
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस एधानोम गेब्रेयससले गाजामा इजरायली नाकाबन्दीका कारण राष्ट्रसंघका ७५ प्रतिशत मिसनलाई गाजा प्रवेश गर्नबाट रोकिएको बताएका छन्।
जेनेभामा पत्रकार सम्मेलनमा बोल्दै डा. टेड्रोसले मार्च २ देखि गाजामा इजरायलले लगाएको पूर्ण नाकाबन्दीले खाद्यान्न तथा चिकित्सालगायतका आधारभूत वस्तुको आपूर्तिसमेत रोकिएको जानकारी दिए।
गत हप्तामा मात्रै संयुक्त राष्ट्रसंघका ७५ प्रतिशत मिसनहरू रोकिँदा भोक, कुपोषण तथा आश्रय र पर्याप्त स्वास्थ्य सेवाको पहुँच अभावले रोग र मृत्युको जोखिम बढेको चेतावनी उनले दिएका छन्।
टेड्रोसले गाजाको स्वास्थ्य प्रणालीमा इजरायली आक्रमण जारी रहेको कुरामा जोड दिँदै सन् २०२३ अक्टोबर ७ देखि चार सयभन्दा बढी मानवतावादीहरूको मृत्यु भएको बताए। बढ्दो जोखिम र घट्दो आपूर्तिको बाबजुद गाजामा सहायता, स्वास्थ्य सेवा र निर्वाध मानवीय पहुँचका लागि तत्काल नाकाबन्दी हटाउन उनले आह्वान गरे।