मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ चैत १५ बुधबार २३:१६:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मकवानपुर ११ लाई पन्छाउँदै हिमालयन शेर्पा उपाधिनजिक

जगदम्बा १३औँ जितपुर-सिमरा गोल्डकप

Read Time : < 1 मिनेट
२०७९ चैत १५ बुधबार २३:१६:००

हिमालयन शेर्पा क्लब सिमरामा जारी जगदम्बा १३औँ जितपुर–सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार सिमरा रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा मकवानपुर ११ हेटौँडालाई ३–० ले स्तब्ध पार्दै हिमालयनले फाइनलको यात्रा तय गरेको हो । 

जितपुर–सिमरा गोल्डकपमा हिमालयन शेर्पा तेस्रोपटक फाइनल पुगेको हो । तर, यसका लागि उसले एक दशकभन्दा लामो समय प्रतीक्षा गर्नुपर्यो । हिमालयनले ०६७ मा सम्पन्न प्रतियोगिताको दोस्रो संस्करणमा फाइनल खेल्दै उपाधि जितेको थियो । दुई वर्षपछि ०६९ मा पनि फाइनल खेलेको हिमालयन उपविजेतामै चित्त बुझाउनुपरेको थियो । 

आजको खेलमा हिमालयन शेर्पाले २९औँ मिनेटमा सुशील राईको गोलबाट अग्रता लिएको थियो । अव्योमीको पासमा सुशीलले पेनाल्टी एरियाबाट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । हिमालयन शेर्पाको जितमा म्यान अफ दि म्याच निशान लिम्बु नायक बने ।

खेलको ७४औँ मिनेटमा कप्तान विश्वास श्रेष्ठको ठाउँमा मैदान प्रवेश गरेका निशानले दुई गोल गरे । ८७औँ मिनटमा मिलन राईको पासलाई गोलमा परिणत गर्दै हिमालयन शेर्पाको अग्रता दोब्बर बनाएका निशानले अन्तिम समयमा पनि आकर्षक गोल गरे । क्वार्टरफाइनलमा भरतपुर फुटबल क्लबविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गरेको मकवानपुर ११ हिमालयन शेर्पासामु निरिह देखियो । 

बिहीबार साविक विजेता न्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाइटेडबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । शनिबार फाइनल उपराष्ट्रपति रामसहायप्रसाद यादवको उपस्थितिमा फाइनल खेल हुने आयोजक कमिटीका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।