१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o७:१४:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

६ दशक पुरानो भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्दै, प्रधानमन्त्री प्रचण्डले गरे शिलान्यास 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:१४:oo

भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने भएको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गरेका हुन् । अमेरिकी सहयोगमा मलेरिया नियन्त्रण कार्यक्रमअन्तर्गत २०१५ सालमा भरतपुर विमानस्थल  स्थापना भए पनि २०१८ बाट सञ्चालनमा आएको हो । निमार्णको ६४ वर्षपछि विमानस्थलको नयाँ टर्मिनल भवन निमार्णसँगै विस्तारको काम पनि हुने भएको छ ।

कस्तो बन्नेछ टर्मिनल भवन ?
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीका अनुसार १४ कट्ठा क्षेत्रफलमा निर्माण हुने टर्मिनलको भवन निर्माण क्षेत्र आठ हजार वर्गमिटरभन्दा बढी हुनेछ । दुईतले टर्मिनल भवनमा आठतले कन्ट्रोल टावर, तीनवटा लिफ्ट, तीनवटा स्क्यानर, वतानुकूलित प्रणाली, पार्किङ पहुँच सडकलगायतका संरचना बन्नेछ । जहाँ हजार यात्रुले एकैसाथ टर्मिनल भवनको उपभोग गर्न सक्नेछन् । निर्माण व्यवसायी केसी क्षमादेवी प्रतिष्ठा जेभीले एक अर्ब ९२ करोड ७० लाखमा तीन वर्षभित्र टर्मिनल भवन निर्माण सम्पन्न गर्ने जिम्मा लिएको छ । 

सेनाका ब्यारेक र घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेर विमानस्थल विस्तार  
सन् १९९४ मा एक हजार एक सय ५८ मिटरको धावनमार्ग बनाइएको भरतपुर विमानस्थलको कालोपत्रे भने सन् १९९८ मा एसियाली विकास बैंकको सहयोगमा भएको थियो । सन् १९८८ मा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने उद्देश्यले अध्ययन गरिएको भए पनि वातावरणीय र पर्यावरणीय दृष्टिकोणले क्षति हुन सक्ने भएपछि विमानस्थल विस्तारको काम अघि बढ्न सकेको थिएन । तर, अब २४सै घन्टा सञ्चालन हुने र एटिआर ७२ वा सोसरहका मझौला आकारका ७०–८० सिटका जहाज सञ्चालन हुने गरी स्तरोन्नति गरिने भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका अनुसार विमानस्थलनजिकै उत्तरतर्फ रहेका सेनाका ब्यारेक र घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेर विमानस्थलको विस्तार गर्न लागिएको हो । सरकारले विमानस्थल विस्तारका लागि नेपाली सेनाको ब्यारेकलाई भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित दियालो बंगलामा स्थानान्तरण गर्ने निर्णय गरिसकेको छ । मन्त्री किराँतीले भने, ‘हामीले यो विमानस्थललाई प्राथमिकताको योजनामा पार्न योजना आयोगमा पत्राचारसमेत गरिसकेका छौँ । घोडा प्रजनन केन्द्रलाई भरतपुर ११ गणेस्थाननजिक स्थानान्तरण गर्ने सैद्धान्तिक सहमतिसमेत भएको छ ।’  

५८ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग अहिले १२ सय मिटरको छ । विस्तारपछि धावनमार्ग १५ सय मिटरको हुनेछ । अहिले भरतपुर विमानस्थलमा ४२ सिट क्षमताभन्दा माथिको जहाजले उडान गर्न सक्दैन ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले आफ्नो प्रतिबद्धताअनुसार विमानस्थल विस्तारको काम पूरा हुने बताइन् । चितवन राष्ट्रिय निकुञ्ज, विभिन्न मेडिकल कलेज, क्यान्सर अस्पताल, कृषि तथा वनविज्ञान विश्वविद्यालय, सिटी हल, प्रदर्शनी केन्द्रजस्ता स्थल भएका कारण पनि विमानस्थल विस्तार आवश्यक थियो । उनले भनिन्, ‘पूर्व–पश्चिमको केन्द्र भाग र राजधानीबाट नजिक रहेकाले पनि भरतपुर विमानस्थललाई विस्तार गर्नैपर्ने अवस्था थियो ।’

बागमती प्रदेशको राजधानी रहेको छिमेकी जिल्ला मकवानपुर र नवलपुरमा समेत विमानस्थल नभएकाले ती जिल्लाबाट काठमाडौं आवतजावत गर्ने यात्रु यही विमानस्थल प्रयोग गर्ने गर्छन् । भरतपुर महानगरपालिकाभित्र दुईवटा विमानस्थल छन् । तर, मेघौली विमानस्थलमा भने नियमित उडान हुँदैन । केही दिनअघि मेघौली विमानस्थलको धामनमार्ग पिचसहित सेवा–सुविधा विस्तार गर्न टेन्डर अह्वान भएको छ । 

भारत भ्रमणमा एयर रुट समस्या हल गर्छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी देशको भ्रमणमा जाँदा एयर रुटसम्बन्धी समस्या समाधान गरेर आउने बताएका छन् । उनले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरे पनि सञ्चालनमा ल्याउन केही समस्या भएको छ, भारत भ्रमणमा जाँदा नेपालको एयर रुटसम्बन्धी विषय टुंग्याउनेछु ।’ बागमती प्रदेशकै लागि भरतपुर विमानस्थलको विस्तार गौरवको आयोजना भएको बताउँदै उनले भने, ‘चितवनको विकास क्रम हेर्दा धेरै विमानस्थलको पनि विस्तार हुनुपर्ने थियो, यद्यपि ढिलै भए पनि अब विमानस्थलले गति लिएको छ ।’ विमानस्थल निर्माणका लागि ५–६ वर्षयता धेरै बैठकहरू भएको उनले जानकारी दिए । विमानस्थलको विस्तारले राजनीतिक, सामाजिक, पर्यटन र अर्थतन्त्रलाई समेत टेवा पुर्‍याउने उनले बताए । 

ad
ad