मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ चैत १५ बुधबार ०९:४५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

६६ वर्षमा पनि बनेन कान्तिलोकपथ 

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ चैत १५ बुधबार ०९:४५:००

निर्माण पूरा हुन अझै तीन वर्ष लाग्ने अनुमान, पाँच किलोमिटरमा कामै भएन

०१३ सालमा तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले शिलान्यास (ट्रयाक खन्दै) गरेको ललितपुर र हेटौँडा जोड्ने छोटो सडकमार्ग कान्तिलोकपथ अझै पूरा भएको छैन । सरकारले प्राथमिकता नदिँदा र ठेकेदार कम्पनीको ढिलासुस्तीले यो सडक निर्माण ६६ वर्षदेखि निर्माणाधीन अवस्थामै रहेको हो । 

कान्तिलोकपथ सडक विस्तार आयोजनाका अनुसार हालसम्म ८७ किलोमिटर सडक निर्माण भइसकेको छ । पाँच किलोमिटर सडक बनाउनै बाँकी छ । आयोजनाका अनुसार ललितपुरतर्फ टीकाभैरव–भट्टेडाँडा साढे दुई किलोमिटर, छपेली–काल्चेभिरमा एक किलोमिटर खन्न बाँकी छ । यो खण्डमा पहिरो र कडा चट्टान भएका कारण निर्माण गर्न कठिन भएको हो ।

कान्तिलोकपथ आयोजना प्रमुख सुरेश आचार्य भन्छन्- पूरा गर्न अझै तीन वर्ष लाग्छ । त्यसका लागि थप ६६ करोड बजेट सहमतिका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरेका छौँ ।

यस्तै, मकवानपुरतर्फ लेनडाँडा, सिमातखोला क्षेत्र र बगुवा क्षेत्रमा दुई किलोमिटर सडक खन्न बाँकी छ । उक्त आयोजना सम्पन्न हुन तीन अर्ब ३१ करोड ७० लाख खर्च हुने अनुमान छ । हाल कान्तिलोकपथ विस्तारमा तीनवटा केठेदार कम्पनीमार्फत काम भइरहेको छ । बिरुवा एसएस सुनकोसी जेभी (०७३), सूर्य वाइबा जेभी (०७५) र नागार्जुन सर्वशक्ति जेभी (०७५) ले कालोपत्रे, वाल लगाउने र ढलानको काम गरिरहेका हुन् । आयोजना प्रमुख सुरेश आचार्यका अनुसार आयोजना निर्माणमा बजेट अपुग देखिएकाले माग गरिएको छ । ‘आयोजना पूरा गर्न अझै तीन वर्ष लाग्छ,’ उनले भने, ‘त्यसका लागि ६६ करोड बजेट सहमतिका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरेका छौँ ।’ मन्त्रालयले बजेटमा सहमति नदिएकाले तीन वर्षमा पनि काम सक्न कठिन हुने अवस्था रहेको उनले जानकारी दिए । 

अर्थ मन्त्रालयले बजेट सहमति दिए आयोजनाले थप ठेकेदार राख्ने जनाएको छ । उनका अनुसार पाँच किलोमिटरबाहेकका क्षेत्रमा कालोपत्रे र सम्याउने काम एकैपटक गरिएको छ । कान्तिलोकपथको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म लम्बाइ ९२ किलोमिटर छ । यसमध्ये बुद्धचोकदेखि–टीकाभैरवसम्म ७९ किमि सडक आयोजनाले निर्माण गर्ने हो । बाँकी खण्ड निर्माणको जिम्मा सडक डिभिजन कार्यालय ललितपुरको हो ।

टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्म डिभिजन कार्यालयले चौडा पार्ने काम पूरा गरिसकेको छ । त्यहाँदेखि सातदोबाटोसम्म भने निजी घरटहरा रहेका कारण चौडा पारिएको छैन । घरटहरा, बिजुलीका तार र सडकका अन्य अवरोध हटाउने कार्य ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाको हो । 

आयोजनाका अनुसार हालसम्म कान्तिलोकपथको भौतिकतर्फ ९० र आर्थिकतर्फ ८८ प्रतिशत प्रगति भएको छ । हालसम्म दुई अर्ब ७५ करोड रुपैयाँ खर्च भइसकेको छ । आयोजना सक्न थप ६६ करोड बजेट माग गरिएको छ । चालू आर्थिक वर्षमा सरकारले आयोजनाका लागि २० करोड बजेट विनियोजन गरेको थियो । त्यसमध्ये ११ करोड खर्च भइसकेको छ । असारसम्म बाँकी बजेट सकिने र त्यसपछिका लागि बजेट नपुग्ने भएकाले माग गरेको आयोजना प्रमुख आचार्यले जानकारी दिए ।

२५ वटा घर भत्काउन सूचना
कान्तिलोकपथमा पर्ने चापागाउँ टाहाखेल सडकनजिकका घर भत्काउन गोदावरी नगरपालिकाले सूचना जारी गरेको छ । सहरी क्षेत्रमा घर तथा अन्य संरचनाका कारण सडक निर्माणमा अवरोध भएको भन्दै भत्काउन नगरपालिकाले सूचना जारी गरेको हो । ती घरटहराको नगरपालिकाले मुआब्जा पनि दिइसकेको छ । प्याङगाउँमा ६ वटा र टाहाखेलमा १८ वटा घर भत्काउन बाँकी रहेको नगरपालिकाले जनाएको छ । घरधनीले मुआब्जा लिएर पनि खाली गर्न मानिरहेका छैनन् । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सडक चौडा पार्न र कालोपत्रे गर्न घरटहरा हटाउने कार्य अघि बढाइएको जानकारी दिए । 

०६५ देखि मात्रै चर्चामा
कान्तिलोकपथ अलपत्र पर्नुमा सरकारको बेवास्ता मुख्य कारण हो । सेनाले ०१३ मा ट्रयाक खोल्न सुरु गरेर ०१६ मा सकेको थियो । तर, त्यसपछि लोकपथ निर्माण सरकारको प्राथमिकतामा नै परेन । ०५९ मा आएर मात्रै लोकपथलाई हेटौँडा जोड्ने वैकल्पिक मार्गका रूपमा विकास गर्नुपर्ने बहस सुरु भयो । लगत्तै कोरियन सरकारको सहयोगमा सडकको डिपिआर तयार गरियो । तर, काम अघि बढेन । ०६५ मा लोकपथ निर्माण पुनः बहसमा आयो । ५.५ मिटर चौडाइ रहने भनिएको सडक ८.५ मिटर चौडा बनाउने तय गरियो, तर बजेट विनियोजन गरिएन । लोकपथलाई सरकारले प्राथमिकतामा राखेको आर्थिक वर्ष ०७०÷७१ बाट मात्रै हो ।