मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २९ सोमबार
  • Sunday, 22 December, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o७९ फाल्गुण २९ सोमबार o६:३६:oo
Read Time : > 7 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राजनीतिमा फर्केलिन् राष्ट्रपति भण्डारी ?

सात वर्ष राष्ट्राध्यक्षको जिम्मेवारी निर्वाह गरेर आज बिदा हुन लागेकी भण्डारीले सरकारी सुविधा नलिने घोषणा गरेर राजनीतिमा फर्किने संकेत गरिसकेकी छिन्, तर अन्तिम निक्र्योल भने अध्यक्ष ओलीसँगको परामर्श र एमालेको आन्तरिक शक्तिसन्तुलनले तय गर्ने निकटहरूको भनाइ

Read Time : > 7 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २९ सोमबार o६:३६:oo

कार्यकाल पूरा गरेर सोमबार बिदाइको तयारीमा रहेकी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति विद्या भण्डारीले अवकाशपछि राजनीतिमा फर्किने विकल्प खुला राख्ने भएकी छिन् । भविष्यमा राजनीतिमा फर्किने–नफर्किने निर्णय भने अध्यक्ष केपी ओलीसँग आगामी दिनमा हुँदै जाने परामर्श र एमालेभित्रको आन्तरिक राजनीतिक शक्तिसन्तुलन एवं परिस्थितिले तय गर्ने राष्ट्रपतिनिकटहरूको भनाइ छ । 

राज्यबाट पूर्वराष्ट्रपतिलाई दिइने कुनै पनि सेवासुविधा नलिने निर्र्णय गरेर बिदाइको तयारीमा रहेकी ६० वर्षीया राष्ट्रपति भण्डारीले राजनीतिमा फर्किन विकल्प सहज बनाइसकेकी छिन् । उनले सञ्चारमाध्यमका प्रतिनिधिहरूसँगको पछिल्ला भेटघाटमा आवश्यकताले सबै निर्धारण गर्ने बताएर त्यसको जनाउ पनि दिएकी छिन् ।

तत्कालीन एमालेकी उपाध्यक्ष भण्डारीले दुईपटक राष्ट्रपति निर्वाचित भएर सात वर्ष राष्ट्राध्यक्षको जिम्मेवारी सम्हालिन् । प्रथम राष्ट्रपति डा. रामवरण यादव भने अवकाशपछि सक्रिय राजनीतिमा छैनन् । ३ असोज ०७२ मा संविधान जारी भएपछि ११ कात्तिकमा नेपालको पहिलो महिला राष्ट्रपति निर्वाचित भण्डारीले पहिलो  कार्यकाल करिब दुई वर्ष चार महिना व्यतीत गरेकी थिइन् । ०७४ को निर्वाचनपछि वाम गठबन्धनका तर्फबाट एमालेले उनलाई नै दोस्रो कार्यकालका लागि अघि सार्‍यो । २९ फागुन ०७४ मा दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित उनी २८ फागुन ०७९ मा पाँचवर्षे कार्यकाल पूरा गर्दै छिन् । 

उनका राजनीतिक सल्लाहकार लालबाबुप्रसाद यादवले अवकाशपछि राष्ट्रपति भण्डारीले राज्यबाट पाइने सेवा–सुविधा नलिने निर्णय गरिसकेकाले समय र परिस्थितिअनुसार कुनै पनि वेला राजनीतिमा फर्किने निर्णय गर्न सक्ने संकेत गरे । ‘अवकाशपछि उहाँले राज्यको कुनै पनि सेवासुविधा लिन्न भनिसक्नुभएको छ, २८ फागुनबाट अवकाश पाएपछि उहाँ स्वतन्त्र नागरिकको हैसियतमा रहनुहुनेछ । सेवा–सुविधा नलिएका कारण स्वतन्त्र नागरिकका रूपमा निर्णय गर्न पनि उहाँ स्वतन्त्र नै हुनुहुनेछ,’ यादवले नयाँ पत्रिकासँग भने, ‘संविधानले पनि पूर्वराष्ट्रपतिलाई राजनीति र सामाजिक सेवाका क्षेत्रमा काम गर्न कुनै रोक लगाएको छैन, त्यसैले समय–परिस्थितिले के भन्छ, त्यसअनुसार उहाँले निर्णय गर्न सक्नुहुनेछ ।’ 

यादवले राजनीतिमा फर्किने कि नफर्किने राष्ट्रपतिको इच्छा, जनताको चाहना र आवश्यकतालगायतको परिस्थितिले निर्धारण गर्ने बताए । ‘राजनीतिमा फर्किने कि नफर्किने उहाँको इच्छामा भर पर्छ, निर्णय गर्न उहाँ स्वतन्त्र हुनुहुन्छ । जनताको चाहना हुनुपर्छ, त्यसपछि उहाँले आवश्यकताअनुसार विचार गर्नुहोला,’ यादवले भने ।

पछिल्लोपटक निजी क्षेत्रको एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै राष्ट्रपति भण्डारीले अवकाशपछि राजनीतिमा आउने विषयमा अहिले कुनै धारणा बनाइनसकेको भए पनि बाध्यात्मक परिस्थितिबारे अहिल्यै केही पनि भन्न नसकिने बताएर पुनः सक्रिय राजनीतिक जीवनमा फर्किन सक्ने सम्भावनाको ढोका खुला राखेको संकेत गरेकी थिइन् । ‘मैले अहिले नै धारणा बनाइसकेकी छैन । तर, धारणा नबनाई राष्ट्रपति हुनुपर्‍यो, धारणा नबनाई सांसददेखि सुरु भएको मन्त्री हुँदै राष्ट्रपतिसम्म भएकी छु,’ आवश्यकताअनुसार भविष्यमा जुनसुकै निर्णय लिन आफू खुला रहेको संकेत गर्दै राष्ट्रपति भण्डारीले भनेकी थिइन्, ‘देशका लागि आवश्यकता पर्‍यो भने मेरो सेवा जहाँ आवश्यक पर्छ, त्यहाँ त डिमान्ड गरेर, खोजेर, प्रतिस्पर्धा गरेर म कहीँ पनि गएको छैन । समयले घचेटेर मलाई पुर्‍याएको छ ।’ 

भण्डारीले राष्ट्रपतिबाट अवकाशलगत्तै चपलीस्थित निजी निवासमा फर्किने तयारी गरेकी थिईन । तर, मर्मतको काम नसकिएकाले केही समय बालुवाटारस्थित छोरीको घरमा सर्ने तयारी गरेकी छिन् । उनले निजी खर्चमै निवास मर्मत गराइरहेकी छिन् । ०७२ मै निर्माण भएको नयाँ घरमा सर्न नपाउँदै भण्डारी राष्ट्रपति निर्वाचित भएकी थिईन । अहिले भवनलाई निजी खर्चबाटै मर्मत–सम्भार गरेको र अवकाश भएपछि पनि राज्यबाट सेवा–सुविधा नलिने उनको सचिवालयले जनाएको छ । 

अवकाशको अन्तिम समयतिर शीतलनिवासमा देशभरका एमाले नेता–कार्यकर्ताको राष्ट्रपतिसँग सम्झनास्वरूप तस्बिर खिचाउन धुइरो लाग्ने गरेको थियो । निकट नेता–कार्यकर्तासँग राष्ट्रपति भण्डारीले देशको अहिलेको र भविष्यको राजनीतिक कोर्सलगायतका विषयमा परामर्श गर्ने गरेकी थिइन् । 

शीतलनिवासमा भेट्ने खासगरी एमालेका नेता–कार्यकर्ता, बुद्धिजीवीलगायत निकटस्थलाई उनले आफ्नो रुचि अवकाशपछि सामाजिक सेवामा रहेको बताउँदै आएकी छिन् । बढीभन्दा बढी सामाजिक काममा संलग्न हुने, तल्लो वर्गको हित, जलवायु परिवर्तनले नेपाललाई पारेको प्रभावको न्यूनीकरण, शिक्षा, स्वास्थ्य, आत्मनिर्भर अर्थतन्त्र, सामाजिक न्यायको क्षेत्रमा काम गर्ने सोच र योजना रहेको सुनाउने गरेकी छिन् ।

विगतमा आफैँ अध्यक्ष रहेको मदन भण्डारी फाउन्डेसनमा संरक्षक बनेर त्यसलाई थप सामाजिक काममा क्रियाशील बनाउँदै जनताको बीचमा पुग्ने भण्डारीको योजना रहेको निकटस्थहरूको भनाइ छ । राष्ट्रपतिपुत्री उषाकिरण अध्यक्ष रहेको फाउन्डेसन अहिले शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा बढी क्रियाशील छ । 

अवकाशपछि फाउन्डेसनको दायरालाई थप फराकिलो बनाउन सक्ने राष्ट्रपतिसँग अन्तत्र्रिmया गर्नेहरू बताउँछन् । ‘सार्वजनिक शिक्षामा राज्यको लगानी भए पनि प्रतिफल नभएकोमा उहाँ चिन्तित हुनुहुन्छ, त्यसैले अवकाशलगत्तै उहाँ शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तन र महिला अधिकारका पक्षमा वकालत गर्ने सोचमा हुनुहुन्छ,’ राष्ट्रपति सचिवालयका एक सदस्यले भने । 

एमाले राजनीतिमा किन सक्रिय हुन सक्छिन् भण्डारी ?
राष्ट्रपति भण्डारी धेरै कारणले एमालेको राजनीतिमा सक्रिय हुन सक्ने पार्टीवृत्तमा चर्चा छ । नवौँ राष्ट्रिय महाधिवेशनपछि तत्कालीन अध्यक्ष केपी ओलीपछिको शक्तिशाली उपाध्यक्षका रूपमा भण्डारीले राष्ट्रपति निर्वाचित हुनुअघि अलग्गै समूह निर्माणको कसरतसमेत गरेकी थिइन् । 

नवौँ महाधिवेशनमा थोरै मतले ईश्वर पोखरेलसँग महासचिवमा पराजित सुरेन्द्र पाण्डेलाई आफ्नो समूहमा सामेल गराउने गरी दशौँ महाधिवेशनलाई लक्षित गरी छुट्टै समूह बनाउने कसरत भण्डारीले गरेकी थिइन् । तर, अध्यक्ष ओलीको चाहना, परामर्श र प्रस्तावमा भण्डारी दुवैपटक राष्ट्रपति बनिन् ।

खासगरी पछिल्लोपटक भण्डारीलाई राष्ट्रपति बनाउन ओलीले आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जोडबल गरेका थिए । सिनियर नेताहरू झलनाथ खनाल र सुवास नेम्वाङ राष्ट्रपतिको आकांक्षी भए पनि वरिष्ठ नेता माधवकुमार नेपालको समेत साथ लिएर ओली भण्डारीलाई दोस्रोपटक राष्ट्रपति बनाउन सफल भएका थिए । 

भण्डारी पुनः राजनीतिमा सक्रिय बन्न सक्ने पहिलो आधार तत्कालीन महासचिव मदन भण्डारी र जनताको बहुदलीय जनवादको विरासत भएको एमालेका थुप्रै नेता–कार्यकर्ता चर्चा गर्ने गर्छन् । मदनले अगाडि सारेको जबजको सिद्धान्तको जगमा एमाले संसदीय राजनीतिमा ठूलो दलका रूपमा स्थापित भएकाले राष्ट्रपति भइसकेपछि पनि विरासतका रूपमा विद्यालाई प्रमुख नेतृत्व स्विकार्न र पार्टीलाई स्थापित गर्न सहज हुने बुझाइ एमालेको ठूलो पंक्तिमा छ । 

मदनको विचारलाई सामाजिक काम र विकासमार्फत जोड्न मदनकै नाममा फाउन्डेसन, प्रतिष्ठान, स्पोर्टस् एकेडेमी, स्वास्थ्य प्रतिष्ठान, प्राविधिक शिक्षालयदेखि विश्वविद्यालय स्थापना गर्नेसम्मको काम एमालेले गरेको छ । अर्कोतिर, ५३ वर्षको सक्रिय उमेरमै राष्ट्रपति बनेर भर्खर ६० वर्ष मात्र पूरा भएकाले एमालेको विधानअनुसार अझै सक्रिय राजनीतिका लागि भण्डारीको १० वर्ष उमेर बाँकी नै रहेकाले उनी एमालेको सक्रिय राजनीतिमा फर्किन सक्ने चर्चा बढेको छ । जब कि अहिले अध्यक्ष ओली ७२ वर्ष टेकेका छन् भने बहुसंख्यक पदाधिकारीहरू ६० वर्षभन्दा माथिका छन् । 

भण्डारीको सचिवालयमा रहेर काम गरिसकेका एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद कृष्णबहादुर राईले सक्रिय राजनीतिको उमेर बाँकी नै रहेकाले राष्ट्रपति भण्डारीको ‘कमब्याक’ हुन सक्ने प्रशस्त आधार र सम्भावना रहेको बताए । ‘५३ वर्षको उमेरबाटै उहाँले एक हिसाबले नीरस जीवन नै व्यतीत गर्नुभएको हो । चाहेको वेला प्रत्यक्ष रूपमा सबैसँग भेटघाट र राजनीतिक कुरा गर्न नमिल्ने, सैनिकको घेरामै सात वर्षको अधिकांश समय व्यतीत गर्नुभयो, मेरो विचारमा ६० वर्षको उमेरमै राजनीतिबाट अवकाश लिने हो भने किन राजनीति गर्ने ? बाँकी जीवनमा निष्क्रिय बस्न मिल्दैन,’ राईले नयाँ पत्रिकासँग भने, ‘त्यसैले उहाँले चाहनुभयो, आवश्यकता देखियो भने उहाँको आगमनलाई पार्टी, जनता र देशले स्वीकार गर्नेछ । राष्ट्रपति भइसकेपछि फेरि सक्रिय राजनीतिमा आएर प्रधानमन्त्री वा पार्टी अध्यक्ष बनेर अर्को बेग्लै इतिहास बनाउन सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।’

भण्डारी स्वयंले पनि राष्ट्रपति भएकै वेला राजनीतिको ‘कमब्याक’का लागि आधार बनाइसकेको धेरैको विश्लेषण छ । पछिल्लोपटक खासगरी शेरबहादुर देउवा नेतृत्वको सरकारले संसद्बाट पारित गरेर पठाएको नागरिकता विधेयक रोकेर निष्क्रिय बनाएकोमा उनीमाथि संविधान उल्लंघन गरेको आरोप लाग्यो । तर, सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख र पूर्वजनरलसहित ७२ जनासँग अलग्गै अन्तर्क्रिया गर्ने, संविधानविद्, कानुनविद्, विभिन्न पार्टीका शीर्ष नेतृत्व र नागरिक समाजका अगुवाहरूसँग अलग–अलग अन्तर्क्रिया र छलफल गरेर उनले नागरिकता विधेयकलाई रोकेका कारण राष्ट्रवादको ‘पपुलिस्ट’ नाराको बाटो रोजेको भण्डारीमाथि आरोप लाग्यो ।  

राष्ट्रपतिसमर्थकले भने संविधानभन्दा माथि उठेर राष्ट्र बचाउन देशको अभिभावकीय भूमिका खेलेको भन्दै उनको राष्ट्रवादको पपुलिस्ट बाटोलाई समर्थन गरे । त्यही वेला एमालेभित्रका प्रभावशाली दुई युवा नेता गोकुल बाँस्कोटा र हिक्मत कार्कीले त राष्ट्रपति भण्डारी राजनीतिमा फर्किनुपर्ने पक्षमा वकालतसमेत गरेको विषयलाई पनि एमाले वृत्तमा चासोका साथ हेरिँदै आएको छ ।  ‘पूर्वराष्ट्रपतिले राजनीति गर्नुहुँदैन भन्ने कुनै कानुनी व्यवस्था छैन । राजनीतिबाटै उनीहरू राष्ट्रपति बनेका हुन्छन् । मेरो सीधा मत छ, वर्तमान राष्ट्रपतिले कार्यकाल सकिएपछि सोझै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने थियो,’ बाँस्कोटाले भनेका थिए ।

उता, कार्कीले सेवा–सुविधा त्यागेर राजनीतिमा सक्रिय हुन्छु भन्नु स्वागतयोग्य भएको बताएका थिए । ‘सेवा–सुविधा त्यागेर सक्रिय राजनीति गर्छु भनेर राष्ट्रपति भण्डारी आउनुभयो भने उहाँलाई एमालेमा स्वागत गरिन्छ । यो त राम्रो कुरा हो,’ कार्कीको भनाइ थियो । 

त्यसो त, तत्कालीन नेकपाभित्र ओली र प्रचण्डबीच विवाद चर्किँदा मत्थर बनाउन मात्र होइन, सम्झौता गराउनसमेत भण्डारीले सहजकर्ताको भूमिका खेलेकी थिइन् । भण्डारीकै सहजीकरणमा प्रचण्डले पार्टीभित्र अधिकारसहितको कार्यकारी अध्यक्षको भूमिका पाएका थिए । 

प्रचण्डले तत्कालीन नेकपाभित्रको विवादबारे खुलेर कुरा गर्न र समाधानको बाटो खोज्ने उपायका लागि राष्ट्रपति भण्डारीसँगको भेटघाट र परामर्शलाई सहज ठान्ने गरेको चर्चा चल्ने गरेको थियो । यही कारण उनी नेकपाभित्रको आन्तरिक विवादमा तानिएकी थिइन् र आलोचनासमेत भएको थियो ।

यी सबै घटनाक्रमले एमालेभित्र अन्तर्संघर्ष चर्किए ‘इमर्जेन्सी लाइट’का रूपमा पनि भण्डारीलाई अवकाशपछि सर्वस्वीकार्य नेतृत्वका रूपमा हेर्ने गरिएको छ । खासगरी ओलीपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित सबै पदाधिकारीले उनलाई अभिभावककै रूपमा सम्मान गर्ने गर्छन् । 

पार्टीभित्रका प्रभावशाली नेताहरू विष्णु पौडेल, भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, गोकर्ण विष्टलगायतसँग पनि भण्डारीको व्यक्तिगत सम्बन्ध राम्रो छ । भण्डारीसँगको सम्बन्धका कारण पनि भट्टराई पार्टी फुट्दा एमालेमै रोकिएको एकाथरीको बुझाइ छ । तर, एमालेका यिनै नेताहरूबीच एघारौँ महाधिवेशनमा अध्यक्ष र महासचिवका लागि अहिल्यैदेखि अघोषित प्रतिस्पर्धा सुरु भइसकेको छ । खासगरी उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले अघोषित रूपमा समूह खडा गरिसकेका छन् । 

एकातिर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, भानुभक्त ढकाल, डा. राजन भट्टराईलगायतको समूह बन्दै गएको छ भने अर्कोतिर पौडेलसहित सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, महेश बस्नेतलगायतको समूहले आकार लिँदै गएको छ । घोषित गुटबन्दीमा अध्यक्ष ओलीले रोक लगाउँदै आए पनि दुवै गुटबीच जनसंगठनदेखि जिल्ला तहसम्म कसलाई नेतृत्वमा ल्याउने भन्ने रुचि बढ्दै गएको छ । 

भर्खरै भएको अखिलको महाधिवेशनमा उपाध्यक्ष पौडेल हाबी भएको चर्चा चल्ने गरेको छ । चैतभित्र ११ वटा जनसंगठनको महाधिवेशन सकिँदा पौडेल र पोखरेल समूह सतहमै देखिने धेरैको बुझाइ छ । दुवै समूहबीच घोषित रूपमै गुटबन्दी चर्किँदै गए अध्यक्ष ओलीले नै भण्डारीलाई भावी नेतृत्वका लागि अगाडि सार्न सक्ने सम्भावना रहेको एमाले वृत्तमा आकलन छ । ‘पौडेल र पोखरेलबीच गुटबन्दी बढ्दै गए ओली कमरेडले नै उहाँलाई अगाडि सार्न सक्नुहुन्छ, त्यसका लागि महाधिवेशनमै जानुपर्दैन, जुनसुकै वेला उहाँ पहिले केन्द्रीय सदस्य मनोनीत भएर पार्टीको दोस्रो नेता बन्न सक्नुहुनेछ,’ भण्डारीनिकट एक नेताले भने, ‘तर, यी सबै कुरा ओली कमरेडको चाहना र निर्णयमै निर्भर हुनेछ ।’ 

भण्डारी पुनः राजनीतिमा कमब्याक हुने सम्भावना रहे पनि अध्यक्षको दौडमा रहेका दोस्रो पुस्ताका अधिकांश नेता भने त्यसको विपक्षमा छन् । उनी पार्टीमा फर्किँदा अध्यक्षको चाहनामा रहेका उपाध्यक्ष पौडेल र महासचिव पोखरेल, सुरेन्द्र पाण्डेलगायत रोकिन सक्नेछन् । तर, एमालेभित्रको जनमत भने पार्टीभित्र गुटबन्दी नचर्कियोस्, बरु भण्डारीको कमब्याक होस् भन्ने रहेको उनीनिकट नेताहरूको दाबी छ ।

भण्डारीसँग पार्टीभित्रका पदाधिकारी, स्थायी समिति, पोलिटब्युरोदेखि केन्द्रीय सदस्य र सांसदहरूको ठूलो पंक्ति छ । खासगरी राष्ट्रपति हुँदा मुख्यमन्त्री, मन्त्री, सांसद, मनोनीत सांसद, संवैधानिक नियुक्तिदेखि पार्टीका मनोनीत केन्द्रीय सदस्यसम्म भण्डारीको कुरा सुन्नुपर्ने बाध्यतामा ओली पर्दै आएकाले उनी अवकाशपछि सक्रिय राजनीतिमा आउँदा शक्तिशाली नेताकै रूपमा स्थापित हुन सक्ने बताइन्छ । उनी पनि एकपटक सक्रिय राजनीतिमा फर्किएर पार्टी प्रमुख या सरकार प्रमुखको कार्यकारी भूमिकामा पुग्ने योजनामा रहेकी छिन् । 

घरको मर्मत सकिएन,तत्काल छोरीको घरमा सर्ने
निवर्तमान राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार शीतलनिवासबाट भण्डारी जेठी छोरी उषाकिरणको निवासमा सर्दै छिन् । बुढानीलकण्ठ– २ चपलीस्थित निजी घर मर्मत हुन अझै दुई महिना लाग्ने भएपछि भण्डारी छोरी डेरा बस्दै आएको घरमा सर्न लागेकी हुन् । सरकारले पूर्वराष्ट्रपति तथा उपराष्ट्रपतिका लागि घरसहितको निवास सुविधा दिने भने पनि भण्डारीले नलिने घोषणा गरेकी छिन् । घर नलिने पूर्वराष्ट्रपति तथा उपराष्ट्रपतिलाई सरकारले मासिक दुई लाख भाडा उपलब्ध गराउँछ । सेवा–सुविधाबारे भने भण्डारीले औपचारिक रूपमा प्रतिक्रिया दिएकी छैनन् । 
राष्ट्रपति भण्डारीले गरिन् बिदाइ भेट
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतासँग बिदाइ भेट गरेकी छिन् । आफ्नो पाँचवर्षे कार्यकालको अन्तिम दिन राष्ट्रपति भण्डारीले आइतबार अपराह्न शीर्ष नेतालाई शीतलनिवासमा बोलाएर धन्यवाद ज्ञापन तथा बिदाइ भेट गरेकी हुन् ।

भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, लोसपा अध्यक्ष महन्थ ठाकुर र रञ्जिता श्रेष्ठलगायत संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेता सहभागी थिए । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनमत पार्टी अध्यक्ष सिके राउत भने अनुपस्थित थिए । 

बिदाइ भेटमा राष्ट्रपति भण्डारीले आफ्नो कार्यकालमा सहयोग गरेकोमा सबै शीर्ष नेतालाई धन्यवाद दिएकी थिइन् । ‘म लामो समयदेखि राजनीतिमा छु । ०५० देखि नै सांसद छु । अहिलेसम्म राज्यले ममाथि प्रशस्त लगानी गरेको छ । राज्यबाट मैले धेरै कुरा लिएकी छु । अब मैले राज्यबाट लिने होइन, राज्यलाई दिने हो । योगदान गर्ने हो,’ उनले भनिन्, ‘मैले मेरो कार्यकाल जे–जति गरे, देश र जनताको हितमा तथा संविधानको परिधिभित्र रहेर काम गरे होला भन्ने लाग्छ । तपाईंहरूले आफ्नोतर्फबाट गर्नुभएको सहयोगप्रति म आभारी छु ।’ 

अन्तर्क्रियासंविधानले राजनीति र समाजसेवा गर्न रोकेको छैन 
लालबाबुप्रसाद यादव राष्ट्रपतिका राजनीतिक सल्लाहकार 
राजनीतिमा फर्किने कि नफर्किने उहाँ (राष्ट्रपति भण्डारी)को इच्छामा भर पर्छ, निर्णय गर्न उहाँ स्वतन्त्र हुनुहुन्छ । जनताको चाहना हुनुपर्छ, त्यसपछि उहाँले आवश्यकताअनुसार विचार गर्नुहोला । दोस्रो, उहाँले अवकाशपछि राज्यको कुनै पनि सेवासुविधा लिन्न भनिसक्नुभएको छ । अवकाश पाएपछि उहाँ स्वतन्त्र हुनुहुन्छ । सुविधा नलिएपछि उहाँ स्वतन्त्र नागरिकका रूपमा निर्णय गर्न पनि स्वतन्त्र नै हुनुहुन्छ । संविधानले पनि राजनीति, समाजसेवा गर्न रोकेको छैन । त्यसैले समय–परिस्थितिले के भन्छ, त्यसअनुसार उहाँले निर्णय लिनुहोला ।