मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
युएईविरुद्ध अन्तिम विकेट लिएपछि खुसीयाली मनाउँदै स्पिनर ललितनारायण राजवंशी । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२०७९ फाल्गुण २९ सोमबार ०६:२४:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालले सुरक्षित गर्‍यो एकदिवसीय मान्यता

विश्वकप लिग– २ मा नेपाल पछिल्ला १० मध्ये नौ खेलमा विजयी

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
२०७९ फाल्गुण २९ सोमबार ०६:२४:००

पछिल्ला १० मध्ये नौ खेलमा जित निकाल्दै नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले चार वर्षका लागि अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता सुरक्षित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार संयुक्त अरब इमिरेट्स (युएई)लाई एक सय ७७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल आइसिसी पुरुष विश्वकप क्रिकेट लिग– २ को चौथो स्थानमा उक्लेको छ । 

लिगको शीर्ष पाँच स्थानमा रहने राष्ट्रहरूले चार वर्षका लागि एकदिवसीय मान्यता पाउँछन् । नेपालले चौथो स्थानमा पुग्दा ३४ खेलबाट ३६ अंक प्राप्त गरेको छ । नेपालको जितसँगै अमेरिका पाँचौँ स्थानमा झरेको छ । अब अमेरिका र युएईबीच पाँचौँ स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

नेपालले आगामी दुई खेलमा युएई र पपुवा न्युगिनीलाई हराउन सके ४० अंकका साथ तेस्रो स्थानमा रहँदै अर्को वर्ष जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोटमा प्रवेश गर्नेछ । यद्यपि, बाँकी दुई खेलमा हार व्यहोरे पनि नेपालको एकदिवसीय मान्यता भने जोखिममा पर्नेछैन । चालू लिगमा नेपालले १७ जित, १५ हार र एकमा टाई नतिजा निकालेको छ । एक खेल नतिजाविहीन भएको छ ।  

गत माघमा मोन्टी देसाई प्रमुख प्रशिक्षकका रूपमा आएपछि मात्रै नेपालले खेलेका १० मध्ये नौ खेलमा जित निकालेको छ । फागुनको दोस्रो साता त्रिवि मैदानमा भएको लिगअन्तर्गत सिरिजमा नेपालले स्कटल्यान्ड र नामिबियालाई समान दुई खेलमा हराएको थियो । नेपालले सन् २०१८ मा एकदिवसीयमा मान्यता पाएको थियो । सन् २०१९ बाट विश्वकप लिग– २ सुरु भएको हो । 

युएईलाई १७७ रनले पराजित गर्दै नेपालले आगामी चार वर्षका लागि एकदिवसीय मान्यता जोगायो, अबका दुई खेलमा युएई र पपुवा न्युगिनीलाई हराउन सके ४० अंकका साथ तेस्रो स्थानमा उक्लिँदै अर्को वर्ष जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोटमा प्रवेश गर्ने 

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टिमवर्कका कारण एकदिवसीय मान्यता सफल भएको प्रतिक्रिया दिएका छन् । ‘समग्रमा यो सफलता हामी सबै खेलाडीको टिमवर्कले प्राप्त भएको हो, खेलाडीबीचको तालमेल, आत्मविश्वासले पनि नेपालको एकदिवसीय मान्यता यथावत् रहेको हो,’ उनले भने, ‘यो उपलब्धिमा हामी खुसी छौँ । योजनाअनुसार सफल भएका छौँ ।’ आइतबार बलिङतर्फ ललित राजवंशीले पाँच विकेट लिए भने ब्याटिङतर्फ कप्तान पौडेलले उत्कृष्ट ७७ रनको इनिङ्स खेले । रोहितले अब बाँकी दुई खेल जितेर विश्वकपमा छनोट हुने बताए ।

एक महिनाभित्र सुधारिएको प्रदर्शन
पछिल्लो एक महिनामा नेपालले विश्वकप लिग– २ मा उत्कृष्ट प्रदर्शन गरेको छ । नामिबिया र स्कटल्यान्डविरुद्धको सिरिजमा क्लिनस्विप गर्‍यो । त्यसपछि गत साता दुबईमा नेपालले पपुवा न्युगिनीलाई दुई र युएईलाई एक खेलमा हरायो । युएईसँग एक खेलमा पराजित भयो ।गत महिना मोन्टी देसाईले प्रशिक्षणको जिम्मेवारी लिएसँगै नेपालको एकदिवसीय मान्यता जोगाउने र विश्वकपमा छनोट गराउने बताएका थिए । उनले वाचा गरेअनुसार नेपालको पहिलो लक्ष्य पूरा भएको छ ।

एकदिवसीय मान्यता रक्षा गरेपछि प्रशिक्षक मोन्टी निकै उत्साहित छन् । उनले क्यानको व्यवस्थापन र क्षमतावान खेलाडीका कारण यो उपलब्धि हासिल गरेको बताए । ‘यो यात्रा निकै उत्साहपूर्ण रह्यो । सबै खेलाडीले आफ्नो भूमिका उत्कृष्ट ढंगले निर्वाह गरेका छन् । जसले यो उपलब्धि हासिल भएको छ,’ २३ माघमा मुख्य प्रशिक्षक नियुक्त भएका मोन्टीले भने । 

 खेलाडी भन्छन्, ‘चार वर्ष व्यस्त रहन्छौँ’
चार वर्षका लागि एकदिवसीय मान्यता पाएसँगै खेलाडी हर्षित छन् । उनीहरू बाँकी चार वर्ष खेलमै व्यस्त हुने हुँदा खुसी छन् । ‘यो मान्यता पाउनु भनेकै हामी आगामी चार वर्ष व्यस्त हुनु हो,’ युएईविरुद्ध पाँच विकेट लिएका ललित राजवंशीले भने । ललित आगामी चार वर्ष खेलाडीलाई मात्रै नभएर क्रिकेटमा लाग्ने हरेकको रोजगारी बढ्ने बताउँछन् । ‘यसले खेलाडी मात्रै होइन, अम्पायर र क्रिकेटमा लाग्ने हरेकको आर्थिक स्थिति बलियो बनाउँछ र सबैलाई रोजगारी दिन्छ,’ उनले भने । कप्तान पौडेलले चार वर्ष क्रिकेटमै व्यस्त हुने र यो उपलब्धि निकै महत्वपूर्ण भएको बताए । अर्का तीव्र गतिका बलर गुल्सन झाले आगामी वर्ष राम्रो खेल देखाउन आतुर रहेको बताए ।