१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार २१:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

सातौँ पोखरा स्पोर्टस् अवार्डका लागि चार विधामा मनोनयन सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २१:३५:oo

पोखरा स्पोर्टस् अवार्डमा वितरण गरिने विभिन्न चार विधाका अवार्डको लागि मनोनयनमा परेका तीन–तीनजनाको नाम सार्वजनिक गरिएको छ । 

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी मनोनयनमा पर्न सफल तीन–तीनजनाको नाम सार्वजनिक गरेको हो ।

विश्व खेलकुद पत्रकार दिवसको अवसर पारी २३ वैशाखमा आयोजना हुने अवार्ड वितरण कार्यक्रममा ०७९ सालमा भएका विभिन्न प्रतियोगिताको प्रदर्शनलाई आधार मानेर मनोनयनमा परेका तीन–तीनजनामध्येबाट उत्कृष्ट एक–एकजनालाई अवार्ड वितरण गरिनेछ । 

कार्यक्रममा खेल क्षेत्रमा महत्वपूर्ण योगदान दिएका विभिन्न सात विधामा उत्कृष्ट १÷१ जनालाई अवार्ड प्रदान गरिने मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । 

खेल क्षेत्रमा जीवन अर्पण गरेकालाई सम्मान र खेलमा नै लाग्ने प्रण गरेकालाई प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरेको मञ्च गण्डकीका महासचिव विजय नेपालले बताए । वितरण गरिने सात विधामध्ये चार विधामा मनोनयनमा परेका खेलाडीहरूको नाम बुधबार सार्वजनिक गरिएको छ । 

यस्ता छन् अवार्ड वितरण गरिने सात विधा
कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ, वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड वितरण गरिनेछ । 

मनोनयनमा परेका खेलाडीहरू
प्रदेशका ११ जिल्लामा रहेका र गएको एक वर्ष उत्कृष्ट प्रदर्शन गरेकाहरूमध्येबाट चार विधाका लागि तीन–तीनजना छनोट गरिएको बरालले जानकारी दिए । 

मनोनयनमा परेका वर्ष उत्कृष्ट पुरुष खेलाडीहरूमा बागलुङका करण केसी (क्रिकेट), तनहुँका गंगाबहादुर कुँवर (आर्चरी) र कास्की प्रदीप खड्का (लनटेनिस) छन् । 

खड्का यसअघि पाँचौँ संस्करणको उदीयमान खेलाडी विधाको मनोनयनमा परेका थिए भने छैटौँ संस्करण वर्ष खेलाडीको अवार्ड जित्न सफल भएका थिए ।

वर्ष उत्कृष्ट महिला खेलाडीमा बागलुङकी रोजिना थापामगर (आर्चरी), लमजुङकी सावित्रा भण्डारी (फुटवल) र बागलुङकी सुस्मिता थापा (आइटिएफ तेक्वान्दो) रहेकी छिन् ।

वर्ष उत्कृष्ट प्रशिक्षकमा स्याङजाका किशोरकुमार गुरुङ (आर्चरी), कास्कीका नीरज थापा (टेनिस) र कास्कीका सुरज सुनार (आइटिएफ तेक्वान्दो) रहेका छन् । मनोनयनमा परेका थापाले गत वर्ष सम्पन्न छैटौँ संस्करणमा उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका थिए ।

वर्ष उदीयमान खेलाडीतर्फ बागलुङका रवि केसी (भलिबल), कास्कीका सुमित श्रेष्ठ (फुटबल) र बागलुङका सुवास भण्डारी (क्रिकेट) छन् ।

अन्य तीन विधामध्ये लाइफटाइम अचिभमेन्ट अवार्ड पाउनेको नाम केही दिनमा सार्वजनिक गरिने भएको छ । अन्य दुई विधा वर्ष उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट पत्रकारिता अवार्डको विजेताको नाम सीधै कार्यक्रममा सार्वजनिक गरिनेछ ।

आकर्षक पुरस्कार
सात विधामध्ये लाइफटाइम अचिभमेन्ट अवार्ड पाउनेले चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला पुरस्कार पाउनेछन् । वर्ष खेलाडी पुरुष र महिला खेलाडीले इलेक्ट्रिक स्कुटरसँगै ट्रफी पाउनेछन् ।

अन्य चार विधा उदीयमान खेलाडी, प्रशिक्षक, खेल पत्रकार र खेल संघले समान ३५-३५ हजार नगरसँगै ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने आयोजक मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

कार्यक्रम सम्पन्न गर्न ३२ लाख ३५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको रहेको छ । ३५ लाख रुपैयाँ आम्दानी हुनेछ । बचत भएको रकम पत्रकार कल्याणकारी अक्षयकोष तथा वृत्ति विकाससँगै तालिममा खर्च गरिने सचिव शशिकुमार पौडेलले जानकारी दिए । 

अर्वाड कार्यक्रम सम्पन्न गर्न गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी, सिटिजन फर्निचर ट्रेड लिंक, आभ्या क्लब, परिचय एड्भर्टाइजिङ, नेपाल पर्यटन बोर्ड, सहारा क्लबलगायतका संघसंस्थाहरूले सहयोग गरेको उनले जानकारी दिए । 

ad
ad