१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २७ शनिबार
  • Sunday, 11 May, 2025
२o७९ फाल्गुण २७ शनिबार १४:५४:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

‘कोसी’ प्रदेश नामांकनको विरोधमा पालिका र वडामा तालाबन्दी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २७ शनिबार १४:५४:oo

प्रदेशको नाम ‘कोसी’ राखिएको विरोधमा इलामको माङ्सेबुङ गाउँपालिकामा तालाबन्दी गरिएको छ। पहिचानविना प्रदेशको नामांकन गरिएको भन्दै प्रदेश नम्बर १ को पुनः नामांकन संघर्ष समितिले शुक्रबारदेखि अनिश्चितकालका लागि तालदाबन्दी गरेको हो।

समितिले एक साताअघिदेखि नै माङ्सेबुङको विभिन्न वडामा तालाबन्दी गर्न सुरु गरेको संघर्ष समितिका माङ्सेबुङ सल्लाहकार किसान खजुमले जानकारी दिए। गाउँपालिकाको कार्यालय भवनमा कालो झन्डा राखी तालबन्दी गरिएको उनले बताए। खजुमका अनुसार समितिले गाउँपालिकाको कार्यालयसँगै वडा नम्बर ५, ३ र ६ को कार्यालयमा समेत तालाबन्दी भएको छ।

‘रातारात छापामार शैलीमा पहिचान नामेट गरेर नाम राखेकाले हामी आन्दोलित बन्नुपरेको छ। स्थानीय तहदेखि नै आन्दोलनको सुरुवात गरेका छौँ,’ उनले भने, ‘पहिचानको आधारमा नामाकंन नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ।’

ऐतिहासिक पृष्ठभूमि, भूगोल र सभ्यतासमेतलाई समेटेर पहिचानको आधारमा प्रदेशको नामांकन गर्नुपर्नेमा प्रदेशवासीको मनोभावना, चाहना, इच्छा र संघीयताको मर्मविपरीत प्रदेशको नाम कोसी राखिएको उनको आरोप छ। प्रदेशको नाम  खारेज गरेर पहिचानको आधारमा राखिनुपर्ने उनले बताए।

माङ्सेबुङ गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी भएको गाउँपालिकाका प्रवक्ता सुसन राईले जानकारी दिए। यस्तै, वडाहरूमा पनि तालाबन्दी भएको उनले बताए। जसका कारण गाउँपालिकाको काममा असर परेको छ। ‘अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी भएपछि स्वाभाविक रूपमा प्रशासनिक काममा प्रभाव परेकै छ। तर, हामी जनताको काममा लागि नै रहेका छौँ,’ उनले भने, ‘आन्दोलनरत पक्षसँग वार्ताको पहल भइरहेको छ।’

प्रदेश सभाको दुईतिहाइ बहुमतले प्रदेशको नाम कोसी राखेपछि पहिचान पक्षधरले पछिल्लो समय प्रदेश–१ का विभिन्न क्षेत्रमा आन्दोलन गरिरहेका छन्।