
राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनुपर्ने बताएकी छिन्।
आइतबार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तर्क्रिया कार्यक्रममा उनले विदेश जाने क्रम रोक्नका लागि सबैभन्दा पहिला नेपालको सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनुपर्ने बताएकी हुन्।
विदेश अध्ययनका लागि जाने विद्यार्थीहरू समाज, नयाँ ठाउँका लागि र गुणस्तरीय शिक्षाका लागि नै जाने गरेको भन्दै उनले सरकारले सार्वजनिक शिक्षालाई विश्वसनीय र गुणस्तरीय बनाउन ध्यान दिनुपर्नेमा जोड दिइन्।
‘विदेश अध्ययनका लागि जाने मानिसहरू यहाँ जतिसुकै पढ्ने अवसर पाए पनि सोसाइटीबाट सिक्छु, साथीभाइ, नयाँ ठाउँबाट सिक्छु भनेर जान्छन्। अर्को कुरा यहाँ अध्ययन गर्न चाहेको कुरा अध्ययन गर्न नपाएर जान्छन्,’ उनले भनिन्, ‘नेपालमा कुनै पनि विद्यार्थी गरिब, धनी, रोल्पा, रुकुम जहाँको होस्, बाहिरको जस्तो गुणस्तरीय शिक्षा सहज तरिकाले पाउनुपर्छ भनेर खोजी गर्दा त्यो पाउने व्यवस्था गर्नु हाम्रो दायित्व हो।’