१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०८० बैशाख १३ बुधबार ०६:२१:००
Read Time : > 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

हाम्रो कामले अर्कोपटक टोलटोलमा घन्टी बज्नेछ : रवि लामिछाने

Read Time : > 1 मिनेट
२०८० बैशाख १३ बुधबार ०६:२१:००

उपनिर्वाचनबाट पनि सानदार जित हासिल गर्नुभयो । मतदाताको स्नेहलाई कसरी लिनुभएको छ ?
खासमा चितवन २ मा उपनिर्वाचनको आवश्यकता नै थिएन, प्रक्रिया पूरा गर्नुपर्ने प्राविधिक कुरा मात्र थियो । आमनागरिकले सबै घटनाक्रम सूक्ष्म ढंगले नियालिरहेका थिए, आज प्रमाणित भयो । अघिल्लोपटकभन्दा पनि राम्रो नतिजा आउनु खुसीको कुरा हो । मत धेरै पाउनु भनेको धेरै जिम्मेवारी प्राप्त गर्नु हो । अरूको आलोचनाभन्दा पनि हाम्रो यात्रालाई पुनरावलोकन गरेर अझ बढी परिपक्व, जिम्मेवार र होसियार भएर अघि बढ्नु छ । 

चुनौती कस्ता देख्नुभएको छ ?
नागरिकका अपेक्षा धेरै छन् । देशमा मौलाएको बेथिति अन्त्य हुन्छ भन्ने विश्वास र आशा छ । व्यक्तिलाई होइन, सिंगो अभियानलाई आशा गरिएको हो । त्यो आशामा हामी खरो उत्रिन्छौँ, थाहा छ । तर, समयमा डेलिभरी गर्न समस्या हुन्छ कि भन्ने मात्र लागेको हो । हाम्रो समाज यस्तो छ कि असाध्यै छिटो रिजल्ट चाहिन्छ । त्यसमा निराश बनाइएला कि भन्ने डर छ । हामी जुन उद्देश्यका साथ अघि बढेका हौँ, त्यही मार्गमा हिँड्छौँ । तर, आममतदातामा त्यो धैर्यता नहोला कि भन्ने पिर लागेको छ । गहन जिम्मेवारी भएकाले गह्रौँ छ, तर हामी यसलाई उचाल्न सक्छौँ । 

सरकारलाई दिएको समर्थन अब कायमै रहन्छ कि फिर्ता लिनुहुन्छ ?
सरकारलाई दिएकोे समर्थन कायम राखिरहनुपर्ने कारण देखेको छैन, फिर्ता लिने प्रबल सम्भावना छ । हामीले पुरानो भ्रष्टाचारका फाइल खोतल्ने भनेका थियौँ । तर, हामी सरकारबाट हटेसँगै यी मुद्दा रोकिए । हाम्रा मुद्दा नै सम्बोधन नहुने भएपछि सरकारमा जानुको औचित्य देखिँदैन । यसबारे पार्टीमा छलफल हुन्छ र निर्णय लिन्छौँ।

तपाईंहरू त सरकार अस्थिर नहोस् भन्ने चाहनुहुन्थ्यो, होइन ?
एउटा  दलले अस्थिरता नहोस् भन्ने चाहना त राख्छ । अस्थिरता नहोस् भन्दाभन्दै गलत चिजलाई बोकेर हिँड्न सकिँदैन । स्थिरता चाहन्छौँ भन्नुको अर्थ सरकारले जे पनि गर्छ र हामी समर्थन गरिरहन्छौँ भन्ने होइन । 

मतदातालाई के भन्नुहुन्छ ?
देश सधैँ बेथितिको जालमा बस्न सक्दैन भनेर परिवर्तनका लागि मत दिनुभएको छ । राजनीतिक यात्रामा हिँडेको मानिसलाई जिताउनु भनेको उसको मुद्दालाई जिताउनु हो । उसका भिजन र विचारलाई जिताउनु हो । यसरी जिताइदिनुभएकोमा आभारी छु । सबैको नेता भएर चितवनको विकासमा लाग्नेछु । यो वर्ष योजना बनाउने वर्षको रूपमा अघि बढाउने वाचापत्रअनुसार काम गर्नेछु । सबैलाई धेरै–धेरै धन्यवाद दिन्छु । हाम्रो कामले अर्कोपटक टोलटोलमा, पालिकापालिकामा, बस्तीबस्तीमा, गाउँगाउँमा, सहरसहरमा घन्टी बज्नेछ ।