राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले प्रहरीले केही युवाको मुख थुनेर बोल्न नदिएको विषयमा सरकारसँग जवाफ माग गरेकी छिन् ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीनजनाले बानेश्वरमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । सो क्रममा प्रहरीले उनीहरूको मुख थुनेर पक्राउ गरेको थियो । सोही विषयमा बुधबार एमाले सांसद पौड्यालले संसदमा सरकारसँग जवाफ माग गरेकी हुन् ।
‘संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने, बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको छ । प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन ? यसो गर्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ कि छैन ? यो विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु र जवाफ माग गर्दछु,’ उनले भनिन् ।