१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १२:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेपालगन्ज भन्सारको यात्रु शाखा बन्द, राजस्व संकलन प्रभावित 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:५४:oo

नेपालगन्ज भन्सार कार्यालयले जमुनाह नाकाबाट यात्रु शाखा हटाएको छ। भारतीय बजारबाट किनमेल गरेर फर्किने यात्रुको सामानको भन्सार गर्न राखिएको यात्रु शाखा हटाएपछि राजस्व संकलनमा असर परेको छ। यात्रु शाखाले यसअघि यात्रुहरूले ल्याएको सामानको राजस्व लिएर दैनिक पाँच–सात लाख रुपैयाँ राजस्व संकलन गर्दै आएको थियो। 

यात्रु शाखा बन्द भएपछि सर्वसाधारणले खुलेआम सामान ल्याउन थालेको प्रत्यक्षदर्शीले बताए । पछिल्लो समय जमुनाह नाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली मात्र खटिने गरेका छन् । ‘यात्रु शाखा बन्द भएपछि सर्वसाधारणले निर्वाध रूपमा सामान लैजाने गरेका छन्,’ एक प्रत्यक्षदर्शीले भने। 

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख नरबहादुर थापाले यात्रु शाखाबाट भइरहेको काम जाँचपास शाखाबाट भइरहेको बताए । उनले यात्रु शाखाको औचित्य नदेखेपछि एक हप्ताअघि बन्द गरेको बताए। 

उनले सर्वसाधारणले ल्याउने एक–दुई बोरा चामल, चिनी, दाल, तेल रोकेर साध्य नहुने बताए । ‘एक–दुई बोरा चामल रोकेर साध्य लाग्दैन। धेरै ल्याउनेलाई जाँचपास शाखामा लगेर कारबाही गरिन्छ,’ उनले भने। तर, अर्को मुलुकबाट एक सय रुपैयाँ पर्ने सामानको समेत भन्सार बुझाउनुपर्ने भन्सार ऐनमा उल्लेख छ। 

उनले अवैध सामान ओसारपसार रोक्न यात्रु शाखाबाट हुँदै आएको काम बन्द गरेको जिकिर गरे । यात्रुभन्दा दैनिक सामान ओसारपसार गर्नेलाई रोक्नुपर्ने देखियो । यात्रु शाखा बन्द गर्नुको कारण अवैध सामान ओसारपसार नियन्त्रण गर्नका लागि हो,’ उनले भने। 

यात्रु शाखा बन्द गरेपछि राजस्व बढ्नुका साथै अवैध सामान ओसारपसार गर्ने क्रम घटेको सूचना अधिकारीसमेत रहेका भन्सार अधिकृत डिल्लुप्रसाद शर्माले दाबी गरे। उनले साइकल, मोटरसाइकल र रिक्सामा राखेर ल्याउने सर्वसाधारणका लागि केही खुकुलो गरे पनि अवैध ओसारपसारमा कडाइ गरिएको बताए। ‘अवैध सामान ओसारपसार गर्ने व्यक्तिको पहिचान गरी सामान जफत गर्ने र जरिवाना गरिएको छ,’ शर्माले भने। 

उनले यात्रु शाखाको काम बन्द गरिए पनि भन्सार कर्मचारीहरू चेकजाँचमा खटिएको बताए । ‘यात्रु शाखाबाट राजस्व संकलनको काम मात्र बन्द भएको छ । सामान चेकजाँचको काम यथावत् छ,’ उनले भने। 

जमुनाह नाकाबाट किनमेलका लागि दैनिक कम्तीमा तीन हजार सर्वसाधारण रुपैडिहा पुग्ने गरेका छन् । नेपालगन्ज र बाँकेका अन्य बजार सुनसान भइरहेका वेला रुपैडिहा बजार गुल्जार हुने गरेको छ। नेपाली ग्राहकले चलेको उक्त बजारमा दैनिक दैनिक एक करोडबराबरको सामान किनमेल हुने गरेको छ । ‘यो बजार नेपालीले चम्केको हो। नेपाली नआउने हो भने सुनसान हुन्छ,’ रुपैडिहाका एक व्यापारीले भने। 

कोरोनाका कारण जारी लकडाउनका वेला ग्राहक नपाउँदा त्यहाँको व्यापार व्यवसाय धराशायी बनेको थियो।     
 

ad
ad