
व्यवसायी दुर्गा प्रसाईंले आफ्नो महाअभियानमा संलग्नहरूलाई राजतन्त्रको नारा नलगाउन आग्रह गरेका छन् । राजसंस्था पुनर्स्थापनाका लागि शनिबार गरेको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी नभएपछि प्रसाईंले यस्तो बताएका हुन् ।
नयाँ बानेश्वरबाट भएको प्रदर्शनमा उनका समर्थकहरूले ‘राजा आऊ, देश बचाऊ’ जस्ता नारा लगाएका थिए । राजतन्त्र चाहिए पूर्वराजा र उनका परिवारका सदस्यहरू पनि आफ्नो आन्दोलनमा सहभागी हुनुपर्ने सर्त राख्दै प्रसाईंले राजतन्त्रको नारा नलगाउन भनेका हुन् ।
‘म तपाईंहरूलाई राजतन्त्र जिन्दावाद नभन्न आग्रह गर्दछु । किनभने राजतन्त्र चाहिनका लागि त उहाँहरू पनि आन्दोलनमा आउनुपयो नि । हामीसँगै आउनुपर्यो, भिड्नुपर्यो,’ उनले भने । आफू पूर्वराजालाई देखाएर सांसद हुने खालको मान्छे नभएको पटकपटक दोहोर्याउँदै प्रसाईंले राप्रपालगायतका दलहरूलाई कटाक्ष गरेका थिए ।
माओवादी छाडेर एमाले प्रवेश गरेका प्रसाईं पार्टी नीतिविपरीत कार्य गरेपछि निष्कासनमा परेका थिए । कारबाहीपछि केही दिनयता उनले राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको वकालत गर्दै आएका छन् ।