मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत २५ शनिबार ०९:०२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मधेसमा पहुँच बढाउने गरी काम गर्न बिमा कम्पनीलाई निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत २५ शनिबार ०९:०२:००

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कारोबार कम भए पनि बिमाप्रतिको विश्वसनीयता कायम हुने गरी बिमा व्यवसाय गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । नेपाल बिमा प्राधिकरणको आयोजनामा मधेस प्रदेशका बिमकहरूका प्रदेश तथा शाखा कार्यालयका प्रमुख र कर्मचारीहरूसँग बिहीबार भएको अन्तक्र्रियामा उनले पहुँच बढाउन निर्देशन दिएका हुन् ।  

नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी (निप्स), वीरगन्जका पदाधिकारीहरूसँग भएको छलफलमा नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले वित्तीय जोखिमाङ्कनमा सुधार गर्न र व्यावसायिक दक्षताका साथ काम गर्न निर्देशन पनि दिए । ‘मधेस प्रदेशमा बिमाको पहुँच ८ प्रतिशत मात्र छ । मधेसमा बिमाको पहुँच बढाउन बिमा कम्पनीहरू नयाँ ढंगले अगाडि बढ्नुपर्‍यो । योग्य र दक्ष बिमा अभिकर्ताका माध्यमबाट बिमा व्यवसाय गर्नाले बिमाको पहुँच बढ्छ, त्यसतर्फ ध्यान दिनुपर्‍यो,’ उनले भने, ‘बिमा गरेपछि विपन्न परिवारले क्षतिको क्षतिपूर्ति बिमा कम्पनीबाट पाउँछन्, मिटरब्याजीकोमा जानुपर्दैन । तसर्थ, बिमाले मिटरब्याजीलाई निरुत्साहित गर्छ ।’ 

अध्यक्ष सिलवालले बिमा व्यवसायमा देखिएका समस्याहरूको समाधानका लागि विकल्पसहित आउन आग्रह गर्नुहुँदै सोहीअनुरूप समस्या समाधान गर्न प्राधिकरण तयार रहेको बताए । 

यस्तै, बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, प्रदेश प्रमुख र शाखा प्रमुखहरूले नयाँ बिमालेख र बिमाशुल्कमा मात्र ध्यान दिन नहुने उनले बताए । पोलिसी ल्याप्स तथा सरेन्डरको समस्या आउन नदिन बिमालेख नवीकरणमा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो । 

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमा दाबी भुक्तानीलाई छिटो–छरितो बनाउन र अस्वस्थ प्रतिस्पर्धा नगर्न बिमा कम्पनीहरूलाई निर्देशन दिए । कार्यक्रममा नेपाल बिमा प्राधिकरणका निर्देशक दिनेशकुमार लाल, प्राधिकरणका मधेस प्रदेश कार्यालयका प्रमुख कुसुम शर्मा, बिमा कम्पनीका प्रदेश, शाखा तथा उपशाखा कार्यालयहरूका प्रमुख र कर्मचारीहरू, निप्स, वीरगन्जका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।