१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o८:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

भोजमै जातीय छुवाछुत प्रकरण : गाउँपालिका अध्यक्ष यादवसँग मानव अधिकार र दलित आयोगको सोधपुछ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:१७:oo

राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय दलित आयोगले भोजमै जातीय छुवाछुत गर्ने सिराहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवसँग सोधपुछ गरेको छ । एमाले सिराहाका सचिवसमेत रहेका यादवले आफ्नी दिवंगत आमाको १३औँ दिनको पुण्यतिथिको भोजमा छुवाछुत गरेको घटना सार्वजनिक भएपछि दुवै आयोग इनर्वा परौलस्थित उनको घरमा पुगेका हुन् ।

मानव अधिकार आयोगको जनकपुरस्थित मधेस प्रदेश कार्यालय प्रमुख मञ्जु खतिवडा, मानव अधिकार अधिकृत रेखा दत्तसहितको टोलीले भोजमा जातीय क्लस्टरअनुसार प्लेकार्ड, ब्यानर राखी छुवाछुत गरिएको विषयमा अध्यक्ष यादव, स्थानीय दलित समुदायका महिला, पुरुष तथा अन्य सरोकारवाला पक्षसँग भेटेर कुराकानी गरेको हो ।

आयोगकी प्रमुख खतिवडाले भोजमा सामेल दलित समुदायका महिला, पुरुष, गाउँपालिका अध्यक्षसँग गरिएको कुराकानी, स्थलगत तथ्य संकलन, भोजस्थल तथा घटनाक्रमको विश्लेषण गरी अनुसन्धानको अन्तिम किनारा लागेपछि प्रतिवेदन सार्वजनिक गरिने बताइन् । ‘जातीय छुवाछुतजस्तो गम्भीर सामाजिक अपराधको विषयमा आयोग चुप लागेर बसेको छैन,’ उनले भनिन्, ‘गत २९ फागुनमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसँग सोधपुछ र जिल्लाका दलित अधिकारकर्मीसँग कुराकानी गर्‍यौँ ।’ त्यसपछि बिहीबार गाउँमै पुगेर गाउँपालिका अध्यक्ष तथा भोजमा सामेल दलित तथा अन्य सरोकारवालासँग कुराकानी गरिएको उनले बताइन् । 

राष्ट्रिय दलित आयोगको दुई सदस्यीय टोली बिहीबार स्थलगत अनुगमनमा पुगेको हो । आयोगका सदस्य टुन्जे बराइली र शाखा अधिकृत रमेश विश्वकर्मा सुनारसहितको टोलीले बिहीबार गाउँपालिका अध्यक्षको परौलस्थित घरमै पुगेर भोजमा प्लेकार्ड राखेर जातीय छुवाछुत गरेको घटनाको विषयमा सोधपुछ गरेको हो । गाउँपालिका अध्यक्षसँग कुराकानीपछि जिल्लाका अन्य सरोकारवालासँग पनि कुराकानी गरी तथ्य संकलन र छानबिन गरिने शाखा अधिकृत सुनारले बताए । 

जिल्लाको छानबिन अन्तिम चणमा 
प्लेकार्ड र ब्यानर नै राखेर जातीय छुवाछुत गरिएको भन्दै संलग्न दोषीलाई कारबाही गर्न चौतर्फी माग उठ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिराहाले २९ फागुनमा गठन गरेको तीनसदस्यीय छानबिन समितिले स्थलगत अनुगमन, गाउँपालिका अध्यक्ष, स्थानीय दलित र सरोकारवालासँग कुराकानी गरी तथ्य संकलन गरिएको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जानकारी दिए । 

जिल्ला प्रशासन, जिल्ला प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधि सम्मिलित छानबिन समितिलाई दिइएको अन्तिम समयसीमाभित्र तथ्य संकलन नसकिएकाले एक–दुई दिनभित्र तथ्य संकलन सिध्याएर प्रतिवेदन प्राप्त भएपछि थप अगाडि बढ्ने उनको भनाइ छ । ‘छानबिनको अन्तिम चरणको काम हुँदै छ, त्यसपछि प्रतिवेदन आएलगत्तै थप प्रक्रिया अगाडि बढ्छ,’ उनले भने । 

मृत्यु संस्कारको भोजमा जातीय छुवाछुत गरिएको घटनाको विषयमा नयाँ पत्रिकामा २५ फागुनमा ‘गाउँपालिका अध्यक्षले नै गरे जातीय विभेद’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । त्यसपछि राष्ट्रिय दलित आयोग, संयुक्त राजनीतिक दलित संघर्ष समिति, दलित संघ–संस्थाले घटनामा संलग्न दोषीलाई कारबाहीको मागसहित चौतर्फी आलोचना र दबाब दिएपछि अध्यक्ष यादवले २७ फागुनमा सार्वजनिक रूपमा आत्मालोचनासहित माफी मागेका थिए । उनले भोजको व्यवस्थापनका क्रममा जातीय प्रमुखबाट अञ्जानमा कुनै वर्ग, धर्म, सम्प्रदाय र जातलाई आत्मसम्मानमा चोट पुग्ने किसिमको वा जातीय विभेदलाई संकेत गर्ने कार्य भएको स्विकार्दै क्षमायाचना र आत्मालोचनासहित माफी मागेका थिए । 

ad
ad