मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गगन अयडी बाजुरा
२०७९ चैत ९ बिहीबार १६:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फोहोर व्यवस्थापनमा बडिमालिकाको हेलचेक्य्राइँ, बजारभरिका फोहोर सडकछेउमा

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
२०७९ चैत ९ बिहीबार १६:५२:००

बाजुराको बडिमालिका नगरपालिकाले जिल्ला सदरमुकामछेउमै खुलारूपमा फोहोर विसर्जन गर्दै आएको छ । केही वर्षयता नगरपालिकाले सदरमुकाम मार्तडीसहित नगरपालिकाभित्रका बजारको फोहोर संकलन गरी खुला स्थानहरूमा विसर्जन गर्दै आए पनि अन्य सरोकारवाला निकायले कुनै चासो दिएका छैनन् । 

०७५ सालदेखि बडिमालिका नगरपालिकाले बजार क्षेत्रका फोहोर संकलन गरी मार्तडीको थुवाकाधमा फाल्दै आएको छ । नगरपालिकाले साफेँ–मार्तडी–कोल्टी सडक आसपासका क्षेत्रमा अव्यवस्थित रूपमा फोहोर फाल्दा सवारी र पैदल यात्रुलाई समेत असर पर्ने गरेको छ ।

फोहोर विसर्जन गर्दा उत्पन्न हुने धुँवा, धुलो र आगो सडकमा समेत आउने भएकाले सवारी आवागमन अवरुद्ध हुने गरेको जिपचालक उन्त चौधरीले बताए । फोहोर विसर्जन गर्ने थुवाकाधको आसपासमा सेलाघाट, चौराटा, वीरेखोला, पिनालेखलगायत गाउँ छन् । त्यसको करिब ५० मिटर तल बुढीगंगा नदी छ । फोहोर जलाएको धुलो र रसानीले बुढीगंगा नदीसमेत दूषित भएको स्थानीय हरिचन्द्र थापाले बताए ।

सदरमुकामजस्तो व्यस्त र संवेदनशील स्थानमा अव्यवस्थित रूपमा फोहोर विसर्जन गर्दा नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भएकाले नगरपालिका गम्भीर हुनुपर्ने स्थानीयहरूको भनाइ छ । यस्ता फोहोरले वायुमण्डल, जलवायु परिवर्तन, वन्यजन्तुको वासस्थान, माटोको ह्रासलगायतका अन्य पर्यावरणीय असर देखिने सुदूरपश्चिम प्रदेशको वन तथा वातावरण मन्त्रालय डिभिजन वन कार्यालय बाजुराका अधिकृत सुवासचन्द अयडीले बताए । जिल्ला सदरमुकाम मार्तडीमा नाै हजारभन्दा बढी जनसंख्या रहेको छ।

बडिमालिका नगरपालिकाका स्वास्थ्य संयोजक टेकबहादुर खड्का पनि खुला स्थानमा अव्यवस्थित रूपमा फोहोर फाल्नु गैरजिम्मेवारीपूर्ण रहेको बताउँछन् । यद्यपि, बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विक भने यसअघिका जनप्रतिनिधिको निर्णयअनुसार त्यही ठाउँमा निरन्तर फोहोर फालिएको बताउँछन् । उनले भने, ‘छिटै अन्यत्र व्यवस्थापन गर्ने तयारी छ । रजाली, चुथीलगयतका केही उपयुक्ता स्थान हेरिरहेका छौँ ।’