Skip This
घोराही–तुलसीपुर चार लेन ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढ्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २३ मंगलबार
  • Saturday, 27 July, 2024
२o७९ फाल्गुण २३ मंगलबार २२:१o:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

घोराही–तुलसीपुर चार लेन ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढ्यो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २३ मंगलबार २२:१o:oo

दाङको घोराही–तुलसीपुर चार लेन ठेक्का रद्द प्रक्रिया अघि बढेको छ। चारलेन परियोजना कार्यालय लमहीले सोमबार (६ मार्च २०२३) मा सूचना प्रकाशित गरी ठेक्का रद्द गर्नका लागि १४ दिने सूचना जारी गरेको हो। 

ठेक्का रद्द गर्नुनपर्ने कारणसहित सम्बन्धित ठेकेदार कम्पनीलाई १४ दिनभित्र सम्पर्क गर्न सूचना जारी गरेको हो। परियोजना प्रमुख अनिश थापामगरका अनुसार यदि त्यो अवधिमा सम्पर्कमा नआए त्यही दिनदेखि नै ठेक्का रद्द हुने सूचनामा उल्लेख छ। 

चारलेन ठेक्काको पटक–पटक गरी चौथोपटक म्याद थप गरिएको थियो। त्यो अवधि २०८० असारसम्म थियो। तर, त्यो अवधिमा ठेक्का लिएको कम्पनीले काम गर्न सक्ने सम्भावना कम रहेकाले ठेक्का तोड्ने प्रक्रिया अघि बढेको हो। 

चारलेनको ठेक्का भारतीय तथ्य इन्जिनियरिङ एन्ड इन्फ्राले लिएको छ। उक्त कम्पनीले पेटी ठेकेदारमार्फत काम गर्दै आएको थियो। योबीचमा ८ जना पेटी ठेकेदारलाई काम दिएको भए पनि निर्माण सुरु भएको ५ वर्षसम्म पनि १० प्रतिशतभन्दा बढी काम हुन सकेको छैन। 

जसले गर्दा यस क्षेत्रका जनप्रतिनिधि, विभिन्न संघसंस्था तथा राजनीतिक दलले समयमा काम गर्न दबाब दिएका थिए। यदि काम गर्न नसके ठेक्का तोड्नुपर्ने माग राख्दै आएका थिए। 

पटक–पटक जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला समन्वय समितिको पहलमा छलफल भइरहेका थिए। तर, पनि सन्तोषजनक काम नगरेपछि ठेक्का तोडिएको परियोजना प्रमुख अनिश थापाले बताए।

पटक–पटक ठेकेदार कम्पनीलाई तोकिएको अबधीमा काम सक्ने गरि लिखित कार्यतालिका र प्रतिबद्धता पेस गर्न परियोजना कार्यालयले सूचना जारी गरेको थियो। त्यसबीचमा ठेकेदार कम्पनीले लिखित र मौखिक प्रतिबद्धता जनाए पनि काम हुन नसकेको उनको भनाइ छ।  

चारलेन सडक अलपत्र हुँदा अहिले नागरिकले सास्ती खेप्नुपरेको छ।  सडकमा आवतजावत गर्दा यात्रुहरू, सडकवरपरका बासिन्दालगायतले निकै सास्ती खेप्नुपरेको छ। 

लामो समयदेखि अलपत्र चार लेन  

घोराही–तुलसीपुर चारलेनको काम २०७५ माघदेखि सुरु भएको हो। ३० महिनामा काम सक्ने गरी सम्झौता भयो। उक्त सडकमा अहिलेसम्म ७ जना पेटी ठेकेदार फेरिएका छन्। चौथोपटक म्याद थप भइसकेको छ। 

२०७८ जेठ ६ गतेभित्र काम सक्नुपर्ने भए पनि त्यसो हुन सकेन। काम सक्ने त टाढाको कुरा ६ प्रतिशतभन्दा बढी प्रगति हुन सकेन। त्यसपछि २०७८ साउन २७ गतेसम्म काम सक्ने गरी पहिलो पटक, २०७८ पुस २८ गते सक्ने गरी दोस्रोपटक म्याद थप भयो । तर, काम अघि बढ्न नसकेपछि तेस्रो पटक २०७९ वैशाख २९ गते सक्ने गरी म्याद थप भएको थियो। त्यो समयमा पनि १० प्रतिशतभन्दा बढी काम हुन सकेन। 

अहिल खरिद ऐनको १२ औँ संशोधनले  चौथोपटकका लागि २०८० असारसम्म स्वतः म्याद थप गरेको छ।

सुरुमा अष्टभैरव निर्माण सेवाका अनुप पाण्डेले ठेक्का पाए त्यसपछि सुवास श्रेष्ठ, जनक डाँगीले पेटी ठेकेदारका रूपमा जिम्मा पाए। त्यसपछि पुनः अनुप पाण्डे आए। उनले पनि गर्न नसकेपछि एकेन्द्र खड्का, विजय पाठक र रोशन श्रेष्ठले पनि प्रत्येकले पेटी ठेक्का पाए। उनीहरूबाट पनि काम हुन नसकेपछि अहिले सुनीलजंग रायमाझी आएका हुन्।  

पटक-पटक म्याद थप हुने तर काम नसकिँदा नागरिकस्तरबाट पनि विरोध हुने गरेको छ। केही दिनअघि मात्रै सामाजिक अभियन्ताहरूको पहलमा चारलेनमा परेका खाल्डाखुल्डी पुर्ने काम भएको थियो। 

भारतीय एक्जिम बैंकको सहयोगमा चारलेन सडक भ्याटसहित १ करोड २१ लाख ८२ हजार तीन सय १ रुपैयाँ अमेरिकी डलर ( नेपालीमा १ अर्ब २३ करोड ) मा निर्माण हुन लागेको हो। भारतीय तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्राेजेक्टले ठेक्का लिएको हो। तर, उसले विभिन्न पेटी ठेकेदारलाई जिम्मा दिने तर, समयमा काम नगर्ने अवस्था हुँदा नागरिकले निकै सास्ती खेप्नुपरेको छ।

पछिल्लो समय पुस १८ देखि बुटवलका सुनीलजंग रायमाझीले पेटी ठेक्का पाएका छन्। तर, उनले पनि काम अगाडि बढाउन सकेका छैनन्। तोकिएको समयमा ठेक्काको ३० प्रतिशत काम नसकेकाले अहिले ठेकेदार कम्पनीलाई दैनिक करिब ३ लाख २१ हजार ९ सय नेपाली रुपैयाँ जरिवाना गर्ने गरेको छ। कुल रकमको १० प्रतिशतसम्म जरिवाना हुने व्यवस्थाअनुसार ठेकेदार कम्पनीलाई जरिवाना गरिएको हो।