मोटोपनको प्रकोप र नयाँ औषधि

देश/विदेश

आइतबार, २१ फागुन, २०७९
डिजिटल संस्करण

मोटोपनका कारण विश्वले सन् २०३५ भित्र ४० खर्ब डलरको आर्थिक व्ययभार झेल्नेछ, जुन विश्वको कुल गार्हस्थ्य उत्पादनको २.९ प्रतिशत हो

एक नयाँ औषधिले धनाढ्य र ‘सुन्दर’ मानिसमाझ उत्साह प्रवाह गरेको छ । सातामा एकपटक सुई लगाउनुहोस्, शरीरको तौल घट्नेछ । इलोन मस्क विश्वस्त छन्, टिकटकका इन्फ्लुएन्सर प्रशंसाका गीत गाइरहेका छन् र एकाएक हलिउडका युवती अभिनेत्री आफूले यस्तो औषधि प्रयोग नगरेको स्पष्टीकरण दिइरहेका छन् । अहिले आएका तौल कम गर्ने औषधि सौन्दर्य प्रशाधन मात्रै होइन, यिनको सबैभन्दा ठूलो लाभार्थी लस एन्जेलस वा मायमीका सेलिब्रेटी नभई मोटोपनका कारण अस्वस्थ भएका विश्वभरका सर्वसाधारण हुन् । 

तौल घटाउने औषधि प्रभावकारी छन् र सँगसँगै काम नलाग्ने फर्जी पनि छन् । अहिले आएको नयाँ औषधि जिएलपी–१ रेसेप्टर एग्नोस्टिक्स निकै प्रभावकारी देखिन्छ । यसलाई विभिन्न नाममा अमेरिका, डेनमार्क, नर्वेलगायत मुलुकमा उत्पादन गरिँदै छ । विश्लेषकका अनुसार सन् २०३१ भित्र जिएलपी–३ औषधिको बजार एक खर्ब ५० अर्ब डलरसम्म पुग्नेछ । त्यसैगरी केहीका अनुसार यो औषधि रक्तचाप नियन्त्रण गर्ने सेटेटिन औषधिझैँ सजिलै बजारमा पाइनेछ ।  

यो औषधि अहिले सबैभन्दा उपयुक्त समयमा आएको छ । सन् ०२० मा विश्वका ४० प्रतिशत मानिसमा मोटोपना देखिएको थियो । वल्र्ड ओबेसिटी फेडेरेसनका अनुसार सन् २०३५ भित्र विश्वका आधाभन्दा बढी जनसंख्या अर्थात् चार अर्ब मानिसमा मोटोपना देखिनेछ । विश्वभरि मानिस मोटाइरहेका छन् । मोटोपन पश्चिमा मुलुकमा नभई इजिप्ट, मेक्सिको, साउदी अरेबियाजस्ता मुलुकमा बढिरहेको छ । यो चिन्ताजनक विषय हो, किनभने मोटोपनले मधुमेह, मुटुरोग, उच्च रक्तचापलगायत समस्या निम्त्याउँछ । अधिक शारीरिक तौल हुनाले कोभिड–१९ का कारण मृत्यु हुने सम्भावना पनि धेरै हुने गर्छ । यसबाहेक मोटो हुँदा मानिसले हीनताबोध महसुस गर्ने गर्छन्, विशेषतः विद्यालय जाने वा मैदानमा खेल खेल्ने बालबालिका मोटोपनाका कारण क्रूर लघुताभास सहन अभिशप्त छन् । 

मोटोपनको प्रभाव व्यक्तिगत करदातादेखि सम्पूर्ण अर्थतन्त्रमा देख्न सकिन्छ । एक आर्थिक मोडलिङअनुसार मोटोपनका कारण विश्वले सन् २०३५ भित्र ४० खर्ब डलरको आर्थिक व्ययभार झेल्नेछ, जुन विश्वको कुल गार्हस्थ उत्पादन (जिडिपी) को दुई दशमलव नौ प्रतिशत हो । यो व्ययभारमा मोटोपनका कारण हुने स्वास्थ्य समस्यामा लाग्ने स्वास्थ्य सेवाको खर्च र मोटोपनसँग जोडिने रोग वा मृत्युले घटाउने श्रम समय पर्छ ।

करोडौँ मानिसमा मोटोपन आफ्नो शरीरको ख्याल गर्न क्षमताको कमीका कारण नभई जैविक समस्याका कारण उब्जिएको हो । मानिसलाई अत्यधिक जाडो र भोकमरीमा बाँच्न मद्दत गर्ने ती वंशाणुले पनि मानिसको वृद्धि भइरहेको तौलमा भूमिका खेलिरहेको छ । मनै थाम्न नसकिने बजारको तयारी खानाको मात्रामा भएको अत्यधिक वृद्धिले सजिलै र सस्तो दाममा खानामा पहुँच बढाएको छ, तर यसले खासै शारीरिक श्रम नहुने हालको समयमा हन्तकाली बानी बढाइरहेको छ । र, एकपटक शरीरमा अत्यधिक बोसो थपिँदा डाइटिङ गर्दा पनि शरीरमा कुल वजनको तुलनामा निकै कम बोसो घट्छ । विश्वभर दुई खर्ब ५० अर्ब डलरबराबरको रकम डाइटिङ खर्च हुने भए पनि त्यो अनुपातमा मानिसले तौल घटाउन सकिरहेका छैनन् ।          

हाल सुखद रूपमा आएको मोटोपन घटाउने औषधिले उपचारपश्चात् मधुमेहका रोगीको तौल घटाएको छ । यस औषधिले दिमागमा खाना खाने आसक्तिलाई हटाउँछ । औषधिको उच्च मागका कारण लगानीकर्ता उत्साहित भएका छन् । मोटोपन घटाउने जिएलपी–१ आधारित सेमाग्लुटाइड उत्पादन गर्ने डेनमार्कको नोभो नोर्दिस्क कम्पनीको आम्दानी दुई गुणा बढेर तीन खर्ब २६ अर्ब डलर पुगेको छ । यो वृद्धिसँगै यो विश्वकै दोस्रो ठूलो औषधि कम्पनी बन्न सफल भएको छ । विश्लेषकका अनुसार यो दशकको अन्त्यसम्ममा मोटोपन भएका करिब आधा अमेरिकीले जिएलपी– १ प्रयोग गर्नेछन् । यो नयाँ औषधिको माग बढे पनि यससँग जोडिएका कैयौँ अनिश्चितता छन् । सुरक्षा र मूल्य नयाँ औषधिका दुई मुख्य समस्या हुन् । 

पहिलो समस्या सुरक्षा हो । औषधि नयाँ भएकै कारण यसको दीर्घकालीन असरबारे अहिलेसम्म कुनै जानकारी सतहमा आएको छैन । मधुमेहका रोगीका लागि बनाइएको कम डोजको औषधिले मन्द बान्ता र झाडापखालाजस्ता ‘साइड इफेक्ट’ देखाएको छ । डोज बढाउँदा साइड इफेक्ट बढ्ने सम्भावना अधिक हुन्छ । जनावरमा गरिएको परीक्षणमा थाइरोइड क्यान्सरको सम्भावना बढेको देखिन्छ र सेमाग्लुटाइडलाई दुर्लभ प्यानक्रियाटाइटिससँग जोडिएको छ । त्यसैगरी गर्भवती हुँदा वा सुत्केरी भएपछि औषधिले पार्ने असरबारे कुनै जानकारी छैन । यसका लागि नियन्त्रित वातावरणमा लामो समयसम्मको वैज्ञानिक अनुसन्धान आवश्यक पर्छ । त्यसैगरी औषधि जीवनभर आवश्यक हुन सक्छ र यदि औषधि बीचमै छुटे डाइटिङ छुट्दाझैँ उल्टै तौल बढ्ने हुन सक्छ । 

अर्को समस्या मूल्य हो । अमेरिकामा यसको मूल्य नौ सयदेखि एक हजार तीन सय डलरसम्म पर्छ । यदि औषधि जीवनभर प्रयोग गर्नुपर्ने हो भने यो अत्यधिक महँगो हुन आउँछ । यद्यपि भविष्यमा औषधिको बढ्दो मागले निर्माणमा प्रविधिगत नवप्रवर्तन आई मूल्य घट्न सक्छ ।       

त्यतिन्जेल के गर्ने त ? अत्यावश्यक मानिसका लागि सरकारले औषधिको सुनिश्चितता गराउनुपर्छ । तर, सौन्दर्य प्रशाधनका लागि औषधि लिन खोज्नेले आफ्नै गोजीबाट खरिद गर्नुपर्ने हुन्छ । दीर्घकालीन असरको अध्ययन गरिनुपर्छ । राज्यले सुरुमा त मोटोपनको अवस्था नै निम्तिन नदिने शारीरिक अभ्यास, स्वस्थ खानपिनलगायत उपायमा ध्यान दिनुपर्छ । 

यति भन्दै गर्दा हामीसँग खुसी हुनुपर्ने कारण छन्, अर्थात् मोटोपनाविरुद्धको विश्वव्यापी लडाइँ अन्ततः जितिने देखिन्छ । द इकोनोमिस्टबाट   

सुझावित समाचार