वैकल्पिक राजनीति गर्नेहरूले प्रचलित राजनीतिक आख्यानलाई परिवर्तन गरी सबैलाई जनताकेन्द्रित राजनीति पछ्याउन बाध्य पार्न सक्नुपर्छ
जब तपाईं दक्षिण अमेरिका, अफ्रिका र एसियामा लोकतन्त्रबारे आधुनिक युरो–अमेरिकी व्याख्यान सुन्नुहुन्छ, के तपाईं कंगोका प्रथम निर्वाचित प्रधानमन्त्री प्याट्रिस लुमुम्बा र चिलीका निर्वाचित राष्ट्रपति साल्भाडोर एलेन्डेबारे सोच्नुहुन्छ ? जब पश्चिमा राजनीतिक टिप्पणीकारले इरानलाई विश्व शान्तिका लागि खतरा भएको टिप्पणी गर्छन्, के तपाईं त्यसलाई इरानका प्रथम निर्वाचित प्रधानमन्त्री मोहम्मद मोसाद्देगको राजनीतिक जीवनसँग विश्लेषण गर्नुहुन्छ ? नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालासँग सम्बन्धित यस्तै प्रश्न सोध्न सकिन्छ, तर वर्तमान संविधानमा प्रयोग भएको ‘समाजवाद’ शब्द पढ्दा के तपाईं कोइरालालाई सम्झनुहुन्छ ?
विशेषगरी वैकल्पिक राजनीति गर्न चाहनेहरूले, यी विरोधाभासबारे पढ्नु र सोच्नुपर्छ । लुमुम्बा, एलेन्डे, मोसाद्देग र कोइराला तत्कालीन समाजका प्रतिनिधि पात्र थिए । तिनले तत्कालीन समाजको वैकल्पिक राजनीति आरम्भ गरेका थिए । वैकल्पिक राजनीति गर्न के–कस्ता कठिन परिस्थतिको सामना गर्नुपर्छ भन्ने शिक्षा यी नेताको राजनीतिक जीवनबाट सिक्न सकिन्छ ।
लोकतन्त्रको अमेरिकी आख्यान : अमेरिकाद्वारा प्रायोजित लोकतन्त्रको दोस्रो भर्चुअल सम्मेलन मार्च २०२३ को अन्तिम साता सम्पन्न भयो । सम्मेलनमा नेपालका प्रधानमन्त्री प्रचण्ड सहभागी थिए । सम्मेलनको उपलब्धि जेसुकै होस्, वा अन्तिम घोषणामा एकमत हुन नसके पनि यो अमेरिकाका लागि आत्मसन्तुष्टिको विषय भएको छ । म्याथ्यु ब्राउनले ३० मार्चको वासिंटन पोस्टमा एक सटिक प्रश्न उठाएका छन्– बाइडेनको लोकतन्त्र शिखर सम्मेलनमा सहभागी कति देश लोकतान्त्रिक छन् ? सम्मेलनमा एसिया र अफ्रिकाका धेरै प्रजातान्त्रिक देश अनुपस्थित थिए । पश्चिमी युरोपमा उदार लोकतन्त्रका रूपमा मानिने हंगेरी र टर्की आमन्त्रित थिएनन् । पाकिस्तानले निमन्त्रणा अस्वीकार गर्यो । विज्ञहरू भन्छन्– पाकिस्तानको अनुपस्थितिको वास्तविक कारण लोकतन्त्र होइन, चीन र ताइवान थिए । रुसलाई निमन्त्रणा गर्नुको अर्थ थिएन । स्विडेनमा जातिवादी दलको सहयोगमा दक्षिणपन्थी पार्टी सत्तामा छ । भारतमा विपक्षी नेता राहुल गान्धीलाई मानहानिको फैसलामा जेल हाल्ने तयारी छ । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु न्यायिक स्वतन्त्रता बन्द गर्न चाहन्छन् । मेक्सिकोमा ओब्राडोर स्वतन्त्र र निष्पक्ष चुनाव अन्त्य गर्न कोसिस गर्दै छन् ।
वैकल्पिक राजनीतिको सफलताको मापदण्ड चुनावमा जित मात्र होइन, चुनाव जित्नका लागि स्थानीय ज्ञान, संस्कृतिप्रतिको चासो, प्रतिनिधित्वलाई पुनः परिभाषित गर्ने वैज्ञानिक ज्ञान, स्थानीय बहुलवादी तहको आन्दोलनको रक्षा र प्रवर्द्धन पनि हुन् । यस्तो आन्दोलनका लागि समाजको कुन कित्ता, कुन वर्ग र कस्तो स्वार्थको प्रतिनिधित्व गर्ने भनी यकिन हुनुपर्छ ।
नेटो युरो–अमेरिकन गोलार्धको नयाँ कम्युनिस्ट पार्टी : उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) तत्कालीन सोभियतविरोधी कम्युनिस्ट संगठन थियो । अहिले यूरो–अमेरिकन गोलार्धको नयाँ कम्युनिस्ट पार्टी भएको छ । संस्थापक सदस्य संख्या १२ भए पनि हाल यसको संख्या ३१ पुगेको छ । पछिल्लो सदस्य फिनल्यान्ड भएको छ । स्विडेनको आवेदन विचाराधीन छ । स्विडेन र फिनल्यान्डले युरोपेली युनियनमा सामेल हुन जनमत संग्रह गरे पनि नेटोमा सामेल हुन जनमत संग्रह गरेनन् । तसर्थ, नेटोमा सैन्य संगठन मात्र होइन, यो पौराणिक कम्युनिस्ट राजनीतिक दर्शन बनेको छ– ‘एकका लागि सबै र सबैका लागि एक हुनु हो ।’ नेटोको धारा ५ र कम्युनिस्ट विचारधाराको मूल सिद्धान्त समान छन् । नेटोका सदस्य अमेरिकी स्याटेलाइट स्टेट हुन् । रुस पुटिनको तानाशाही नियन्त्रणमा छ । पुरानो सोभियत संघमा जस्तै नेटो देशमा युद्धविरुद्ध मुख्य धारा मिडियामा असहमति आवाज छैनन् । फ्रान्सेली राष्ट्रपति म्याक्रोँले चीन भ्रमणका क्रममा अमेरिका–चीन द्वन्द्वमा युरोप ‘भासल’ (कठपुतली) हुनु नहुने भन्दै आक्रोश पोखेका छन्, तर नेटो देशहरूले उनको आलोचना गरिरहेका छन् । फ्रान्सले सन् २००३ मा इराक युद्धको विरोध गरेको थियो । म्याक्रोँ सफल हुन्छन् कि हुँदैनन्, पर्खिनुपर्छ । वैकल्पिक लोकतन्त्रको कथा बुझ्न लुमुम्बा, एलेन्डे, मोसाद्देग र कोइरालाको दुःखद राजनीतिक जीवन संघर्षबारे छलफल आवश्यक छ ।
लुमुम्बा : डिआरसी कंगोको स्वतन्त्रताका नायक प्याट्रिस लुमुम्बाको हत्या भएको ६० वर्षपछि उनको सुनको जलप लगाइएको दाँतको अन्त्येष्टि (३० जुन २०२२) गरियो । उनको पूरा शरीर एसिडले जलाएर समाप्त गरिएको थियो । सुनको जलप लगाएको दाँत मात्र उनको अवशेष थियो, जुन परिवारलाई फिर्ता गरेर दाहसंस्कार गरियो । लुमुम्बा कंगोका पहिलो प्रधानमन्त्री र स्वतन्त्रता संघर्षका नेतामध्ये एक थिए । उनलाई अफ्रिकाको औपनिवेशिकविरोधी आन्दोलनमा प्रमुख आवाजका रूपमा हेरिएको थियो । उनलाई फायरिङ स्क्वाडद्वारा मृत्युदण्ड (जनवरी १७, १९६१) दिइएको थियो ।
कंगो बेल्जियमबाट स्वतन्त्र भएको थियो । संयुक्त राज्य अमेरिका र सोभियत संघबीच शीतयुद्ध थियो । बेल्जियमले कंगोमा सेना पठायो । कंगोले संयुक्त राष्ट्रसंघलाई सहयोगका लागि अपिल गर्यो र शान्तिसेना पठाइए पनि तिनले हस्तक्षेप गरेनन् । लुमुम्बाले सोभियत संघबाट सहयोग खोजे । उसले लुमुम्बाको सरकारलाई प्राविधिक सल्लाहकार उपलब्ध गराएको थियो । सोभियत हस्तक्षेपले अमेरिकालाई चिन्तित बनायो । तत्कालीन राष्ट्रपति कासा–वुबुले लुमुम्बा सरकार भंग गरे । लुमुम्बाले कासा–वुबुको बर्खास्तगीको घोषणा गरे । सेना कमान्डर जोसेफ–डेसिरे मोबुतुले सत्ता कब्जा गरे र लुमुम्बालाई गिरफ्तार गरे । लुमुम्बा र दुई सहयोगीलाई हवाईजहाजमार्फत कटंगामा सारियो । उडानका क्रममा उनलाई सैनिकहरूले कुटपिट गरे । लुमुम्बा र तिनका सहयोगीलाई त्यसपछि बेल्जियमको निरीक्षण र उपस्थितिमा काटांगन फायरिङ स्क्वाडद्वारा मृत्युदण्ड दिएपछि शव दफनाइयो । पछि बेल्जियम प्रहरीले चिहान उधिनेर लुमुम्बाको शवलाई टुक्रा–टुक्रा पारेर एसिडमा जलाए । बेल्जियम र अमेरिका लुमुम्बाको अन्त्यका लागि जिम्मेवार थिए । लुमुम्बाको सुनको जलप लगाइएको दाँतलाई ट्रफीसरह बेल्जियम लगियो । अन्ततः बेल्जियमबाट दाँत फर्काइएपछि अन्त्येष्टि गरियो । यस उदाहरणबाट लोकतन्त्रको प्रतीकात्मक महŒवको निष्कर्षमा पुग्ने अपेक्षा गर्न सकिन्छ ।
एलेन्डे : अमेरिकी पूर्वराष्ट्रपति रिचर्ड निक्सनले सन् १९७० मा सिआइए निर्देशक रिचर्ड हेल्म्सलाई चिलीका निर्वाचित राष्ट्रपति साल्भाडोर एलेन्डेको उद्घाटन रोक्न आदेश दिए । हेल्म्सले चिलीका निर्वाचित राष्ट्रपति एलेन्डेलाई अपहरण गर्न सिआइएको गोप्य अप्रेसनको आदेश दिएका थिए । सेप्टेम्बरमा १९७३ जनरल अगस्टो पिनोचेको विद्रोहले एलेन्डे सरकारलाई अपदस्थ गर्यो ।
चिलीको सशस्त्र बलले मारेको हुन सक्ने आशंकाको दशकौँपछि चिलीको एक अदालतले २०११ मा एलेन्डेको अवशेषको उत्खनन र पोस्टमार्टम गर्ने अधिकार दिएको थियो । अन्तर्राष्ट्रिय विज्ञहरूको टोलीले ती अवशेषको जाँच गरे र निष्कर्ष निकाल्यो– एलेन्डेले आफूलाई गोली हानेका थिए । यसले प्रजातान्त्रिक रूपमा निर्वाचित नेतालाई कसरी आत्महत्या गर्न बाध्य पारियो भन्ने देखाउँछ ।
मोसाद्देग : इरानीहरू डा. मोहम्मद मोसाद्देगलाई इरानी सार्वभौमिकता र देशभक्तिको प्रतीक मान्छन् । उनी इरानको संसदीय चुनावद्वारा निर्वाचित प्रधानमन्त्री थिए । उनको कार्यकाल छोटो (अप्रिल १९५१–अगस्ट १९५३) थियो । उनी तेल उद्योगलाई राष्ट्रियकरण गर्ने कानुन कार्यान्वयन गर्न सफल भए । फलस्वरूप इरानको पेट्रोलियम उत्खनन, निकासी, अनुसन्धान, मार्केटिङ र बिक्रीमा बेलायती एकाधिकार अन्त्य भयो । जसका करण गोप्य सैन्य अप्रेसनमा उनलाई पदबाट हटाएर कोर्ट मार्सल गरियो र तीन वर्षको जेल सजाय भयो । शासनको आफ्नै मापदण्डमा समेत गैरकानुनी कदम चाल्दै शाहको सरकारले उनलाई सन् १९६७ मा मृत्यु नहुँदासम्म उनको दुर्गम गाउँमा नजरबन्दमा राख्यो । इरानमा मोसाद्देगको समयदेखि प्रजातन्त्र कायम रहेको भए के हुँदो हो, कल्पना गर्नुहोस् ।
कोइराला : आजकल नेपालका धेरै राजनीतिज्ञ र बौद्धिकहरू विश्वेश्वरप्रसाद कोइरालाको नाम वा उनको भनाइ प्रयोग गरेर (अर्थात् कोइरालाले ‘यसो भनेका थिए’) आफूलाई विश्वासयोग्य साबित गर्छन् । लोकतान्त्रिक समाजवादी कोइराला सन् १९५९ देखि १९६० सम्म छोटो समयका लागि नेपालका प्रधानमन्त्री भए । सन् १९५९ को आमचुनावमा कांग्रेसले भारी मतले जितेपछि कोइराला पहिलो निर्वाचित प्रधानमन्त्री नियुक्त भए । तर, १८ महिनापछि तत्कालीन राजाले संसद् विघटन गरेर सन् १९६८ सम्म आठ वर्षको कारावास सजाय दिइयो । राजतन्त्रवादी त उनको कैदमा खुसी हुने नै भए । उता ‘प्रजातान्त्रिक’ मुलुक भारत र अमेरिकाले समेत उनीबारे चासो दिएनन् । कोइरालालाई जेलमा राख्नुमा राजतन्त्रवादीका धेरै सिद्धान्त थिए, तर दिगो तर्क थिएन । उनलाई कारागार हुनुमा कुनै अन्तर्राष्ट्रिय शक्तिको हात थियो कि थिएन भन्ने राम्रोसँग अनुसन्धान भएको छैन । कांग्रेसले लोकतान्त्रिक समाजवाद त्याग गरेको छ । नवउदार–बजार–पुँजीवादी दल भएको छ । अर्थतन्त्रमा समाजको कमजोर वर्गलाई बढावा दिइएको छैन ।
‘क्रोनी’ पुँजीवाद नेपालको कम्युनिस्ट, कांग्रेस, राजतन्त्रवादी र पहिचानवादी दलको धर्म बनिसकेको छ । एमालले लामो समयदेखि ‘जनताको बहुदलीय जनवाद’को नारा प्रयोग गरिरहेको छ । यो माक्र्सवाद र लेनिनवादको झुटो प्रचार हो । तर, त्यति हुँदाहुँदै पनि उसले लगातार चुनाव जितेको छ । यस पार्टीले विद्यालय, विश्वविद्यालय र अस्पतालको निजीकरणलाई समर्थन गरेको छ । देशमा माक्र्सवादी–लेनिनवादी र माओवादी करोडपति छन् भनिन्छ । माक्र्सवाद–लेनिनवादले पुँजीवादलाई प्रतिस्थापन गर्न कम्युनिस्ट क्रान्ति आवश्यक छ भन्ने मान्यता राख्छ । लोकतान्त्रिक केन्द्रीयतामार्फत संगठित पार्टीले सर्वहारा वर्गका तर्फबाट सत्ता कब्जा गर्नेछ र सर्वहारा वर्गको अधिनायकत्व भएको एकदलीय समाजवादी राज्य स्थापना गर्नेछ– कम्युनिस्ट व्यवस्थामा सबै समान हुनेछन्, प्रत्येकलाई क्षमता र आवश्यकताअनुसार सुविधा हुनेछ, राज्यको आवश्यकता रहनेछैन । माओवादी वास्तविक माओवादी होइनन् भन्ने प्रमाणित भएको छ । राजवादी इतिहास दोहोर्याउने भ्रममा देखिन्छन । नेपालको गणतन्त्र राम्रोसँग चलिरहेको छैन । राजतन्त्र पनि राम्रो चलेको थिएन ।
वैकल्पिक राजनीतिक आन्दोलन : जब विचारहरू पुराना हुन्छन्, पुनः परिभाषा चाहिन्छ । वैकल्पिक राजनीति भनेको राजनीतिक आख्यानलाई परिवर्तन गरी जनताकेन्द्रित राजनीतिलाई पछ्याउन बाध्य पार्ने प्रक्रिया हो । यसको सफलताको मापदण्ड चुनावमा जित मात्र होइन । चुनाव जित्नका लागि स्थानीय ज्ञान, संस्कृतिप्रतिको चासो, प्रतिनिधित्वलाई पुनः परिभाषित गर्ने, वैज्ञानिक ज्ञानको अडान, स्थानीय बहुलवादी तहको आन्दोलनको रक्षा र प्रवद्र्धन आदि विषय पर्छन् । राजनीतिक नेतृत्व वर्गमा इमान, जमान, इमानदारी, नैतिकता र पवित्र सेवा कसरी जागरण गर्ने ? वैकल्पिक राजनीतिक आन्दोलनका लागि समाजको कुन कित्ता, कुन वर्ग, र कस्तो स्वार्थको प्रतिनिधित्व गर्ने भनी यकिन गर्न सक्नुपर्छ । लोकवाद छोटो दृष्टिमा आकर्षक लाग्न सक्छ, तर यो दिगो राजनीति हुन सक्दैन । माथि चर्चा गरिएका चार प्रमुख नेता समाजवादी थिए । उनीहरू लोकतान्त्रिक रूपमा निर्वाचित भएका थिए । पश्चिमी शक्तिहरूद्वारा अपदस्थ गरिएका थिए । युरो–अमेरिकी शासकहरू संसारका अन्य भागमा लोकतन्त्रको विकास गर्न इमानदार छैनन् । टोनी बेनले भनेजस्तै ‘लोकतन्त्रको कुनै अन्तिम जित छैन, किनकि त्यहाँ कुनै अन्तिम हार छैन । त्यहाँ पनि एउटै लडाइँ छ । बारम्बार लड्नुपर्छ ।’
(कानुनका प्रोफेसर मल्ल हाल स्विडेनको स्टकहोम विश्वविद्यालयको ‘सेन्टर फर इन्टरनेसनल ल एन्ड जस्टिस’का सिनियर फेलो हुन्)