१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:१४:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

तीन करोडका दुई प्लान्टमा ताला लगाएर मासिक १६ लाखसम्मको अक्सिजन किन्दै सिभिल अस्पताल

Read Time : > 4 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:१४:oo

दैनिक ६० र ३५० सिलिन्डर उत्पादन क्षमताका प्लान्ट बन्द गरेर कान्तिपुर अक्सिजन प्रालि र सीता अक्सिजन प्रालिसँग गर्छ खरिद

तीन करोडका दुई अक्सिजन प्लान्टमा ताला लगाएर सिभिल अस्पतालले निजी कम्पनीसँग मासिक १६ लाखसम्मको अक्सिजन किनिरहेको छ । एउटा प्लान्ट दुई वर्षदेखि र अर्को एक वर्षदेखि बन्द गरिएका छन्, जुन खिया लागेर बिग्रँदै छन् । 

०७५ चैत र ०७८ वैशाखमा खरिद गरेका प्लान्ट बन्द गरेर सिभिलले आवश्यकताअनुसार मासिक १० लाख ८० हजारदेखि १६ लाख २० हजारसम्मको अक्सिजन किन्ने गरेको छ । अस्पतालमा दैनिक ६० देखि ९० सिलिन्डर अक्सिजन खपत हुँदै आएको छ । ६ करोडमा खरिद गरिएको इन्टेरोस्कोपी मेसिन सात महिनादेखि र एक करोड ८० लाखका भेन्टिलेटर पनि अस्पतालले तीन वर्षदेखि स्टोरमै थन्क्याएर बेवारिसे बनाएको छ । 

सिभिलले ०७५ चैतमा दैनिक ६० सिलिन्डर उत्पादन क्षमता भएको प्लान्ट एक करोडमा खरिद गरेको थियो । तर, दुई वर्षदेखि उक्त प्लान्ट बन्द छ । त्यस्तै, दैनिक तीन सय ५० सिलिन्डर अक्सिजन उत्पादन क्षमता भएको अर्को प्लान्ट सूर्य नेपाल कम्पनीले ०७८ वैशाखमा अनुदानमा हस्तान्तरण गरेको थियो । उक्त मेसिन एक वर्षदेखि बन्द गरिएको छ । अस्पतालको आर्थिक शाखाका अनुसार यो मेसिनको बजार मूल्य दुई करोड पर्छ । प्रयोगविहीन प्लान्टमा खिया लाग्न थालेको छ । 

‘अस्पताल व्यवस्थापन र प्रशासनले नयाँ अक्सिजन प्लान्ट बन्द गरेका छन्, आफैँसँग भएको मेसिन बन्द गरेर बाहिरबाट किनेर प्रयोग गर्नु लाजमर्दो कुरा हो,’ अस्पतालका एक चिकित्सकले भने, ‘यसमा प्रशासनको मिलेमतो हुन सक्छ ।’ उनले आफूहरूले अक्सिजन प्लान्ट सञ्चालनका लागि दबाब दिँदा पनि अस्पताल प्रशासनले सुनुवाइ नगरेको बताए । 

हाल अस्पताललाई चाहिने अक्सिजन कान्तिपुर अक्सिजन प्रालि र सीता अक्सिजन प्रालिसँग खरिद गर्दै आएको छ । यी कम्पनीले एक सिलिन्डर अक्सिजनको ६ सय रुपैयाँ लिन्छन् । हाल अस्पतालमा सामान्य अवस्थामा ६० सिलिन्डर र बिरामीको चाप बढेर बेड भरिभराउ हुँदा दैनिक ९० सिलिन्डरसम्म अक्सिजन खपत हुन्छ । प्रतिसिलिन्डर ६ सयका दरले ६० सिलिन्डरको ३६ हजार र ९० सिलिन्डरको ५४ हजार खर्च हुन्छ ।

कोभिडको समयमा सिभिलमा दैनिक तीन सय सिलिन्डरसम्म अक्सिजन खपत भएको थियो । त्यतिवेला अस्पतालको गल्ली र बाहिरसमेत बिरामी राखेर अक्सिजन दिने व्यवस्था मिलाइएको थियो । अस्पतालले नै अक्सिजन उत्पादन गरेकाले आवश्यकता सजिलै पूर्ति भएको थियो । आफ्ना महँगा उपकरण थन्क्याएर निजी कम्पनीसँग किन्दा यस्ता महामारीमा अक्सिजनको आवश्यकता थेग्न अस्पताललाई समस्या पर्न सक्छ ।

अस्पतालका कार्यकारी निर्देशक विधाननिधि पौडेल भने बिजुलीको बिल बढी उठेकाले प्लान्ट बन्द गरिएको दाबी गर्छन् । ‘अस्पताललाई आवश्यक पर्नेभन्दा ठूलो प्लान्ट भएकाले धेरै अक्सिजन उत्पादन हुने भयो । प्लान्ट सञ्चालन गर्दा बिजुलीको बिल पनि बढी उठ्यो,’ उनले भने, ‘हामीले हिसाब गरेर हेर्दा बिलुलीको बिल नै मासिक १० लाखजति आयो । त्योभन्दा निजीसँग अक्सिजन खरिद गर्दा फाइदा हुने देखिएपछि प्लान्ट बन्द गरेका हौँ ।’ 

तर, अस्पतालकै इन्जिनियरिङ तथा मेन्टेनेन्स विभागका अनुसार एक वर्षअघि तीन सय ५० सिलिन्डर क्षमताको प्लान्ट चलाउँदा मासिक ६ लाख र ६० सिलिन्डर क्षमताको प्लान्टको मासिक एक लाख गरी सात लाखको बिल उठेको थियो । तर, अस्पतालले भने मासिक बिजुलीमा सात लाख खर्चिनुको सट्टा निजी कम्पनीसँग १६ लाखसम्मको अक्सिजन किनेको छ भने करोडौँका प्लान्ट सडाएको छ । मेन्टेनेन्स विभाग प्रमुख अभिषेक प्रधान विद्युत् प्राधिकरणले अस्पतालहरूलाई बिजुलीमा २० प्रतिशत छुटसमेत दिँदै आएको बताउँछन् । 

आफूलाई आवश्यकभन्दा बढी अक्सिजन सिभिलले अन्य अस्पतालमा सप्लाई गर्न सक्थ्यो । आफ्नै अक्सिजन प्लान्ट नहुँदा कोभिड महामारीमा विभिन्न अस्पतालले अक्सिजनको व्यापक अभाव झेल्नुपरेको थियो । तर, महामारीको त्यो संकट बिर्सिएर सिभिल अस्पतालले अक्सिजनमा परनिर्भर बन्ने बाटो रोजेको छ । प्लान्ट व्यवस्थापनको सट्टा बन्द नै गरेर कबाडी बनाउने नीति अख्तियार गरेको छ । 

प्लान्टहरूमा खिया लाग्न थाल्यो, मर्मतका लागि ६ लाख माग

सिभिल अस्पतालले दैनिक ३ सय ५० सिलिन्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट (बायाँ) एक वर्षअघिदेखि र ६० सिलिन्डर क्षमताको अर्को प्लान्ट (दायाँ) दुई वर्षदेखि बन्द गरेको छ । प्रयोगविहीन बनेका प्लान्टहरूमा खिया लाग्न थालेको छ । अस्पतालको इन्जिनियरिङ तथा मेन्टेनेन्स विभागले प्लान्ट मर्मतका लागि खरिद शाखासँग ६ लाख मागेको छ । तर, प्रशासनले पैसा नदिँदा सर्भिसिङ हुन सकेको छैन । ‘६० सिलिन्डर उत्पादन क्षमताको प्लान्टमा खिया लागिसकेको छ । तीन सय ५० सिलिन्डर क्षमताको प्लान्ट पनि मर्मत नगरे पार्टपुर्जामा खिया लाग्न सक्छ,’ विभाग प्रमुख अभिषेक प्रधानले भने, ‘मर्मतका लागि खरिद शाखासँग ६ लाख मागिएको छ, तर दिने सुरसार छैन । करोडौँका प्लान्ट कबाडी बन्ने खतरा छ ।’ प्लान्ट सञ्चालनका लागि प्रधानको नेतृत्वमा विभागका ६ कर्मचारी थिए । तर, प्लान्ट बन्द भएपछि उनीहरूलाई अन्य इन्जिनियरिङ तथा मेन्टेनेन्स कार्यमा खटाइएको छ ।

अस्पताल भन्छ– बिजुलीको बिल मासिक १० लाख उठेपछि बन्द गरिएको हो, तर दुवै प्लान्ट पूर्ण क्षमतामा चल्दा पनि सात लाख मात्रै बिल उठेको थियो  : विधाननिधि पौडेल कार्यकारी निर्देशक सिभिल अस्पताल

सिभिल अस्पतालका कार्यकारी निर्देशक विधाननिधि पौडेलले बिजुलीको बिल बढी उठेकाले प्लान्ट बन्द गरिएको दाबी गरे । ‘अस्पताललाई आवश्यक पर्नेभन्दा ठूलो प्लान्ट भएकाले धेरै अक्सिजन उत्पादन हुने भयो । प्लान्ट सञ्चालन गर्दा बिजुलीको बिल पनि बढी उठ्यो,’ उनले भने, ‘हामीले हिसाब गरेर हेर्दा बिल नै मासिक १० लाखजति आयो । त्योभन्दा निजी कम्पनीसँग अक्सिजन खरिद गर्दा फाइदा हुने देखिएपछि प्लान्ट बन्द गरेका हौँ ।’ तर, अस्पतालकै इन्जिनियरिङ तथा मेन्टेनेन्स विभागका अनुसार एक वर्षअघि तीन सय ५० सिलिन्डर क्षमताको प्लान्ट पूर्ण क्षमतामा चलाउँदा मासिक ६ लाख र ६० सिलिन्डर क्षमताको प्लान्टको मासिक एक लाख गरी सात लाखको बिल उठेको थियो । अस्पतालले भने बिजुलीमा मासिक सात लाख खर्चिनुको सट्टा निजी कम्पनीसँग १६ लाखसम्मको अक्सिजन किनिरहेको छ भने करोडौँका प्लान्ट सडाउँदै छ । मेन्टेनेन्स विभाग प्रमुख अभिषेक प्रधान विद्युत् प्राधिकरणले अस्पतालहरूलाई बिजुलीमा २० प्रतिशत छुटसमेत दिँदै आएको बताउँछन् । 

आफ्नै प्लान्टबाट आवश्यकता धान्दै वीर र शिक्षण अस्पताल

सिभिल अस्पतालले बिजुलीको बिल बढी उठेको बहानामा प्लान्ट बन्द गर्दा वीर र शिक्षण अस्पतालले भने आफ्नै प्लान्टबाट अक्सिजनको आवश्यकता धान्दै आएका छन् । टिचिङमा दैनिक सय सिलिन्डर अक्सिजन खपत हुन्छ । ६ वर्षदेखि एक सय ५० सिलिन्डर क्षमताको प्लान्ट सञ्चालन गर्दै आएको टिचिङमा मासिक पाँच लाख बिजुलीको बिल उठ्छ । अस्पताल प्रशासनका अनुसार हाल उत्पादन गरिएको अक्सिजनले आन्तरिक आवश्यकता पूर्ति गरेको छ । यहाँ प्लान्टबाट अक्सिजन उत्पादन गरी सीधै पाइपलाइनमार्फत बेडसम्म सप्लाई हुन्छ । सिलिन्डर बोक्दै हिँड्नुपर्ने बाध्यता छैन ।

त्यस्तै, दैनिक ९० सिलिन्डर अक्सिजन खपत हुने वीरले पनि एक सय १० सिलिन्डर क्षमताको प्लान्ट सञ्चालन गर्दै आएको छ । यहाँबाट उत्पादित अक्सिजन नयाँ र पुरानो ब्लक तथा ट्रमा सेन्टरमा समेत सप्लाई हुन्छ । वीरका मेडिकल स्टोर प्रमुख टीकाराम पनेरूका अनुसार प्लान्ट चलाउँदा मासिक झन्डै ६ लाख बिल आउँछ । जसमा विद्युत् प्राधिकरणले २० प्रतिशत छुट दिन्छ । ‘अक्सिजन प्लान्टले धेरै विद्युत् खपत गर्छ भन्ने हुन्न, यसका लागि कच्चा पदार्थमा पनि सामान्य खर्च हुन्छ,’ उनले भने, ‘हामीले आफूलाई पुग्ने क्षमताको प्लान्ट चलाइराखेका छौँ ।’ उनका अनुसार अक्सिजन प्लान्ट सामान्यतया ६–६ महिनामा सर्भिसिङ गर्नुपर्छ । अन्यथा खिया लाग्ने र नचल्ने डर हुन्छ । 

ad
ad