१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत २४ शुक्रबार १०:२९:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बालबालिकालाई रुघाखोकी लागे के गर्ने, के नगर्ने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत २४ शुक्रबार १०:२९:००

मौसम परिवर्तनसँगै बालबालिकालाई रुघाखोकी लाग्ने र ज्वरो आउने हुन्छ । यसलाई भाइरल इन्फेक्सन मान्न सकिन्छ । त्यसमा पनि सबैभन्दा धेरै हुने इन्फ्लुएन्जा हो । यसलाई हामीले इन्फ्लुएन्जा ‘ए’ र ‘बी’ भन्छौँ । अलि साना बालबालिकामा रेस्पेरिटी सिन्साइटल भाइरस (आरएसबी) हुन्छ । त्यस्तै, अरू इन्फ्लुएन्जा र एडोनो भाइरसलगायत विभिन्न भाइरस पनि हुन्छन् । 

बच्चालाई ज्वरो आउनेबित्तिकै अभिभावक आत्तिएर अस्पताल दौडिने गरेको पाइन्छ । तर, कुन अवस्थामा अस्पताल जाने र कुन अवस्थामा नजाने भनेर जान्न जरुरी हुन्छ । रुघा लाग्दैमा आत्तिएर अस्पताल लैजानुपर्दैन । घरमै बच्चाको नाक सफा गर्ने, पारासिटामोल दिने गर्नुपर्छ । त्यसपछि दिउँसोको समयमा अस्पताल लैजाँदा हुन्छ । 

तर, रुघाखोकी वा ज्वरो आएर बच्चालाई गाह्रो भएको छ भने तत्काल उपचार आवश्यक पर्न सक्छ । बच्चाको नाक बन्द भएर दूध खान नसक्ने, घाँटी घ्यारघ्यार हुने, सास फेर्न समस्या हुने, सास छिटोछिटो फेर्ने भयो भने बच्चालाई दम पनि हुन सक्छ । खासगरी, रुघाखोकीका वेला बच्चालाई दम बढ्छ । केही बच्चामा ज्वरो आएको वेला बेहोस हुने र काम्ने समस्या हुन्छ । त्यस्तो वेला अलि ख्याल गर्नुपर्छ । अस्पतालमा गएर देखाउँदा राम्रो हुन्छ । त्यस्तै, सास फेर्न अप्ठेरो भयो भने तुरुन्त अस्पताल लैजानुपर्छ ।त्यसबाहेक रुघाखोकी वा ज्वरोको वेला बच्चालाई बेहोस हुने समस्या छ भने तुरुन्त अस्पताल नै आउनुपर्छ । 

जथाभावी एन्टिबायोटिक र कफ सिरप नदिने 
सकेसम्म स–साना बच्चामा खोकीको औषधि र अन्य एन्टिबायोटिक औषधि प्रयोग नगर्नु नै राम्रो । यदि औषधि दिनैपरे चिकित्सकको सल्लाहअनुसार दिनुपर्छ । तर, कतिपय अभिभावकले बच्चा सामान्य बिरामी हुनासाथ एन्टिबायोटिक र कफ सिरप खुवाउने गरेको पाइन्छ । शरीरलाई केही ब्याक्टेरिया आवश्यक पनि पर्छ । अत्यधिक एन्टिबायोटिक सेवनले शरीरलाई चाहिने ब्याक्टेरिया पनि मर्न सक्छ । त्यसले गर्दा बच्चा बारम्बार बिरामी हुने अवस्था हुन्छ । 

अर्को, खोकी लागेका वेला कफ सिरप प्रयोग गरेको पाइन्छ । तर, यसले राम्रो गरेको छैन । यसको अनावश्यक प्रयोगले नोक्सान गर्ने अध्ययनले नै देखाएको छ । त्यस्तै, अर्को गल्ती भनेको हामीले बालबालिकालाई ज्वरो आए, छातीमा समस्या भए बारबार एक्स–रे गराउँछौँ र रगतको जाँच गराउँछौँ । यी गर्न नहुने कुरा हुन् । यी सबै कुराले कहिलेकाहीँ घाटा पनि हुन्छ । त्यसैले के गर्ने र के नगर्ने भनेर अभिभावकले बुझ्न आवश्यक छ । 

यी कुरामा ध्यान दिने 
बच्चालाई सामान्य रुघाखोकी लागेको छ भने घरमै पनि उपचार गर्न सकिन्छ । नुनपानीले नाक सफा गरिदिने, तुलसीको पानी बनाएर खुवाउने, झोलिलो कुरा प्रशस्त खुवाउने, न्यानोमा राख्नेलगायत कुरामा ध्यान दिन जरुरी छ । परिवारमा कसैलाई रुघा धेरै लागे वा बिरामी छन् भने साना बच्चा र बुढाबुढीसँग उनीहरूलाई घुलमिल हुन दिनुहुँदैन । त्यस्तै, बच्चा स्कुल जाने भएपछि पनि रोग सर्ने डर हुन्छ । इन्फ्लुएन्जाको भ्याक्सिन लगाएर केही कम गर्नचाहिँ सकिन्छ । त्यसो त रुघाको ज्वरो पाँच दिनसम्म हराउँछ र रुघा पनि त्यति नै दिनसम्म कम हुन्छ ।