
नेपाल भ्रमणमा रहेका बेलायती लेबर पार्टीका नेता एवं सांसद वीरेन्द्र शर्माले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनासँग शिष्टाचार भेट गरेका छन्।
भेटहरूमा नेपाल बेलायत सम्बन्ध, गोर्खा सैनिकको पेन्सन समस्याका बारेमा पहललगायतका विषयमा छलफल भएको छ। नेपालको औपचारिक भ्रमणमा आएको बेलायती प्रतिनिधिमण्डलका सदस्य शर्मा केही दिन निजी भ्रमणका क्रममा रहँदा भेटवार्ता गरेका हुन्।
शर्माले सोमबारै सभामुख देवराज घिमिरे र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेटवार्ता गरेका छन्। उनले केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधान सेनापति प्रभुराम शर्मासँग पनि भेटवार्ता गरेका थिए।
राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले बेलायतले नेपालको विकासका लागि गरेको सहयोगको प्रशंसा गरेका थिए। उनले बेलायती संसद्का सभामुखलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइसकेको विषयमा पनि स्मरण गराएका थिए।
नेपाल र बेलायतबीच शान्ति तथा मैत्री सन्धि भएको १०० वर्षको अवसरमा आयोजना गरिने औपचारिक कार्यक्रममा बेलायती संसद्को सभामुखलाई प्रमुख अतिथिको रूपमा नेपालमा स्वागत गर्न चाहेको अध्यक्ष तिमल्सिनाको भनाइ थियो।
बेलायतलगायत युरोपेली आकाशमा नेपाल वायुसेवाको उडान प्रतिबन्ध फुकुवाको पहल गर्न तथा नेपाल–बेलायत सीधा हवाई उडानको व्यवस्थाका लागिसमेत अध्यक्ष तिमल्सिनाले सांसद शर्माको ध्यनाकर्षण गराएका थिए। ब्रिटिस गोर्खाका सवाल, पर्यटन प्रवर्द्धन, पूर्वाधारमा लगानी, सीप विकास, नेपाली विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्थालगायतका विषयमा निरन्तर सहयोग पनि अध्यक्ष तिमल्सिनाले अपेक्षा गरेको उनको सचिवालयले जनाएको छ।
उच्चस्तरीय भेटवार्ता सकेर शर्मा मंगलबार साँझ स्वदेश फर्केका छन्। ‘सबैसँग मेरो अत्यन्त हार्दिकतापूर्ण कुराकानी भयो। नेपाल बेलायत सम्बन्धका विभिन्न पक्षबारे उपलब्धिपूर्ण छलफल भयो,’ शर्माले भने।