१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० बैशाख २० बुधबार ०७:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० बैशाख २० बुधबार ०७:०४:००

नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विन्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको हो ।

राष्ट्रसंघको यो निर्णयसँगै आजको दिन (मे ३) लाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरले महत्वपूर्ण दिनका रूपमा लिन्छन् । आज संसारभर प्रेस स्वतन्त्रताको महत्वबारे चर्चा गरिँदै छ । वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापक र स्वतन्त्रताका पक्षपातीको सहभागितामा तयार पारिएको ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विन्डहक घोषणापत्र’मा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिबद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले आफूलाई प्रष्ट रूपमा उभ्याएको थियो ।

यो वर्षका लागि युनेस्कोले ‘भविष्यको अधिकार सुनिश्चितता : मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता’ नारा तय गरेको छ । नागरिकले आफूलाई अभिव्यक्त गर्न सक्यो भने मात्र उसले सबै प्रकारका मानव अधिकारको प्रयोग गर्न सक्नेछ भन्ने भावका साथ यो नारा तय गरिएको छ ।

अभिव्यक्ति स्वतन्त्रतालाई बढीभन्दा बढी प्रचलनमा ल्याउन र नागरिकलाई अभिव्यक्त गर्न प्रोत्साहित गर्न सञ्चार क्षेत्रले नै भूमिका निर्वाह गर्न सक्छ । त्यसकारण अधिकारको प्रयोगको दिशामा एउटा फड्को नै मार्ने गरी सञ्चार क्षेत्रले आफूलाई अझ क्रियाशील बनाउनका लागि काम गर्न यो वर्षको युनेस्कोले तय गरेको नाराले अपिल गरेको छ।