१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
रमेश सुवेदी काठमाडौं
२o८१ बैशाख २४ सोमबार o७:o९:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एकदिवसीय मान्यता जोगाउँदै नेपाल

Read Time : > 3 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:o९:oo

ओपनर आसिफ शेखको शतक र सन्दीप लामिछानेले चार विकेट लिएपछि बिहीबार नेपालले आइसिसी पुरुष विश्वकप लिग–२ सिरिजमा पपुवा न्युगिनी (पिएनजी)लाई ५२ रनले पराजित गरेको छ । अब नेपाललाई चार वर्षका लागि एकदिवसीय मान्यता रक्षा गर्न एक जित मात्र आवश्यक छ । पपुवा न्युगिनीमाथिको जितपछि नेपालले विश्वकप लिग–२ मा ३३ खेलबाट १६ जितसहित ३४ अंक बनाएको छ ।

नेपाल पाँचौँ स्थानमा यथावत् छ । नेपालले एक खेल कम खेलेको युएईमाथि पाँचौँ स्थानमा तीन अंकको अग्रता लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार विश्वकप लिग–२ को शीर्ष पाँचमा रहने राष्ट्रहरूले चार वर्षका लागि एकदिवसीय मान्यता प्राप्त गर्नेछन् । 

नेपालले तेस्रो स्थानमा रही अर्को वर्ष जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोटमा प्रवेश गर्न बाँकी सबै खेल जित्नुपर्नेछ । आउने तीन खेल जित्दा नेपालको ४० अंक हुनेछ । अहिले तेस्रो स्थानमा रहेको नामिबिया चौथो स्थानमा झर्नेछ । नेपालले घरेलु मैदानमा शतप्रतिशत नतिजा निकाल्दा तेस्रो स्थानमा पुग्नेछ । विश्वकप लिग–२ बाट च्याम्पियन स्कटल्यान्ड र दोस्रो स्थानको ओमान विश्वकपको सीधा छनोट प्रतियोगितामा छनोट भइसकेका छन् ।

ओपनर आसिफ शेखले एकदिवसीय खेलमै पहिलो शतकीय इनिङ्स खेल्दा पपुवा न्युगिनी नेपालसँग ५२ रनले पराजित भएको छ । नेपालले बाँकी तीनमध्ये एक खेलमा जित निकाल्दा पनि चार वर्षका लागि एकदिवसीय मान्यता रक्षा गर्नेछ । 

नेपाल, युएई र नामिबियाबीच तेस्रो स्थानको होड चलिरहेको छ । नेपालले आइतबार युएईविरुद्ध खेल्नेछ । पपुवा न्युगिनीमाथि पुनः एकपटक सानदार जित निकालेपछि नेपालको इनिङ्समा शतक बनाएका आसिफले उत्कृष्ट इनिङ्स खेल्न लामो समय प्रतीक्षा गरेको बताए । ‘म राम्रो समयको प्रतीक्षामा थिएँ, ३१औँ खेलमा एकदिवसीय खेलमा शतक आयो,’ हर्षित हुँदै उनले भने, ‘मेरो सपना पूरा भएको छ ।’ आसिफले टियू मैदानको बिहानको मौसमअनुसार खेल्न सहज भएको बताए । ‘बिहानको वातावरणअनुसार खेलेका थियौँ । पावर प्लेमा राम्रो गर्ने योजना थियो । हामी दुवै ओपनरले त्यही गर्‍यौँ । यहाँको घरेलु मैदानमा खेल्दा हामीलाई सबैले समर्थन गर्न आउँछन्,’ उनले भने । 

उत्कृष्ट फर्ममा सन्दीप
विश्वकप लिग–२ मा नेपालका पूर्वकप्तान सन्दीप उत्कृष्ट फर्ममा छन् । पछिल्ला नौमध्ये सात खेलमा सन्दीपले महत्वपूर्ण विकेट लिइरहेका छन् । दुई सय ९८ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनीले सन्दीपको घातक बलिङ सामना गर्न सकेन । सन्दीपले आफ्नो १० ओभरको स्पेलमा एक मेडन राखी ३७ रन खर्चंदै चार विकेट लिए ।

यसक्रममा उनी एकपटकह्याट्रिकनजिक पुगेका थिए । इनिङ्सको ३२.२ ओभरमा सन्दीपले हिरीलाई आउट गरे । ३२.३ ओभरमा चाद सोपरको विकेट लिँदै उनी ह्याट्रिकनजिक पुगेका थिए । पपुवा न्युगिनीका मध्यक्रमका ब्याट्सम्यानमाथि नेपालका स्पिनर सिमर हावी भएका थिए । दीपेन्द्रसिंह ऐरीले दुई विकेट र कुशल मल्लले एक विकेट लिए । नेपालका सोमपाल कामी, करण केसी र कप्तान रोहित विकेटविहीन रहे । पिएनजीका तीन ब्याट्सम्यान रनआउट भएका थिए । 

उरा र भानुआको अर्धशतक
पपुवा न्युगिनीका ओपनरद्वय टोनी उरा र किल्पिन डोरिगोले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गर्दै नेपालमाथि दबाब राखे । तर, यसबाहेक अन्य विकेटका लागि गतिलो साझेदारी नहुँदा पपुवा न्युगिनीले हारको सामना ग¥यो । पपुवा न्युगिनीको ब्याटिङ इनिङ्समा दुई ब्याट्सम्यानले अर्धशतक बनाए । आठौँ नम्बरमा क्रिजमा आएका नोर्मन भानुआले सर्वाधिक ६० रन बनाएका थिए । ५५ बलको सामना गरेका भानुआले तीन चौका र चार छक्का प्रहार गरेका थिए ।

ओपनर टोनीले ४४ बलमा ९ चौकामा ५० रन बनाएका थिए । कप्तान असाद भालाले ५३ बलमा ४२ रनको योगदान गरे । 
नेपालविरुद्ध पपुवा न्युगिनीका सेमो कामेयाले सर्वाधिक पाँच विकेट लिएका थिए । ९.१ ओभर बलिङ गरेका सेमोले ३८ रन खर्चिका थिए । उनले आसिफ, रोहित, भीम, आरिफ र सन्दीपको विकेट लिए । रिले हेकुरेले ५० रन खर्चिएर तीन विकेट लिए । 

आसिफको पहिलो शतक
त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तिम शृंखला खेलेको नेपालले पहिलो ब्याटिङ गर्दै ४९.१ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ९७ रन बनाएको थियो । प्रत्युत्तरमा पपुवा न्युगिनी ४७.१ ओभरमा दुई सय ४५ रनमा समेटिँदा नेपाल ५२ रनले विजयी भयो । नेपालको जितमा ओपनर आसिफले करिअरकै पहिलो एकदिवसीय शतकीय इनिङ्सका रूपमा एक सय १० रन बनाएका थिए ।

नेपालले कीर्तिपुर मैदानमा सर्वाधिक योगफल बनायो । नेपालले २०२३ फेब्रुअरी १४ मा कीर्तिपुरमै नामिबियाविरुद्ध सर्वाधिक दुई सय ८७ रनको इनिङ्स खेलेको थियो । आसिफ र कुशल भुर्तेलले पहिलो विकेटका लागि १८.४ ओभरमा एक सय १० रनको शतकीय साझेदारी गर्दै नेपाललाई सानदार सुरुवात दिलाए । 

इनिङ्समा दुईपटक जीवनदान पाएका आसिफले एक सय १० बलमा १२ चौका र दुई छक्का प्रहार गरेका थिए । यसअघि उनको एकदिवसीय खेलमा सर्वाधिक ९० रन थियो । उनले ओमानविरुद्ध सो रन बनाएका थिए । नेपालका लागि आसिफ पाँचौँ एकदिवसीय शतक बनाउने खेलाडी बनेका छन् । पपुवा न्युगिनीविरुद्ध एक सय एक बलको सामना गरेपछि आसिफले शतक ठोके । सन् २०२१ मा पपुवा न्युगिनीविरुद्ध नै आसिफले एकदिवसीय खेलमा डेब्यु गरेका थिए । यसअघि पूर्वकप्तान पारस खड्कासहित कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलले नेपालका लागि एकदिवसीय शतक प्रहार गरेका थिए । साथै, उनले एकदिवसीय खेलमा एक हजार रनसमेत पूरा गरेका छन् । यसअघि टोलीकै कप्तान रोहितकुमार पौडेलले यस उपलब्धि हात पारेका थिए । 

नेपालको ब्याटिङ इनिङ्समा कप्तान रोहितकुमार र भीम सार्कीले गतिलो योगदान दिएका छन् । आसिफले रोहितसँग चौथो विकेटका लागि ६७ रनको साझेदारी गर्दै नेपाललाई १४०–३ बाट २०७–४ को स्थितिमा राखे । उनी इनिङ्सको ३७.४ ओभरमा आउट भए । रोहितले ३९ बलमा दुई चौका र एक छक्का प्रहार गरे । भीमले ३८ बलमा चार चौकाको मद्दतमा ४४ रनको योगदान दिए । ओपनर कुशलले ५६ बलमा ६ चौकासहित ४५ रनको योगदान गरे । छैटौँ नम्बरमा क्रिजमा आएका भीम सार्कीले ३८ बलमा ४ चौकासहित ४४ रन बनाए ।

ad
ad