मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
पूर्वसैनिकलाई सहयोग हस्तान्तरण गर्दै प्रधानसेनापति प्रभुराम शर्मा
२०७९ चैत १० शुक्रबार ०७:५५:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नेपाली सेनाको विषयमा नचाहिँदो प्रचार भयो : प्रधानसेनापति

Read Time : > 1 मिनेट
२०७९ चैत १० शुक्रबार ०७:५५:००

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको संख्यासँगै अन्य विषयलाई लिएर नचाहिँदो प्रचार भइरहेको बताएका छन् । नेपाली सेना जंगी अड्डाको व्यवस्थापन र सैनिक कल्याणकारी बोर्डको संयोजनमा पश्चिम पृतना पोखरामा बिहीबार भएको ‘सैनिक सम्मेलन २०७९’ मा उनले त्यस्तो धारणा राखेका हुन् ।

सेनाको आकारका विषयलाई लिएर बाहिरका व्यक्तिहरूले हस्तक्षेप गर्न खोजेको भन्दै उनले कसको इसारामा सेनाका विषयमा नचाहिँदो कुराहरू भइरहेको छ भन्दै प्रश्नसमेत गरेका थिए । ‘समय–समयमा कसको इसाराबाट हो, बाहिरी व्यक्तिहरूबाट नेपाली सेनाको संख्याको यति हुनुपर्छ, उति हुनुपर्छ र यस्तो साइजको हुनुपर्छ भन्ने, सँगै अन्य नचाहिँदो किसिमका कुरा हुने गरेको छ,’ उनले भने, ‘आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के–कति चाहिन्छ भन्ने कुरा नेपाल सरकारले निर्धारण गर्दछ । कुनै आइएनजिओ–एनजिओमा बसेर आफैँ स्वघोषित प्राज्ञ, स्वघोषित विज्ञ, सुरक्षाविज्ञ भन्नेहरूले गर्ने होइन ।’ संविधानले दिएको भूमिकाअनुसार आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको सेनाको विषयमा समय–समयमा दुष्प्रचार र अनर्गल प्रचार हुने गरेको भन्दै शर्माले गुनासो गरे ।

सेनापति शर्माले हाल कल्याणकारी कोषमा ७३ अर्ब १३ करोड ३७ लाख रहेको जानकारी दिँदै सो रकमको ब्याजबाट विभिन्न काम गर्दै आएको र ब्याजबाट आएको रकममध्ये धेरै खर्च शिक्षा, स्वास्थ्य र स्वरोजगार बनाउने काममा खर्च गरिएको दाबी गरे । कोषको रकम पारदर्शी रूपमा सदुपयोग होस् भन्नेमा आफू सधैँ सतर्क र सजग भएर लागेको बताए । सम्मेलनमा कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, मनाङ र मुस्ताङका गरी तीन हजार आठ सय ९४ पूर्वसैनिक सहभागी थिए ।

शान्ति सेनामा गएर सेनाले वर्षको २२ देखि २४ करोड अमेरिकी डलर भित्र्याउने गरेको जानकारी दिँदै वायुसेवा निगमलाई रोटेसनमा प्रयोग गरी वार्षिक दुईदेखि तीन अर्ब नेपाल भित्र्याउँदै आएको जानकारी दिए । सेनाको मेडिकल कलेज यसअघि नै सञ्चालन गर्दै आएकोमा चालू वर्षदेखि इन्जिनियरिङ कलेजसमेत सञ्चालन गर्न लागेको बताए । सेनाले सात प्रदेशमा अस्पताल खोल्ने योजनाअनुसार यस वर्ष बुटवलमा सैनिक अस्पताल निर्माणको काम सुरु गरेको उल्लेख गरे ।