मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ७ मंगलबार ०९:४१:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

रक्तचाप र मधुमेहपीडित ज्येष्ठ नागरिकलाई घरमै औषधि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ७ मंगलबार ०९:४१:००

काठमाडौं महानगरपालिकाले उच्च रक्तचाप र मधुमेहपीडित ज्येष्ठ नागरिकलाई घरमै पुगेर औषधि उपलब्ध गराउने भएको छ । यसका लागि ज्येष्ठ नागरिकहरूको अभिलेख संकलन सुरु भएको छ । 

यही क्रममा काठमाडौं वडा नम्बर ५ मा बस्दै आएका ६८ वर्षमाथिका ६ सय ३० जनामध्ये तीन सय ३४ जनाले मधुमेह र उच्च रक्तचापको औषधि नियमित रूपमा सेवन गरिरहेको पाइएको छ । महानगरको स्वास्थ्य विभागले वडा नम्बर ५ मा १४ देखि १६ फागुनसम्म एक हजार ६ सय ६८ परिवारको तथ्यांक संकलन गरेको हो ।

विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार सबै वडामा बस्ने ज्येष्ठ नागरिकलाई रक्तचाप र मधुमेहको औषधि नि:शुल्क उपलब्ध गराउने अभियानस्वरूप स्वास्थ्य परीक्षण र शिविर सञ्चालन गर्ने काम भइरहेको छ । पौडेलले भने, ‘तथ्यांकबाट योजना बनाउन सजिलो हुन्छ । योजनाबद्ध कामले लक्ष्य हासिल गर्न सहज बनाउँछ ।’ 

औषधि सेवन गरिरहेका बिरामीहरूले कुन–कुन औषधि सेवन गर्नुहुन्छ ? अहिले कस्तो छ ? भन्नेबारे जानकारी लिन आइतबारबाट तीनदिने ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षणसमेत सुरु गरेको छ । शिविरमा गंगालाल हृदय केन्द्रका कार्डियोलोजिस्ट डा. संजिता अन्सारीसहित विशेषज्ञ चिकित्सक स्वास्थ्य परीक्षणमा खटिएकी छिन् । यस्तै, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुनीता शर्मा, महानगरका मेडिकल अफिसर प्रशान्त भट्टलगायत स्वास्थ्यकर्मी सहभागी छन् ।

शिविरबाट प्राप्त सूचनाका आधारमा औषधि उपलब्ध गराउने महानगरको योजना छ । वडा ५ का अध्यक्ष वीरेन्द्र प्रजापति भन्छन्, ‘स्वास्थ्य उपचारलाई सरल, सहज र पहुँचयुक्त बनाउन सकियो भने नागरिकलाई ठूलो राहत हुन्छ । यसका लागि काम भइरहेको छ ।’ वडा ५ बाट थालिएको कार्यक्रम अन्य वडामा विस्तार गर्दै लैजाने योजना छ । 

रक्तचाप तथा मधुमेह परीक्षण र औषधि वितरण कार्यक्रमका संयोजक ल्याब टेक्निसियन अफिसर राधिका कुइँकेल अभिलेखको प्रयोजनबारे भन्छिन्, ‘शिविरबाट प्राप्त तथ्यांकले स्वास्थ्य नीति तथा कार्यक्रम बनाउन सहयोग गर्नेछ ।’