Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका न्यूयोर्क
२०७९ चैत १७ शुक्रबार १२:३६:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपालको पर्यटन प्रवर्द्धनका लागि न्युयोर्कमा चर्चा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, न्यूयोर्क
२०७९ चैत १७ शुक्रबार १२:३६:००

नेपालमा पर्यटक भित्र्याउने पहलस्वरूप अमेरिकाको न्युयोर्कमा विशेष कार्यक्रम गरिएको छ। आफूलाई नेपालमा पुनः कल्पना गर्नुहोस् भन्ने नारासहित न्युयोर्कको म्यानहाटनमा बिहीबार नेपाली महावाणिज्य दूतावासले अन्तर्क्रिया कार्यक्रम गरेको हो। 

नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा दुई देशबीचको पारस्परिक सम्बन्ध, जनसम्पर्क, सदभाव र पर्यटनका विषयमा चर्चा गरिएको थियो। कार्यक्रमका वक्ताहरूले नेपालमा पर्यटनको सम्भावना र यसका चुनौतीहरूबारे धारणा राखेका थिए।

नेपालका विभिन्न पर्यटकीय क्षेत्रहरूबारे निर्माण गरिएको वृत्तचित्रबाट सुरु भएको कार्यक्रममा कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले नेपालको पर्यटन सम्भाव्यताबारे चर्चा गरेका थिए। गौतमले नेपाल पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएको भन्दै एकपटक नेपाल भ्रमणका लागि अमेरिकी जनतालाई आग्रह गरे।

त्यस्तै, प्यासिफिक एसिया ट्राभल एसोसिएसनका न्युयोर्क च्याप्टर अध्यक्ष जोबर्ट ओपुलेन्सियाले प्राकृतिक र सांस्कृतिक सम्पदा असाधारण, सुन्दर एवं नेपालीको मन निकै न्यानो भएकाले नेपाललाई आफ्नो मनपर्ने गन्तव्यमा सूचीकृत गर्न ट्राभल तथा टुर अपरेटरहरूलाई आग्रह गरे। 

त्यस्तै, युएस स्टेट डिपार्टमेन्ट अफिस अफ फरेन मिसनका न्युयोर्क क्षेत्रीय निर्देशक अलेक्ज्यान्डर के. हार्डिनले अमेरिका–नेपाल सम्बन्ध, बढ्दो सामुदायिक र दुई देशबीचको सांस्कृतिक सम्बन्धबारे चर्चा गर्दै नेपाललाई अमेरिकाले निरन्तर सहयोग गरिरहने आश्वासन दिए। 

न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालका राजदूत तथा स्थायी प्रतिनिधि अमृतबहादुर राईले मनोरञ्जन र साहसिक कार्यका साथै सांस्कृतिक, आध्यात्मिक शिक्षा एवं योगको माध्यमबाट व्यक्तिगत र व्यावसायिक विकासका लागि नेपाल अन्तर्राष्ट्रिय पर्यटन केन्द्र बन्न सक्ने सम्भावना रहेको बताए। 

मुख्य वक्ता भेनेसा ओब्रायनले नेपाल भ्रमणका क्रममा प्राप्त अनुभव एवं अविष्मरणीय सम्झना सुनाउँदै उचाइमा पुग्ने, चेतनाको माध्यमबाट साहस खोज्ने र मानवीय क्षमताका सीमाहरू खोज्नेहरूका लागि नेपाल नै अन्तिम गन्तव्य भएको बताइन्। 

त्यस्तै, लेखक तथा ट्रेकर डा. सेथ सिक्रोफले एडमन्ड हिलारी र तेन्जिङ नोर्गेद्वारा सगरमाथाको पहिलो सफल आरोहणबाट नै नेपालको चर्चा चुलिएको बताउँदै पर्यटनका लागि नेपाल उत्कृष्ट गन्तव्य भएको दाबी गरे। 

कार्यक्रममा एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष तथा सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष, अधिवक्ता खगेन्द्र जिसीले कला र संस्कृतिको प्रवर्द्धन एवं व्यक्ति–व्यक्तिबीचको सम्पर्कले नेपालको पर्यटनमा थप टेवा पुग्ने बताए। 

त्यस्तै, टर्किस एयरलाइन्सको न्युयोर्कस्थित क्षेत्रीय मार्केटिङ प्रबन्धक अल्प ओजामानले टर्किस एयरलाइन्सले अमेरिका र नेपाललाई प्रत्यक्ष जोडेर नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याइरहेको भन्दै नेपालको पर्यटन प्रवर्द्धनका लागि थप कदम चाल्न तयार रहेको बताए। 

प्यासिफिक एसिया ट्राभल एसाेसिएसनसँगको सहकार्य एवं क्षेत्री एन्ड एसाेसियट्स पिसीको सहयोगमा महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा महावाणिज्य दूतावासका अधिकारीहरू, पाटा–न्युयोर्क च्याप्टरका अधिकारीहरू, सञ्चारकर्मी, ट्राभल एन्ड टुर बिजनेस एक्जिक्युटिभहरूको उपस्थिति थियो।