१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
मदनभण्डारी राजमार्गको सडक मापदण्डका कारण जोखिममा रहेको गुल्मी सदसरमु तम्घास बजार।
२o८१ बैशाख २० बिहीबार १२:३४:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गुल्मीमा सडक मापदण्डले सयौँ घर जोखिममा 

मदन भण्डारी राजमार्गअन्तर्गत जिल्लाका दुई खण्डमा ३५ किलोमिटर सडक निर्माण 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:३४:oo

गुल्मी जिल्लाका दुई खण्डमा मदन भण्डारी राजमार्ग निर्माणको काम सुरु भएको छ। पूर्वमा रुरु क्षेत्र गाउँपालिका– १ को रिडीदेखि तम्घास हुँदै पश्चिममा मदाने गाउँपालिका– ६ को सौतामारेसम्म मदन भण्डारी राजमार्ग पर्छ। 

नेपालकै महत्वपूर्ण सडक गुल्मी हुँदै जाने भएपछि समग्र गुल्मेली खुसी छन्। तर, सडक मापदण्डका कारण जिल्लाका हजाराैँ घर जोखिममा परेपछि बजार क्षेत्रका नागरिक भने त्रासमा छन्। 

पहाडी जिल्ला भएकाले गुल्मीको रिडीदेखि सौतामारेसम्म दायाँ–बायाँ २५–२५ मिटरको विकल्प दिने कुनै ठाउँ छैन। सदरमुकाम तम्घास बजारमा मात्रै करिब एक हजार घर छन् । राजमार्गको जाने एउटा रुट तम्घासको देउराली–खानीगाउँ–नयाँ बजार–बाघमारे हो। 

यो क्षेत्रमा राजमार्गको मापदण्डले हजारौँ घर भत्किने भएपछि स्थानीयले विरोध गरे। स्थानीय तहदेखि केन्द्रीय सरकारसम्म ध्यानाकर्षण भयो । तर, काम अगाडि बढेन। गत वर्ष रेखांकनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आयोजना कार्यालयमा निर्देशन आयो । दुईवटा चुनावका कारण विषय ओझेलमा परे पनि अहिले फेरि राजमार्गका विषयमा चर्चा सुरु भएका छन्।

बजारवासीहरू देउरालीबाट भुजेलखर्क बाइपासको पक्षमा छन्। त्यो क्षेत्रका स्थानीयले पनि विरोध गरेपछि राजमार्ग नै अन्याेलमा परेको छ। सरकारले तराई र पहाडमा सडकको मापदण्ड एउटै बनाएर कार्यान्वय गरे ठूलो समस्या हुने रेसुंगा नगरपालिका– १ अगुवा घनश्याम पाण्डेयले गुनासो गरे। ‘अहिलेकै अवस्थामा नक्साअनुसार सडक विस्तार बजार क्षेत्रमा ९० प्रतिशत घर रहँदैनन्। विकल्पका विषयमा बहस गरौँ,’ उनले भने, ‘नागरिक त्रासमा छन्, विकासले विनाश होइन, समृद्धि दिनुपर्छ।’ 

गुमराहमा पारियो : सडक समस्या समाधान समिति

०७२ सालमा स्थानीयले मापदण्डका विषयमा संघर्ष समिति बनाएरै विरोध गरे। तत्कालीन सडक समस्या समाधान समितिका संयोजक यमबहादुर थापाले आफूहरूलाई गुमराहमा पार्ने काम भएको बताए। 

मापदण्ड सच्याउन ०७२ सालमा सडक समस्या समाधान समितिले गराएकाे ध्यानाकर्षण। 

 

उनीहरूले तत्कालीन समयमा सडक मापदण्ड १५–१५  फिट बनाउन माग गरेर विरोध गरेका थिए। समितिले मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयदेखि स्थानीय तहपछि रेसुंगा नगरपालिकामा समेत ध्यानाकर्षण गराएको थापाले बताए।
 
समितिको पत्र विभिन्न मन्त्रालय, विभाग र शाखाहरूबाट तोक र दर्ता हुँदै अन्तत: तत्कालीन तम्घास–सिमलटारी–प्युठान सडक कार्यालयमा फर्किएर थन्कियो। तर, अहिले समस्या समाधान भएर आएन। 

बरु मापदण्ड २५–२५ फिट भएर आएपछि स्थानीयमा त्रास फैलिएको थापाले गुनासो गरे। ‘विगतको मागलाई लत्याएर नयाँ मापदण्ड कार्यान्वयन भए बजारवासी सुकुमबासी बन्छन्। उनले भने, ‘रेसुंगा नगरपालिका र आयोजनासँग निर्णायक छलफलको जरुरी छ।’

कार्यालयले समन्वय गरेन : ज्ञवाली

मदन भण्डारी राजमार्ग आयोजना कार्यालयले रुरु क्षेत्र, छत्रकोट र मदाने गाउँपालिकामा सडक निर्माणको काम थालेको छ। 

सडकको वैकल्पिक व्यवस्था, संरचना व्यवस्थापनलगायतका काममा स्थानीय सरकारको समन्वय जरुरी भए पनि कार्यालयले वास्ता नगर्ने गरेको रुरु क्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले जानकारी दिए। 

उनले व्यक्ति घर तथा बारी, खानेपानीका पाइप, ट्यांकी, पोल तथा यातायातको वैकल्पिक व्यवस्थापनमा सडक निर्माणको असर प्रत्यक्ष स्थानीय पालिका र जनप्रतिनिधिसँग जोडिएकाले कार्यालयले समन्वय गरेर काम नगरे समस्या बल्झिँदै जाने ज्ञवालीले बताए। उनले रुरु क्षेत्रमा पुरानो रिडी–तम्घास सडकबाटै स्तराेन्नतिको काम भएको बताउँदै बलेटक्सार बजारसमेत मापदण्डकै पक्षमा रहेकाले कुनै समस्या नरहेको बताए।

साढे २ अर्बमा सडक निर्माण सुरु

मदन भण्डारी राजमार्गको गुल्मीखण्डको ३५ किलोमिटर सडक निर्माणको काम सुरु भएको छ। जिल्लाको रुरु क्षेत्र र छत्रकोट गाउँपालिका तथा मदाने गाउँपालिका क्षेत्रमा सडक निर्माणको काम अगाडि बढेको हो।

मदन भण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीका अनुसार पहिलो खण्ड रिडी–तम्घासअन्तर्गत रुरु क्षेत्र गाउँपालिका– १ को रिडीदेखि छत्रकोट गाउँपालिको भेडुकासम्मको २५ किलोमिटर सडक निर्माणकार्य अगाडि बढेको छ।

समानन्तर–एलाइट जेभीले एक अर्ब ५० करोडको लागतमा निर्माणकार्यको सम्झौता गरेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीका इन्जिनियर वीरेन्द्रप्रकाश तेरीले जानकारी दिए। गत फागुनमा सम्झौता भएको योजना तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ। सम्झौताअनुसार कटिङ, नाली, स्ट्रक्चर, ग्राभेल र कालोपत्रे गरिनेछ। अहिले कटिङको काम भइरहेको छ। 

त्यस्तै, गुल्मीपश्चिमको सिमलटारीदेखि प्युठानको मच्छीसम्मको ३० किलोमिटर सडक निर्माणको काम सुरु भएको छ। ३० किलोमिटरमध्ये गुल्मीमा १५ किलोमिटर पर्छ। श्रेष्ठ सक्षक जेभीले कात्तिक महिनादेखि तीन वर्षमा काम सक्ने गरेर एक अर्ब ३० करोडमा निर्माणकार्यको सम्झौता गरेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीका इन्जिनियर वीरेन्द्रप्रकाश तेरीले जानकारी दिए।

ad
ad