काठमाडौं महानगरपालिकाले यस वर्षदेखि सेतो मत्स्येन्द्रनाथको रथ पर्यटकलाई पनि तान्न दिने तयारी गरेको छ । महानगरको आइतबार सम्पन्न बैठकमा यसबारे छलफल भएको र तयारीबारे पनि छलफल भएको जनाइएको छ ।महानगरका मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौंका जात्रा–पर्वलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न विदेशी पर्यटकलाई पनि सेतो मत्स्येन्द्रनाथको रथ तान्न दिन सकिने बताए ।
यसअघि स्थानीय समुदाय र गुठीसँग छलफल गरिने उनको भनाइ छ । ‘यो विषय स्थानीय र समुदायको भावनासँग जोडिएको संवेदनशील विषय हो । प्रतिकूल नहुने गरी पर्यटक सहभागी गराउन सके प्रवर्द्धनमा टेवा पुग्छ,’ उनले भने । बैठकमा सहभागी प्रदेश सभा सदस्य शैलेश बज्राचार्यले सम्पदासँग सांस्कृतिक चालचलन चलाउने मान्छेलाई जोगाउनुपर्ने अवस्था आएको बताए । बुधबारदेखि रथ यात्रा सुरु हुँदै छ ।
हरेक वर्ष चैत शुक्ल अष्टमीका दिनबाट यो रथ यात्रा सुरु गरिन्छ । काठमाडौंंको जमलबाट सुरु भएर चैत शुक्ल पूर्णिमाका दिन जनबहालमा सम्पन्न हुन्छ । सेतो मत्स्येन्द्रनाथलाई उपत्यकावासीले वर्षा र सहकालका देवताका रूपमा पूजा गर्छन् । अनिष्ट हटाउने, अकाल मृत्युबाट बचाउने तथा अशान्ति र असुरक्षाबाट बचाउने देवताका रूपमा समेत मत्स्येन्द्रनाथको पूजा–आराधना गर्ने चलन छ ।