१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १८ सोमबार
  • Saturday, 07 September, 2024
२o८o बैशाख १८ सोमबार १२:oo:oo
Read Time : > 1 मिनेट
फिचर डिजिटल संस्करण

सीप सिक्न उत्साहित बुहारी, फुर्सदको सदुपयोगले जोहोको आशा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १८ सोमबार १२:oo:oo

गुल्मी दरबार गाउँपालिका ७ की २० वर्षीय सीता परियारले कक्षा ८ पढेर छोडिन्। घरमा पाँच वर्षको छोरा छन्। सानैमा विवाह गरेकाले जीवन फुर्सदिलो भएन। 

उनलाई अहिले छोरा हुर्किएपछि उद्यमको सोच पलायो। सीता गाउँपालिकाले वडा नं ७ ले सञ्चालन गरेको तीनमहिने सिलाइकटाइ तालिममा आएकी छिन्। उनी दलित परिवारकी छोरी हुन्। माइतमा बुवाहरूले व्यावसायिक रूपमा सिलाइकटाइ गर्थे। सीताले माइतमा सिक्ने इच्छा गरिनन्। तर, बिहेपछि बाध्यताले त्यही सीप खोज्यो। 

‘परिस्थितिले सानैमा बिहे र बच्चा जन्मियो। अर्थोपार्जनको उपाय नभएपछि सिलाइकटाइ सिक्न थालेकी छु,’ उनले भनिन्, ‘तालिमपछि पालिकाले उद्यम थपिदिए काम गर्ने थिएँ।’ सोही गाउँकी २० वर्षीया जुन टन्डन पनि सिलाइकटाइ तालिम सिक्छिन्। बुहारीलाई घरको फुर्सद निकाल्न सकस छ। तर, टन्डन परिवारकै सहयोगमा तालिममा आइन्। उनले पनि कक्षा १२ पढेपछि विवाह गरिन्। आफ्नै खुट्टामा उभिन सीप भएन। अहिले टन्डनले सिलाइकटाइ तालिम लिइरहेकी छिन्। ‘सकेसम्म जागिर गर्ने हो। सीपले दुःखमा काम दिने भएकाले तालिम लिएँ,’ टन्डनले भनिन्, ‘घरमै मेसिन लिएर थप काम गर्ने योजना छ।’

श्रीमान् सिलाइकटाइ छोडेर परदेश, श्रीमती सिक्दै

गुल्मी दरबार गाउँपालिका–७ की ३५ वर्षीया मीना परियारले सिलाइकटाइ तालिम लिइरहेकी छिन्। श्रीमान् सुवास परियारले व्यावसायिक सिलाइकटाइ गर्थ। नेपाल र भारतमा थुप्रै वर्ष काम गरे। सुवासले सोचेअनुसारको कमाइ नभएपछि पेसा छोडे। अहिले ५ वर्षदेखि साउदीको होटेलमा काम गर्छन्। मीनालाई भने श्रीमानबाट विस्थापित पेसा गर्ने जाँगर चलेको छ।

उनलाई पहिले छोरा–छोरी र घरपरिवारको कारण श्रीमानसँग सिलाइकटाइ सिक्ने फुर्सद भएन। अहिले छोराछोरी हुर्किएपछि फुर्सदिलो समयको उपयोग मीनाले गरेकी छिन्। ‘श्रीमानको कमाइले मात्रै पुग्दैन। सीप भए जीविकोपार्जनमा टेवा पुग्ने भएकाले सिलाइकटाइ सिकेँ, ’उनले भनिन्, ‘सिलाइकटाइ व्यवसाय नै गर्ने गरेर पारिवारिक योजना बनाएकी छु।’ तालिममा सुट, सुरुवाल, पेटिकोट, ब्लाउच र मेक्सी बनाउन सिकाइएको छ। तीन महिनामा आधारभूत कुराहरू धेरै सिक्ने भएकाले निरन्तर लगाव हुनेहरूका लागि उपलब्धि पनि हुने मीनाले बताइन्। 

रेडिमेटले सिलाइकटाइ पेसा संकटमा

गुल्मी दरबार–७ का लक्ष्मण सूचीकार तालिमका प्रशिक्षक हुन्। उनले ठुलोपोखरामा दुई दशकदेखि सिलाइकटाइ व्यवसाय गर्छन्। काठमाडाैंमा सात वर्ष सिलाइकटाइ व्यवसाय गरे। उनले ग्रामेन्टमा मलेसियामा तीन वर्ष काम पनि गरे। तर, सोचेअनुसारको कमाइ नभएपछि घर फर्किएर निरन्तर सिलाइकटाइ व्यवसायमा छन्।

अहिले मासिक २० हजारमा १० जना महिलालाई सिलाइकटाइ तालिम गराइरहेका छन्। सिलाइकटाइ पनि क्षमताले हुने भएकाले व्यावसायिक ऊर्जा बोकेकाहरूलाई तीनमहिने तालिम पनि उपलब्धिपूर्ण हुने सूचीकारले बताए। गाउँमा बालीघरेका रूपमा सिलाइकटाइ हराउँदै गएको छ। सीप र साधन हुनेहरूका लागि राम्रो भए पनि रेडिमेटको बजारले पेसा संकटमा परेको लक्ष्मणले बताए। उनका अनुसार सिजनमा मासिक ५० हजारसम्म कमाइ हुन्थ्यो। अहिले व्यापार निकै कम भए पनि मौकामा प्रशिक्षण दिन थालेको सूचीकारले बताए।

पालिकाद्वारा उद्यमशीलतामा जोड

गुल्मीदरबार गाउँपालिकाले नागरिकलाई स्वरोगार बनाउन लघु उद्यम, बाख्रा विकास परियोजनामार्फत कृषि र पशुपालनका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।

पालिकाले नीति तथा कार्यक्रममा उद्यमशीलतामार्फत अर्थोपार्जनमा टेवा पुर्याई उद्यमी सिर्जना गर्ने र बजारीकरणका कामहरू गरिरहेको गाउँपालिकाका उपाध्यक्ष तारा थापा ढेँगाले जानकारी दिइन्।

उनले कृषि र पशुपालनको लागि पाँच करोडका बाख्रा उद्यम परियोजना सञ्चालन र ठाउँ–ठाउँमा सिलाइकटाइ, अचार बनाउने, झोला टोपी बुन्नेलगायतका तालिमहरू गरिरहेको बताइन्। उनले तालिमलाई उपलब्धिमूलक बनाउन सहभागीहरूको हात महत्वपूर्ण भए पनि धेरैले निरन्तरता नदिने गरेको बताइन्।