१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवराज मैनाली काठमाडाैं
२०८० बैशाख २१ बिहीबार ०६:२२:००
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक अर्ब ठगी प्रकरण : पक्राउ पर्न थाले गिरोहका ‘हाई प्रोफाइल’

Read Time : > 6 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०८० बैशाख २१ बिहीबार ०६:२२:००

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै झन्डै एक अर्ब ठगी गर्ने गिरोहमा ‘हाई प्रोफाइल’हरूको संलग्नता देखिएको छ । गृह मन्त्रालयकै सहयोगमा भएको यो ठगी धन्दामा संलग्न सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे बुधबार पक्राउ परेका छन् । सांसदसमेत रहेका एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । रायमाझीका छोरा सन्दीपलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ परेका सचिव पाण्डे उपराष्ट्रपति कार्यालयमा कार्यरत थिए । गृह मन्त्रालयको सचिव हुँदा ठगीमा सघाएको प्रमाण भेटिएपछि अदालतले उनीविरुद्ध केही दिनअघि पक्राउ पुर्जी जारी गरेको थियो । बुधबार आफैँ प्रहरी कार्यालय पुगेका पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिई अदालतमा उपस्थित गराएर तीन दिन थुनामा राख्न म्याद लिएको छ । उनलाई अनामनगरस्थित सिंहदरबार वृत्तको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले बताए । 

त्यस्तै, पूर्वमन्त्री रायमाझीको पनि ठगीमा संलग्नताको प्रमाण भेटिएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गर्नुपर्नेे दुई प्रमाण प्रहरीसँग छ । अभियुक्त सानु भण्डारीले बयानमा उनलाई पैसा बुझाएको बताएका छन् । साथै डायरीमा पनि उनलाई पैसा बुझाएको विवरण फेला परेको छ भने अर्काेतर्फ उनका छोरा सन्दीपको बैंक खातामै पटक–पटक पैसा पठाएको पुष्टि भएपछि बाउ–छोराविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।  

उनका छोरा सन्दीपलाई बुधबार साँझ बुटवलबाट पक्राउ गरिएको छ । उनलाई काठमाडौं पठाइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी श्यामु अर्यालले बताए । पीडितबाट उठाएकोमध्ये केही पैसा रायमाझी बाउछोराले लिएको पीडितको बयानका आधारमा उनीहरू पनि अनुसन्धानमा तानिएका हुन् । पक्राउ परेका पाँच बिचौलियामध्ये सानु भन्डारी र सन्देश शर्मासँग उनीहरूले पैसा लिएको प्रहरीको दाबी छ । 

सचिव पाण्डेको यसअघि नै प्रहरीले पक्राउ गरेका केशव दुलाल र सन्देश शर्मासँग निकटतम सम्बन्ध देखिएको छ । भुटानी शरणार्थीसम्बन्धी कार्यदलको प्रतिवेदन कार्यान्वयन गराउने आश्वासन पीडितलाई दिएर सहजीकरण गरेको तथा बिचौलियाहरूलाई संरक्षणको भूमिका पाण्डेको छ । ‘भुटानी शरणार्थी प्रकरण मात्र होइन, सिडिओको सरुवादेखि भिजिट भिसासम्म अभियुक्त दुलालले सचिव पाण्डेसँग मिलेर पैसा उठाउने गरेको देखियो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले भने । कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा उनका पिए रहेका दुलालको कर्मचारी प्रशासनमा राम्रो सम्बन्ध छ । खासगरी बिचौलियाका रूपमा उनले कर्मचारीको विश्वास जितेका थिए । पाण्डे र दुलालबीच लेनदेनका विषयमा भएको लामो ह्वाट्सएप च्याट प्रहरीले भेट्टाएको छ ।

मंगलबार मात्र प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पक्राउ गरेको थियो । यसअघि पक्राउ परेका बिचौलियाको बयानका आधारमा उच्चपदस्थहरू तानिएका हुन् । ठगी धन्दामा संलग्न रहेको अभियोगमा प्रहरीले केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरुङ, सागर राई र सन्देश शर्मालाई पक्राउ गरेको थियो । उनीहरू सबैको नेता तथा कर्मचारीतन्त्रमा निकटतम सम्बन्ध थियो । 

यो गिरोहले करिब नौ सयजनालाई ठगी गरेको र प्रतिव्यक्ति कम्तीमा दश लाखका दरले रकम उठाइएको प्रहरीको प्रारम्भिक आकलन छ । फसिने भएपछि कतिपयको रकम फिर्ता पनि गरिएको छ । जाहेरी आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालका अनुसार हालसम्म २० वटा जाहेरी परेका छन्, जसमा २३ करोड २५ लाख रुपैयाँ ठगी गरेको विवरण उल्लेख छ । ठगी र संगठित अपराध कसुरमा प्रहरीले यो प्रकरणमा अनुसन्धान गरिरहेको छ । जस क्रममा धमाधम उच्चपदस्थहरू अनुसन्धानको दायरामा तानिएका छन् । 

किन दुई वर्षपछि मात्र पक्राउ परे ? 
दुई वर्षअघिदेखि नै पीडितहरू आफू ठगिएको महसुस गरी न्यायका लागि प्रहरीकहाँ धाउन थालिसकेका थिए । तर, उच्चपदस्थ व्यक्तिहरू जोडिएकाले प्रहरीले आँट गरेको थिएन । ठीक एक वर्षअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सानु भण्डारीलाई पक्राउ गरेको थियो । तर, गृह मन्त्रालयकै दबाबमा उनी केही घन्टामै छुटे । त्यतिवेला गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव बुधबार पक्राउ परेका टेकनारायण पाण्डे थिए । ‘माथिको’ दबाबका अगाडि प्रहरीको केही लागेन । 

पक्राउ परेकामध्ये दुलाल र भण्डारीसँग सचिव पाण्डेको निकटता थियो । एकपटक भेट्न आएका पीडितहरूसँग उनले ‘पैसा फिर्ता गर्न भण्डारीलाई भनिदिने’ आश्वासनसमेत दिएका थिए । तर, गृह मन्त्रालयले अनुसन्धान अघि नबढाउन प्रहरीलाई निरन्तर दबाब दियो । त्यसकै लागि गिरोहले गृह प्रशासनलाई आर्थिक प्रभावमा पारेको थियो । भण्डारीले नै यस्तो बयान दिएपछि प्रहरी अनुसन्धान उच्चपदस्थसम्म पुगेको हो । 

गत ११ चैतमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यो प्रकरणको फेरि अनुसन्धान सुरु गर्‍यो । सुरुमा तीनजनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको थियो । तर, भोलिपल्टैदेखि अनुसन्धानमा चलखेल सुरु भयो । सामान्य ठगी मुद्दा चलाउने र त्यसमा संलग्न उच्चपदस्थलाई जोगाउन केही प्रहरी अधिकारी र राजनीतिक नेतृत्व नै सक्रिय बने । प्रहरीले संगठित अपराध (नियन्त्रण) ऐनअन्तर्गत अनुसन्धान गर्नुपर्ने बताएपछि जिल्ला सरकारी वकिल कार्यालयले अस्वीकार गरेको थियो । प्रहरीले मुद्दा बुझाउने तयारी गरिरहेका वेला सन्देश शर्मा पक्राउ परेपछि अनुसन्धान लम्बिएको थियो । त्यसपछि बल्ल संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढेको हो । 

यो ठगी योजनाको सुरुवात ०७४ देखि नै भएको थियो । गृह मन्त्रालयमा सेटिङ मिलाई शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै एक समूहले पैसा उठाउन थालिसकेको थियो । ०७६ को जेठमा गृह मन्त्रालयले भुटानी शरणार्थीको समस्या समाधानका लागि पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन गरेको थियो । सो कार्यदल बनेपछि पीडितहरूले ढुक्क भएर पैसा बुझाउन थालेका थिए । 

पन्थी कार्यदलको प्रतिवेदनमा चार सय २९ जना भुटानी शरणार्थी प्रमाणीकरणमा छुटेको उल्लेख छ । यद्यपि, प्रतिवेदनमा पैसा उठाइएका व्यक्तिहरूको नाम पनि राखिएको थियो । तर, गृहले प्रहरीमा बुझाएको प्रतिवेदनमा भने पीडितहरूको नाम उल्लेख छैन । त्यसकारण प्रतिवेदनमा किर्ते गरेको आशंका गरिएको छ । गोप्य रहेको प्रतिवेदन गृहकै अधिकारीले ठगीमा संलग्नलाई दिएका थिए । सोही प्रतिवेदन उनीहरूको ठगीको हतियार बन्यो । ठगी गिरोहका सदस्यहरूले गृह मन्त्रालयमै लगेर उच्चपदस्थ व्यक्तिलाई भेटाउने गरेकाले आफूहरू विश्वस्त भएर पैसा बुझाएको पीडितहरूको भनाइ छ । 

सो कार्यदलको सदस्यमा इन्द्रजित राईका निकट गणेशबहादुर केसीलाई राखिएको थियो । केसी हाल पक्राउ परेका भण्डारीका साथी हुन् । यसले कार्यदल गठनमै ठगी गिरोहको चलखेल प्रस्ट हुन्छ । केसी हाल ललितपुरको महांकाल गाउँपालिकाको अध्यक्ष छन् । उनी कांग्रेसमा प्रवेश गरेका छन् । समितिको सदस्यसचिवमा गृहकै तत्कालीन अधिकृत दीपक न्यौपाने छन्, जो हाल उपसचिव छन् ।

शंकाको भरमा होइन, प्रमाणका आधारमा पक्राउ गरेका हौँ  : डिआइजी कुवेर कडायत, प्रवक्ता नेपाल प्रहरी 

यो ठगी मुद्दामा सबैजना प्रमाणकै आधारमा पक्राउ परेका हुन् । आशंकाका आधारमा कसैलाई पक्राउ गर्न मिल्दैन र पक्राउ पुर्जी पनि प्रहरीले चाहेर मात्र जारी हुने होइन । अनुसन्धानका क्रममा जुटेका प्रारम्भिक प्रमाणका आधारमा न्यायाधीशबाट पक्राउ पुर्जी जारी हुने हो । अदालतले त्यत्तिकै पक्राउ पुर्जी जारी गर्दैन, प्रमाण केलाएर हेर्छ । पक्राउ परेपछि प्रहरीले थप प्रमाणहरू खोज्नेछ, त्यसक्रममा अरू थप व्यक्तिहरूको संलग्नता खुल्दै जाँदा उनीहरू पनि पक्राउ पर्नेछन् । माननीय (टोपबहादुर रायमाझी)को हकमा पक्राउको आफ्नै प्रक्रिया छ । पक्राउअघि संसद्लाई जानकारी दिनुपर्छ । अनुसन्धान अधिकृतले सायद प्रक्रिया अघि बढाएको छ ।

एमाले सचिव तथा पूर्वमन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, छोरो पक्राउ

बहालवाला सांसदसमेत रहेका टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपको भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनेर पैसा उठाउने बिचौलियाद्वय सानु भण्डारी र सन्देश शर्मासँग सम्बन्ध देखिएको छ । भण्डारीको डायरीमा टोपबहादुरलाई पैसा दिएको विवरण भेटिएको छ भने सन्दीपको बैंक खातामै पटक–पटक ठूलो रकम पठाएको अनुसन्धानबाट पत्ता लागेको छ । सन्दीपलाई प्रहरीले बुधबार साँझ बुटवलबाट पक्राउ गरेको छ भने टोपबहादुरलाई पनि पक्रन प्रहरी परिचालित छ । गृहजिल्ला अर्घाखाँचीको छत्रदेव–४ स्थित महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको हीरक महोत्सवमा बुधबार विशिष्ट अतिथि बनेका टोपबहादुरले काठमाडौं फर्किँदै गरेको बताएका छन् । 

आइजिपीलाई फुली लगाउने हातमा हत्कडी

गृह मन्त्रालयको सचिव हुँदा पन्थी कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने आश्वासन बिचौलिया र पीडितलाई दिएका थिए । उनले यही ठगीमा गत वर्ष पक्राउ परेका सानु भण्डारीलाई छुटाउन पहल गरेका थिए भने अर्का बिचौलिया केशव दुलालसँग लेनदेनका विषयमा पटकपटक ह्वाट्सएपमा गरेको कुराकानी प्रहरीले फेला पारेको छ । ठीक एक वर्षअघि तत्कालीन आइजिपी धीरजप्रताप सिंहलाई फुली लगाएका पाण्डेको हातमा अहिले हत्कडी छ ।

तत्कालीन गृहमन्त्री बादलका सल्लाहकार राई हिरासतमा, छोरो फरार

तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलको सल्लाहकारका हैसियतमा मन्त्रालय छिरेका इन्द्रजित राईले ठगी गिरोहको स्वार्थअनुसार भुटानी शरणार्थी समस्या समाधानसम्बन्धी कार्यदल गठन गराउन पहल गरे । बिचौलिया सानु भण्डारीका साथी गणेश केसीलाई त कार्यदलको सदस्य नै बनाए । कार्यदलको प्रतिवेदनमा नाम थपेको भन्दै गिरोहलाई पैसा असुल्न सहज बनाए । जसमा छोरा नीरजलाई पनि खटाए । राई बाबुछोराले भण्डारीमार्फत पटक–पटक गरेर साढे पाँच करोड बुझेको प्रहरी अनुसन्धानबाट खुलेको छ । इन्द्रजित मंगलबार पक्राउ परिसकेका छन् भने छोरा नीरज पक्राउ पर्ने सुइँको पाएपछि फरार भएका छन् । 

तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले गठन गरेको कार्यदलमाथि नै प्रश्न 

तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल

३० जेठ ०७६ मा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्णयअनुसार पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधानका लागि कार्यदल बनेको थियो । कार्यदलको गठन र त्यसको प्रतिवेदन नै ठगीको प्रमुख आधार बनेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू बताउँछन् । त्यही प्रतिवेदनमा पैसा बुझाउनेहरूको नाम थपेको विश्वासमा पारी ठगी गरिएको थियो । जसमा गृहमन्त्रीका सल्लाहकार इन्द्रजित रार्ईको विशेष भूमिका थियो । ठगीको योजनामा सुरुदेखि नै उनको संलग्नता अनुसन्धानमा देखिएको छ । तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक थापाले पनि आफूहरूलाई सघाएको बयान पक्राउ परेकाहरूले दिएका छन् । ‘तत्कालीन गृहमन्त्रीज्यू र छोराको हकमा संलग्नता पुष्टि हुने प्रमाण अझै खोजिरहेका छौँ,’ काठमाडौं परिसरका एक प्रहरी अधिकारीले भने, ‘अप्रत्यक्ष रूपमा त सिंगो गृह मन्त्रालयले नै सघाएको देखिन्छ ।’

अन्य ‘हाई प्रोफाइल’ पनि तानिने सम्भावना

यो ठगी प्रकरणमा अन्य उच्चपदस्थ व्यक्तिहरू पनि तानिने सम्भावना रहेको प्रहरी अधिकारीहरू बताउँछन् । ठगीमा सघाउने मात्र होइन पछि संरक्षण दिने कामसमेत भएको स्रोत बताउँछ ।

‘अनुसन्धान जारी छ, थप व्यक्तिहरूको संलग्नता रहेको संकेत मिलेको छ । पुष्टि हुँदा उनीहरू पनि पक्राउ पर्छन्,’ नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतले भने, ‘प्रमाण भेटिएमा जो–कोही पनि अनुसन्धानको दायरामा आउँछन्, कानुनले कसैलाई छाड्दैन ।’

स्रोतका अनुसार प्रहरीले तीनजनालाई पक्राउ गरेर अनुसन्धान थालेलगत्तै एक पूर्वमन्त्रीले  बयानका क्रममा अन्य व्यक्तिको नाम नलिने वातावरण बनाउन सहयोगी खटाएका थिए । ठगीमा संलग्नहरूलाई जोगाउन भनेरसमेत गत वर्ष विभिन्न व्यक्तिहरूले पैसा उठाएको पक्राउ परेकाको भनाइ छ । तर, आफू मात्र फस्ने देखेपछि उनीहरूले पैसा उठाउनेहरूको नाम पनि प्रमाणसहित धमाधम खुलाउन थालेका छन् । केही पीडितहरूले नै अन्य उच्चपदस्थ व्यक्तिविरुद्ध पनि किटानी जाहेरी दिएका छन् । 

पाँच बिचौलिया पक्राउ परेपछि खुल्न थाल्यो ‘हाई प्रोफाइल’को संलग्नता

गत ११ चैतमा उपत्यका अपराध अनुसन्धान कार्यालयले तीनजना बिचौलिया केशव दुलाल, सानु भण्डारी र टंक गुरुङलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । पछि सन्देश शर्मा र सागर राई पनि पक्राउ परे । उनीहरूकै बयानका आधारमा सचिवदेखि पूर्वमन्त्रीसम्मको संलग्नता खुल्यो ।