मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २ बिहीबार
  • Sunday, 08 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २ बिहीबार ११:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुदूरपश्चिममा पुनः कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २ बिहीबार ११:२o:oo

सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण पुनः देखिन थालेको छ। कोरोना भाइरसको संक्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकामा पछिल्ला केही दिनमा संक्रमण देखिन थालेको छ। 

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घन्टामा ६ जनामा कोरोनाको संक्रमण देखिएको जनाएको छ। 

यो तथ्यांकमा केही दिनअघिका कोरोना संक्रमितको संख्यासमेत समेटिएको निर्देशनालयले जनाएको छ। पछिल्लो २४ घन्टमा तीन सय ९१ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएको थियो।

कोरोनाको संक्रमण दर केही बढे पनि रोगले हुने मृत्युदर भने शून्य छ। निर्देशनालयका कोभिड सम्पर्क व्यक्ति हेमराज जोशीले रोगको रोकथामका लागि सबै जिल्लामा कोरोना भाइरसविरुद्धको बुस्टर डोज (खोपको मात्रा) स्वास्थ्य संस्थामार्फत लगाउन थालिएको जानकारी दिए। 

सरकारले कोभिड– १९ विरुद्धको पूर्ण मात्राको खोप लगाएको तीन महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेका व्यक्तिलाई पहिलो मात्रा बुस्टर खोप र यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई दोस्रो बुस्टर मात्रा खोप दिन लागेको छ।
  
स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ५५ वर्षमाथिका सबै नागरिकलाई बुस्टर खोप लगाउन मिल्ने बताइएको छ। कोरोनाको संक्रमण भएकाले संक्रमणमुक्त भएको एक महिनापछि यो बुस्टर डोज लगाउन पाइन्छ।  

कोरोना भाइरसको समस्या देखिएयता हालसम्म सुदूरपश्चिममा ६ लाख ३९ हजार चार सय ८८ को नमुना परीक्षण भइसकेको छ। यीमध्ये ६१ हजार आठ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। रासस