
यार्सा संकलन गर्न हिँडेका जुम्लाका तीनजना मुगुको पाटनमा बेपत्ता भएका छन् । जुम्लाको पातारासी गाउँपालिका– २, तल्फी गाउँका तारासिंह सार्की, पुन्न सार्की र वीर बोहोरा बेपत्ता भएको पातारासी गाउँपालिकाका अध्यक्ष पुन्नसिंह बोहोराले जानकारी दिए ।
१५ जनाको टोली बनाई मुगुको पाटनमा यार्सा टिप्न गएकामध्ये उनीहरू मुगम कार्मारोङ गाउँपालिका– २, च्यार्खु लेकमा शनिबार बेपत्ता भएको अध्यक्ष बोहोराले बताए ।
जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले भने, ‘शनिबार दिउँसो खबर आएसँगै इलाका प्रहरीचौकी मुगुबाट प्रहरी टोली त्यसतर्फ गइसकेको छ । के–कसरी बेपत्ता भए, हिउँपहिरोका कारण हो वा अन्य कारण हो, बेपत्ताको अवस्था के छ प्रहरीले खबर गरेपछि मात्र आधिकारिक रूपमा भन्न सकिन्छ ।’
यार्सागुम्बा संकलनका लागि मुगम कार्मारोङ गाउँपालिकाले जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने भनिए पनि त्यो सूचनालाई छलेर अहिले सयौँ व्यक्ति अर्कै बाटो हुँदै मुगुको पाटनमा पुगेका छन् । बेपत्ता भएका तीनजनासहितको टोली पनि अर्कै बाटो भएर पाटनमा पुगेको थियाे ।