१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल तस्बिर ।
रासस नेपालगञ्ज
२०७९ चैत ३ शुक्रबार १५:२८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँकेमा डढेलो नियन्त्रणका लागि ‘दस्ता’ निर्माण गरिने

Read Time : > 1 मिनेट
रासस, नेपालगञ्ज
२०७९ चैत ३ शुक्रबार १५:२८:००

बाँकेका विभिन्न वनमा जथाभावी हुने डढेलो नियन्त्रणका लागि विभिन्न ठाउँमा वन डढेलो ‘दस्ता’ निर्माण गरिने भएको छ । कुनै कारणवश डढेलो लागेपछि त्यसलाई नियन्त्रण गर्न स्थानीय समुदाय र सरकारी निकाय एकैपटक खट्ने प्रबन्धका लागि सो दस्ताले काम गर्ने जिल्ला वन कार्यालयले जनाएको छ ।

उनीहरूलाई डढेलो नियन्त्रण गर्न विभिन्न तालिम दिएर सक्षम बनाइने वन कार्यालयका सहायक वन अधिकृत गणेशबहादुर खड्काले जानकारी दिए । उनले वन डढेलो लाग्न नदिन प्रचारप्रसारलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै सामुदायिक वनका उपभोक्ता, स्थानीय बासिन्दा, वन रक्षक, प्रहरीलगायत सरोकारवाला निकायको सहभागितामा जनचेतामूलक कार्यक्रम सञ्चालन हुने बताए ।

‘डढेलोका कारण वन्यजन्तुको वासस्थानदेखि काठ दाउरा, जैविक प्रणालीमा नै ठूलो क्षति हुने गरेको छ,’ उनले भने । उनले डढेलो नियन्त्रणका लागि डढेलो नियन्त्रण सञ्जालसमेत गठन हुने जानकारी दिँदै त्यसबाट सामुदायिक वन भएका गाउँमा डढेलो लाग्न नदिन प्रचारप्रसारका काम हुने बताए । 

खड्काले डढेलो नियन्त्रण तथा न्यूनीकरणका लागि जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समूहको ठूलो योगदान हुने उल्लेख गर्दै उपभोक्ता समितिको क्षेत्राधिकारभित्र कार्यक्रम बनाउने र कार्यक्रम लागू गर्न वन कार्यालयले सहयोग गर्ने जनाए । 

सो सञ्जालमा स्थानीय उपभोक्ता समिति, वनकर्मीलगायत सरोकार भएका निकाय रहनेछन् । आगलागी बढी हुने क्षेत्रमा गठन हुने उक्त सञ्जालले डढेलो लाग्न नदिन विभिन्न क्रियाकलाप सञ्चालन गर्ने र डढेलो लागेको अवस्थामा सबैको सहभागितामा नियन्त्रणमा ल्याउने प्रयास गर्नेछ । 

बाँकेमा गठन भएका प्रत्येक सञ्जालले आठदेखि १० सेटसम्म ‘फायर फाइटिङ’ उपकरणसमेत प्रयोगमा ल्याउने बताइएको छ । डढेलो लागेपछि फिल्डमा खट्नेका लागि विभिन्न पोसाकको समेत प्रबन्ध गरिएको छ । हरेक वर्ष चैत पहिलो हप्तालाई वन डढेलो नियन्त्रण सप्ताहका रूपमा मनाउँदै आएको जिल्ला वन कार्यालयले शून्य वन डढेलो अभियानलाई केन्द्रित गरेर सर्तकता अपनाएको छ ।

जिल्लाको राप्ती–सोनारीको पूर्वी क्षेत्र बिनौना, फत्तेपुर, चुरे क्षेत्र, नरैनापुर, डुडुवालगायतका वनमा धेरै डढेलो लाग्ने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । लुम्बिनी प्रदेश सरकारको वन डढेलो नियन्त्रण कार्यक्रम बाँकेबाट सुरु गरिएको छ ।