मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १६ बुधबार
  • Wednesday, 28 February, 2024
२०७९ फाल्गुण २१ आइतबार ०९:४४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मोटोपनको प्रकोप र नयाँ औषधि

देश/विदेश

Read Time : > 2 मिनेट
२०७९ फाल्गुण २१ आइतबार ०९:४४:००

मोटोपनका कारण विश्वले सन् २०३५ भित्र ४० खर्ब डलरको आर्थिक व्ययभार झेल्नेछ, जुन विश्वको कुल गार्हस्थ्य उत्पादनको २.९ प्रतिशत हो

एक नयाँ औषधिले धनाढ्य र ‘सुन्दर’ मानिसमाझ उत्साह प्रवाह गरेको छ । सातामा एकपटक सुई लगाउनुहोस्, शरीरको तौल घट्नेछ । इलोन मस्क विश्वस्त छन्, टिकटकका इन्फ्लुएन्सर प्रशंसाका गीत गाइरहेका छन् र एकाएक हलिउडका युवती अभिनेत्री आफूले यस्तो औषधि प्रयोग नगरेको स्पष्टीकरण दिइरहेका छन् । अहिले आएका तौल कम गर्ने औषधि सौन्दर्य प्रशाधन मात्रै होइन, यिनको सबैभन्दा ठूलो लाभार्थी लस एन्जेलस वा मायमीका सेलिब्रेटी नभई मोटोपनका कारण अस्वस्थ भएका विश्वभरका सर्वसाधारण हुन् । 

तौल घटाउने औषधि प्रभावकारी छन् र सँगसँगै काम नलाग्ने फर्जी पनि छन् । अहिले आएको नयाँ औषधि जिएलपी–१ रेसेप्टर एग्नोस्टिक्स निकै प्रभावकारी देखिन्छ । यसलाई विभिन्न नाममा अमेरिका, डेनमार्क, नर्वेलगायत मुलुकमा उत्पादन गरिँदै छ । विश्लेषकका अनुसार सन् २०३१ भित्र जिएलपी–३ औषधिको बजार एक खर्ब ५० अर्ब डलरसम्म पुग्नेछ । त्यसैगरी केहीका अनुसार यो औषधि रक्तचाप नियन्त्रण गर्ने सेटेटिन औषधिझैँ सजिलै बजारमा पाइनेछ ।  

यो औषधि अहिले सबैभन्दा उपयुक्त समयमा आएको छ । सन् ०२० मा विश्वका ४० प्रतिशत मानिसमा मोटोपना देखिएको थियो । वल्र्ड ओबेसिटी फेडेरेसनका अनुसार सन् २०३५ भित्र विश्वका आधाभन्दा बढी जनसंख्या अर्थात् चार अर्ब मानिसमा मोटोपना देखिनेछ । विश्वभरि मानिस मोटाइरहेका छन् । मोटोपन पश्चिमा मुलुकमा नभई इजिप्ट, मेक्सिको, साउदी अरेबियाजस्ता मुलुकमा बढिरहेको छ । यो चिन्ताजनक विषय हो, किनभने मोटोपनले मधुमेह, मुटुरोग, उच्च रक्तचापलगायत समस्या निम्त्याउँछ । अधिक शारीरिक तौल हुनाले कोभिड–१९ का कारण मृत्यु हुने सम्भावना पनि धेरै हुने गर्छ । यसबाहेक मोटो हुँदा मानिसले हीनताबोध महसुस गर्ने गर्छन्, विशेषतः विद्यालय जाने वा मैदानमा खेल खेल्ने बालबालिका मोटोपनाका कारण क्रूर लघुताभास सहन अभिशप्त छन् । 

मोटोपनको प्रभाव व्यक्तिगत करदातादेखि सम्पूर्ण अर्थतन्त्रमा देख्न सकिन्छ । एक आर्थिक मोडलिङअनुसार मोटोपनका कारण विश्वले सन् २०३५ भित्र ४० खर्ब डलरको आर्थिक व्ययभार झेल्नेछ, जुन विश्वको कुल गार्हस्थ उत्पादन (जिडिपी) को दुई दशमलव नौ प्रतिशत हो । यो व्ययभारमा मोटोपनका कारण हुने स्वास्थ्य समस्यामा लाग्ने स्वास्थ्य सेवाको खर्च र मोटोपनसँग जोडिने रोग वा मृत्युले घटाउने श्रम समय पर्छ ।

करोडौँ मानिसमा मोटोपन आफ्नो शरीरको ख्याल गर्न क्षमताको कमीका कारण नभई जैविक समस्याका कारण उब्जिएको हो । मानिसलाई अत्यधिक जाडो र भोकमरीमा बाँच्न मद्दत गर्ने ती वंशाणुले पनि मानिसको वृद्धि भइरहेको तौलमा भूमिका खेलिरहेको छ । मनै थाम्न नसकिने बजारको तयारी खानाको मात्रामा भएको अत्यधिक वृद्धिले सजिलै र सस्तो दाममा खानामा पहुँच बढाएको छ, तर यसले खासै शारीरिक श्रम नहुने हालको समयमा हन्तकाली बानी बढाइरहेको छ । र, एकपटक शरीरमा अत्यधिक बोसो थपिँदा डाइटिङ गर्दा पनि शरीरमा कुल वजनको तुलनामा निकै कम बोसो घट्छ । विश्वभर दुई खर्ब ५० अर्ब डलरबराबरको रकम डाइटिङ खर्च हुने भए पनि त्यो अनुपातमा मानिसले तौल घटाउन सकिरहेका छैनन् ।          

हाल सुखद रूपमा आएको मोटोपन घटाउने औषधिले उपचारपश्चात् मधुमेहका रोगीको तौल घटाएको छ । यस औषधिले दिमागमा खाना खाने आसक्तिलाई हटाउँछ । औषधिको उच्च मागका कारण लगानीकर्ता उत्साहित भएका छन् । मोटोपन घटाउने जिएलपी–१ आधारित सेमाग्लुटाइड उत्पादन गर्ने डेनमार्कको नोभो नोर्दिस्क कम्पनीको आम्दानी दुई गुणा बढेर तीन खर्ब २६ अर्ब डलर पुगेको छ । यो वृद्धिसँगै यो विश्वकै दोस्रो ठूलो औषधि कम्पनी बन्न सफल भएको छ । विश्लेषकका अनुसार यो दशकको अन्त्यसम्ममा मोटोपन भएका करिब आधा अमेरिकीले जिएलपी– १ प्रयोग गर्नेछन् । यो नयाँ औषधिको माग बढे पनि यससँग जोडिएका कैयौँ अनिश्चितता छन् । सुरक्षा र मूल्य नयाँ औषधिका दुई मुख्य समस्या हुन् । 

पहिलो समस्या सुरक्षा हो । औषधि नयाँ भएकै कारण यसको दीर्घकालीन असरबारे अहिलेसम्म कुनै जानकारी सतहमा आएको छैन । मधुमेहका रोगीका लागि बनाइएको कम डोजको औषधिले मन्द बान्ता र झाडापखालाजस्ता ‘साइड इफेक्ट’ देखाएको छ । डोज बढाउँदा साइड इफेक्ट बढ्ने सम्भावना अधिक हुन्छ । जनावरमा गरिएको परीक्षणमा थाइरोइड क्यान्सरको सम्भावना बढेको देखिन्छ र सेमाग्लुटाइडलाई दुर्लभ प्यानक्रियाटाइटिससँग जोडिएको छ । त्यसैगरी गर्भवती हुँदा वा सुत्केरी भएपछि औषधिले पार्ने असरबारे कुनै जानकारी छैन । यसका लागि नियन्त्रित वातावरणमा लामो समयसम्मको वैज्ञानिक अनुसन्धान आवश्यक पर्छ । त्यसैगरी औषधि जीवनभर आवश्यक हुन सक्छ र यदि औषधि बीचमै छुटे डाइटिङ छुट्दाझैँ उल्टै तौल बढ्ने हुन सक्छ । 

अर्को समस्या मूल्य हो । अमेरिकामा यसको मूल्य नौ सयदेखि एक हजार तीन सय डलरसम्म पर्छ । यदि औषधि जीवनभर प्रयोग गर्नुपर्ने हो भने यो अत्यधिक महँगो हुन आउँछ । यद्यपि भविष्यमा औषधिको बढ्दो मागले निर्माणमा प्रविधिगत नवप्रवर्तन आई मूल्य घट्न सक्छ ।       

त्यतिन्जेल के गर्ने त ? अत्यावश्यक मानिसका लागि सरकारले औषधिको सुनिश्चितता गराउनुपर्छ । तर, सौन्दर्य प्रशाधनका लागि औषधि लिन खोज्नेले आफ्नै गोजीबाट खरिद गर्नुपर्ने हुन्छ । दीर्घकालीन असरको अध्ययन गरिनुपर्छ । राज्यले सुरुमा त मोटोपनको अवस्था नै निम्तिन नदिने शारीरिक अभ्यास, स्वस्थ खानपिनलगायत उपायमा ध्यान दिनुपर्छ । 

यति भन्दै गर्दा हामीसँग खुसी हुनुपर्ने कारण छन्, अर्थात् मोटोपनाविरुद्धको विश्वव्यापी लडाइँ अन्ततः जितिने देखिन्छ । द इकोनोमिस्टबाट