मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १५ शुक्रबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o बैशाख १५ शुक्रबार ११:२o:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

महिनावारी अनियमित किन हुन्छ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o बैशाख १५ शुक्रबार ११:२o:oo

डाक्टरको सल्लाह

डा. श्रेयषी अर्याल स्त्रीरोग विशेषज्ञ, सह–प्राध्यापक, काठमाडौं मेडिकल कलेज 

सामान्यतः किशोरी अवस्थामा प्रवेश गरेपछि महिनावारी सुरु हुन्छ । प्रायः महिनावारी चक्र २८ दिनको फरकमा हुने हुन्छ । कहिलेकाहीँ एक हप्ता पर पनि जान सक्छ । जुन नियमित महिनावारी हो । तर, कहिलेकाहीँ स्वास्थ्य समस्या तथा हर्मोनमा आउने परिवर्तनले यो चक्रमा अनियमितता देखिन्छ । २१ दिनभन्दा अघि र ३५ दिनभन्दा ढिला गरी महिनावारी हुने, रगत धेरै वा थोरै बग्ने, महिनावारी नै नहुने जस्ता समस्या हुन्छ । यो समस्यालाई महिनावारीमा गडबडी अर्थात् अनियमित महिनावारी भनिन्छ । 

किन हुन्छ ?
शरीरमा हुने विभिन ग्रन्थिबाट उत्पादन हुने हर्मोनको तालमेलपछि महिनावारी सुरु हुन्छ । थाइराइड, हर्मोनको समस्या, परिवार नियोजनका साधनको प्रयोग, रगतसम्बन्धी रोग, अण्डाशय, पाठेघरसम्बन्धी समस्या, मोटोपन, तनाव, डाइटिङ गर्ने महिलामा महिनावारी अनियमित हुन सक्छ । त्यसैगरी, अस्वस्थकर जीवनशैलीले गर्दा पनि महिनावारी अनियमित हुन्छ । जंकफुड बढी खाँदा पनि शरीरमा तौल बढ्ने र महिनावारी अनियमित हुने गर्दछ ।

यस्ता जटिलता देखिन सक्छ
अनियमित महिनावारी भइरहँदा मानसिक तनाव बढ्ने हुन्छ । धेरै रगत बगिरहेमा शरीरमा रगतको कमी भई रक्तअल्पता हुन्छ । कतिपयलाई सन्तान जन्माउन पनि गाह्रो हुन सक्छ । यस्ता समस्यालाई बेवास्ता गरिरहे क्यान्सरसमेत हुन सक्ने जोखिम रहन्छ । 

के गर्ने ?
सबैभन्दा पहिला त महिलाले स्वस्थकर जीवनशैली अपनाउनुपर्दछ । पोषिलो खानेकुरा खाने, पानी प्रशस्त पिउने, शरीरको तौल नियन्त्रणमा राख्ने, नियमित व्यायाम गर्ने, सरसफाइमा ध्यान दिने, धेरै तनाव नलिने, चिकित्सकको सल्लाहविना जथाभावी औषधि प्रयोग नगर्ने र केही समस्या देखिएमा स्त्रीरोग विशेषज्ञसँग परामर्श लिई औषधि उपचार गर्नुपर्छ ।