१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

त्रिदेशीय सडकखण्डको काम सुस्त : ठेकेदारको लापरबाहीले पाँच किलाेमिटर सडक कालोपत्रे भएन

स्थलगत रिपोर्ट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:२५:oo

दैलेखका संघीय सांसद एवं कर्णाली प्रदेशका पूर्वभौतिक याेजनामन्त्री अमरबहादुर थापासहितको टोली ढुंगा बिछ्याउँदै जिप पास गर्दै त्रिदेशीय सडकखण्डको अनुगमनमा महावु क्षेत्रमा पुग्यो । स्थलगत अनुगमनपछि टोलीले काम सुस्त भएको, निकै कडा चट्टान र भिर भएकाले सरकारले विनियोजन गरेको बजेट अपर्याप्त भएको निष्कर्ष निकाल्यो ।  

दैलेख सदरमुकामदेखि महावु हुँदै जुम्लासम्मको सडक कालोपत्रेका लागि स्थलगत अध्ययन गरेका थापाले आफू संविधानसभा सांसद हुँदादेखि यसको पहल सुरु गरेको अहिलेसम्म राज्यको बजेट यस क्षेत्रमा पर्याप्त मात्रामा नपुगेको बताए । ‘मेरो कार्यकालभित्र आगामी तीन वर्षमा यो सडक कालोपत्रे गराउँछु, केन्द्र सरकारले मानेन भने मन्त्रालयमा बजेटका लागि धर्ना बस्छु,’ थापाले भने ।

मृत्युमार्ग बनेको कर्णाली राजमार्गको वैकल्पिक सडकको रूपमा त्रिदेशीय सडक हो । आर्थिक अवस्था कमजोर भएका जनताका लागि लाखौँ रकम बचत हुने सुरक्षित हुने र ७९ किलोमिटर छोटो हुने यस्तो सडकका लागि सरकारले दैलेख खण्डलाई विशेष प्राथमिकताका साथ हेर्नुपर्ने थापाको भनाइ छ । 

स्थलगत अनुगमनका लागि नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्मा, जिल्ला प्रशासन कार्यालय र सडक विभाग सुर्खेतको इन्जिनियर र महावै गाउँपालिकाको जनप्रतिनिधिको उपस्थिति थियो । दैलेख सदरमुकामको काँडाचौरलाई बेस बनाएर दैलेखदेखि कालीकोटसम्म ४० किलोमिटर भूभागमा अहिले सातवटा निर्माण कम्पनीबाट काम सुरु गरिएको भए पनि ठेकेदारको लापरबाही, पहाडी क्षेत्र र चट्टान धेरै भएका कारण कामले गति लिन सकेको छैन ।

कालोपत्रे नगर्नेलाई कारबाहीको तयारी
नारायण नगरपालिका– ४ भैँसेखोरदेखि भवानी गेटसम्मको पाँच किलोमिटर सडकखण्ड गत चैतभित्र कालोपत्रे गरिसक्नुपर्ने थियो । निर्माणको जिम्मा लिएको कश्यप निर्माण सेवा एन्ड सप्लायर्सले कालोपत्रे नगरेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । पाँच करोड ५८ लाखमा ठेक्का सम्झौता भएको उक्त सडकको काम वैशाखभित्र पूरा नगरे सडक विभागले कालोसूचीका लागि प्रक्रिया बढाउने सडक विभाग सुर्खेतका इन्जिनियर सुरेन्द्र सिंहले जानकारी दिए ।

महावु खण्डका धेरै स्थानमा कडा चट्टान भएकाले र भौगोलिक कठिनाइले काम गर्न केही असहज भए पनि आफूहरूले निर्माणको जिम्मेवारी लिएका निर्माण कम्पनीलाई बारम्बार ताकेता गरेको र अनुगमनलाई पनि प्रभावकारी बनाएको सिंहको भनाइ छ ।

महावु क्षेत्रलगायतका विभिन्न पर्यटकीय क्षेत्रको सहज पहुँच र विकासका लागि यो सडक महत्त्वपूर्ण मानिएको नारायण नगरपालिका दैलेखका प्रमुख लोमन शर्माले जानकारी दिए । नेपालगन्जको बागेश्वरी, सुर्खेतको काँक्रेबिहार, दैलेखको पञ्चकोकी क्षेत्र हुँदै महावु पर्यटकीय क्षेत्र, जुम्लाको तातोपानी र रारासम्मको पर्यटन प्रवर्द्धनमा यो सडक निकै महत्त्वपूर्ण हुने शर्माको भनाइ छ । 

जमनाहा नाकादेखि सुर्खेत, दैलेख सदरमुकाम महावु, कालीकोट जुम्ला, हुम्ला, मुगु, डोल्पा हुँदै चीनको सिमाना नाग्चेनाग्लासम्म सडक विस्तारका लागि सरकारले विगत चार वर्षदेखि त्रिदेशीय सडकलाई प्राथमिकतामा राखेको छ । यो सडक निर्माण भए अहिलेको कर्णाली राजमार्गभन्दा ७९ किलोमिटर सडक छोटो र सुरक्षित हुनेछ ।  
 

ad
ad