Skip This
नेपाललाई जित्नैपर्ने दबाबमा भुटान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १४ मंगलबार
  • Saturday, 27 July, 2024
नेपाली खेलाडी सोमबार प्रशिक्षणका क्रममा ।
रमेश सुवेदी काठमाडौं
२o७९ चैत १४ मंगलबार o६:२३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाललाई जित्नैपर्ने दबाबमा भुटान

भुटानलाई बराबरीमा रोक्दा पनि नेपाल प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा पुग्छ, तर भुटानलाई अन्तिम दुई स्थान रक्षा गर्न नेपाललाई हराउनैपर्ने हुन्छ

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १४ मंगलबार o६:२३:oo

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार आयोजक नेपाल र भुटानबीच दशरथ रंगशालामा प्रतिस्पर्धा हुँदै छ । नेपालले फाइनल स्थान पक्का गर्न भुटानलाई बराबरीमा रोक्दा नै काफी छ । भुटानले अन्तिम दुई स्थान सुरक्षित गर्न नेपाललाई हराउनैपर्ने समीकरण छ । नेपालले प्रतियोगिताको पहिलो खेलमा लाओसलाई २–० ले हराएको थियो । 

लाओसले आफ्नो अर्को खेलमा भुटानलाई अन्तिम समयमा २–१ ले निराश बनाएको थियो । शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । नेपालले एक खेलबाट तीन र दुई खेलबाट लाओसले तीन अंक बटुलेको छ । फिफा वरीयताको १८५औँ स्थानमा रहेको भुटानले लाओसविरुद्ध बल पकड राम्रो बनाएको थियो । तर, भुटान फिनिसिङमा चुक्दा लाओससँग पराजित भयो । जित्र्नैपर्ने भएकाले नेपालको तुलनामा भुटान दबाबमा देखिन्छ । भुटानले कम्तीमा नेपालविरुद्ध ३–० को जित निकाल्नुपर्ने हुन्छ । भुटानकोहार वा बराबर नतिजाले लाओस फाइनलमा पुग्नेछ । 

भुटानविरुद्ध सबै खेलमा विजयी
खेल तथ्यांकअनुसार नेपाल भुटानभन्दा बलियो छ । अहिलेसम्म भुटान र नेपालबीच १३ अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा नेपालले सबै खेलमा जित निकालेको छ । भुटानले नेपाललाई एकपटक पनि बराबरीमा रोक्न सकेको छैन । नेपाल र भुटानबीच अन्तिमपटक सन् २०१८ को साफ च्याम्पियनसिपमा भेट भएको थियो । जसमा नेपाल ४–० ले विजयी भएको थियो । पछिल्लो समय भुटानले घरेलु लिगसँगै अन्तर्राष्ट्रिय प्रदर्शनमा समेत सुधार गरेको छ । भुटान विपक्षीविरुद्ध केही हावी हुँदै आएको छ । भुटानले विपक्षीसँगको प्रतिस्पर्धामा गोलअन्तरसमेत कम गर्दै आएको छ । 

नेपाली खेलाडीबीच तालमेल अभाव
अधिकांश सिनियर खेलाडी अस्ट्रेलिया पलायन हुँदा नेपाली टोलीको खेलाडीबीच आपसी तालमेल अभाव देखिन्छ । लाओससँगको प्रतिस्पर्धामा खेलाडीले एकआपसमा राम्रोसँग पास उपलब्ध गराउन सकेका थिएनन् । नेपालको मिडफिल्ड राम्रोसँग चल्न सकेको थिएन ।

भुटानले भने लाओसँगको खेलमा सुन्दर फुटबल खेलेको थियो । यद्यपि, फिनिसिङमा भुटान कमजोर देखियो । सुजल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, तेज तामाङ, सुनील बल, दर्शन गुरुङ, विशाल राई, अभिषेक रिजाल, सुमन लामा र आशिष लामालगायत नियमित खेलाडी विदेश पलायनका कारण नेपाली टोली पुनर्निर्माणको संघारमा छ । नेपालका लागि इटालियन प्रशिक्षक भिसेन्जो अल्बर्टाे एनेसले लाओसविरुद्ध ‘प्लेइङ सेट’मा युवा रक्षक सनिस श्रेष्ठलाई डेब्यु गराएका थिए ।  

किरणविरुद्ध चेन्चो
नेपाली टोलीका कप्तान किरणकुमार लिम्बू र भुटानका कप्तान चेन्चो ग्लात्सेनबीचको प्रतिस्पर्धासमेत हो । व्यावसायिक फुटबलमा दुवै खेलाडी भारतीय पञ्जाब एफसीबाट खेल्ने गर्छन् । यस सिजन पञ्जाब आईलिग च्याम्पियन हुँदा दुवै खेलाडीको प्रदर्शन उत्कृष्ट रह्यो । पञ्जाब इन्डियन सुपर लिग (आइएसएल)मा बढुवा हुँदा किरण उत्कृष्ट गोलरक्षक भएका थिए । ‘हामी क्लबमा खेल्दा पनि निकै रमाइलो गर्छाैं । एकअर्कासँग राम्रो सम्बन्ध छ ।

राष्ट्रिय टोलीबाट खेल्दाका क्षण स्मरण गर्दै ठट्टा गर्छौं,’ किरणले भनेका छन् । अर्कोतिर, भुटानी कप्तान चेन्चोले पनि किरणसँगको सम्बन्ध राम्रो भएको जनाए । ‘राष्ट्रका लागि गोल गर्ने र रोक्ने विषयमा हामीबीच कुरा भइरहन्छ,’ चेन्चो भन्छन् । किरण नेपालका लागि सर्वाधिक क्याप जित्ने खेलाडी हुन् ।