। रेसुंगा पोखरी, यज्ञशाला, गौशाला, सिद्ध मन्दिर, भ्युटावरलगायतका धार्मिक तथा पर्यटकीय स्थल भएकाले पनि युवायुवतीहरूको घुइँचो नै लाग्ने गरेको छभने श्रृंगे ऋषिसँगको जोडिएको पाँच हजार वर्ष पुरानो धार्मिक तथा ऐतिहासिक महत्व भएकाले रेसुंगामा भक्तजनहरूको आस्था बढ्दै गएको रेसुंगा संरक्षण समितिका सचिव गोपाल पन्थीले बताए।

रेसुंगा क्षेत्र सिद्ध, तपो, अमृत, देवभूमि र ऋश्यश्रृंगे ऋषिदेखि दशरथ राजासँगको सम्बन्ध महाभारत र विभिन्न ग्रन्थहरूमा उल्लेख भए पनि सोहीअनुसार प्रचार भएन। जसका कारण रेसुंगाको ऐतिहासिकता गुमराहमा पर्‍याे। स्थानीय तह पहिले रेसुंगाको सोचेअनुसारको विकास भएको थिएन। बल्लबल्ल गाडीको जोखिम मोलेर पुग्ने स्थिति थियो। संरचना निर्माणको कामले गति लिएको थिएन भने भएकै संरचना जोगाउन रेसुंगा संरक्षण समितिलाई मुस्किल परेको थियो।

सुविधासम्पन्न होटेल नभएका कारण सदरमुकाम आएका पर्यटक पनि रेसुंगा पुग्दैनथे। तर, सडकको स्तरवृद्धि, होटेल सञ्चालन साथै रेसुंगामा भएको भौतिक विकासले नागरिकको नयाँ आशा जागेको छ। 

सुरुबाट नै रेसुंगा क्षेत्रको विकासमा जिल्लाका नेता र नेतृत्वले सोचेको भए जिल्लाको प्रमुख आम्दानीको स्राेत रेसुंगा बन्थ्यो। त्यसैले अझै पनि तिनै तहका सरकारको ध्यान रेसुंगाको धार्मिक तथा ऐतिहासिक विकासमा पर्याप्त हुनुपर्नेमा सरोकारवालको जोड छ। गुल्मीको धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुंगा पछिल्लो समय थप आकर्षित बन्दै गएको छ। 

त्यत्तिकै पनि रेसुंगा प्राकृतिक रूपले सुन्दर र रमणीय छ। त्यसैमाथि निर्माण भइरहेका भौतिक संरचनाले रेसुंगा क्षेत्रको आकर्षण अझै बढ्दै गएको छ। 

रेसुंगा क्षेत्रमा पोखरीदेखि यज्ञशाला हुँदै भ्युटावरसम्म निर्माण भएको आकर्षक पैदलमार्ग (सिँडी)ले रेसुंगाको गरिमा बढाउनुको साथै आन्तरिक तथा बाह्य पर्यटकको समेत वृद्धि गरेको छ। अझै पैदल मार्गको दुवैपट्टि फलफूल, मध्यभागमा आकर्षक मैरो निर्माण, राम कुवाको संरक्षण तथा विभिन्न ठाउँमा बगैँचालगायतका निर्माण संरचनाकाे काम पूरा गर्नुपर्नेछ।