Skip This
धनगढीकाे सडकमा लगाइएका बिरुवा चोरी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १६ बिहीबार
  • Saturday, 27 July, 2024
२o७९ चैत १६ बिहीबार १७:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनगढीकाे सडकमा लगाइएका बिरुवा चोरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १६ बिहीबार १७:o२:oo

वातावरणीय स्वच्छतासँगै नगरको सुन्दरताका लागि धनगढी–अत्तरिया ६ लेन सडकको ‘मिडियन’मा रोपिएका बिरुवा चोरी हुन थालेका छन्। रातको समयमा हुने चोरीबाट बिरुवा जोगाउन समस्या भएको उपमहानगरपालिकाले जनाएको छ।

बुधबार राति मात्र ६ लेनअन्तर्गत भन्सार रोड सडकमा लगाइएका सावटा बिरुवा चोरी भएको मेयर गोपाल हमालले बताए। बिरुवाहरू चोरी हुन थालेको भन्दै उनले चोरीमा संलग्नबारे जानकारी दिन नगरवासीलाई आग्रह गरेका छन्। बिरुवा हुर्काउने, बचाउने र संरक्षण गर्ने कार्यमा सहयोग गर्नसमेत मेयर हमालले नगरवासीलाई आग्रह गरेका छन्। 

बिरुवाको सुरक्षाका लागि मिडियनको दुवैतर्फ तारजाली लगाइएको छ। तर, रातको समयमा तारजाली नै नाघेर बिरुवा उखेलेर लाने गरेको पाइएको हो। केही दिनअघि मात्र १९ वटा बिरुवा चोरी भएका थिए। हालसम्म ३० वटाभन्दा बढी बिरुवा चोरी भएको उपमहानगरका वातावरण इन्जिनियर अशोक अवस्थीले बताए।

तारजाली लगाएकाले छाडा चौपायाबाट बिरुवा जोगाउन समस्या नभए पनि चोरिने क्रम बढेको उनले बताए। ‘गाईवस्तुभन्दा पनि मान्छेबाट बिरुवा जोगाउन समस्या भयो,’ अवस्थीले भने, ‘रातको समयमा बिरुवा उखेलेर लगिरहेका छन्।’ 

वातावरणीय स्वच्छता र नगरको सुन्दरताका लागि ६ लेन सडकको मिडियनमा विभिन्न जातका बिरुवा रोपेर उपमहानगरले नियमित पानी हाल्दै आएको छ। धनगढी उपमहानगरपालिकाको क्षेत्रभित्र ६ लेन सडकमा संघसंस्थासमेतको सहयोगमा विभिन्न प्रजातिका करिब तीन हजार बिरुवा रोपिएको छ। ती बिरुवामा पानी हाल्ने, गोडमेल गर्ने कार्यका लागि छुट्टै कर्मचारीसमेत खटाइएको इन्जिनियर अवस्थीले बताए।

नेपाल सरकारको करिब एक अर्ब ६३ करोडको लगानीमा धनगढीदेखि अत्तरियासम्म फुटपाथसमेत भएको करिब १४ किलोमिटर लामो छ लेन सडक निर्माण गरिएको छ। कालोपत्रेको काम पूरा भए पनि रेलिङ हाल्ने, ट्राफिक संकेतहरू राख्नेलगायत काम बाँकी रहेकाले निर्माण कम्पनीले सडक सरकारलाई हस्तान्तरण गरिसकेका छैनन्।