१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १६ मंगलबार
  • Sunday, 08 September, 2024
मोहन विष्ट कञ्चनपुर
२o७९ फाल्गुण १६ मंगलबार १२:२८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघको निर्वाचन प्रक्रिया स्थगित

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ फाल्गुण १६ मंगलबार १२:२८:oo

सुदूरपश्चिम विश्वविद्यालय नेपाल प्राध्यापक संघको निर्वाचन प्रक्रिया स्थगित भएको छ।

शनिबारदेखि महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघको दोस्रो अधिवेशन सुरु भएको थियो। अधिवेशनबाट प्राध्यापक संघ केन्द्रीय समिति चयन हुनुपर्ने भए पनि नेतृत्वका लागि आपसी विवादले स्थगित भएको छ। 

नेपाल प्राध्यापक संघ महाधिवेशन प्रतिनिधि र सदस्यका लागि आवश्यकभन्दा बढीले उम्मेदवारी दिने भएपछि सहमति हुन सकेको छैन। महाधिवेशन प्रतिनिधिका लागि ११ जना छनोट हुनुपर्ने भए पनि १६ जनाले उम्मेदवारी दिएका छन्। 

प्राध्यापक संघ केन्द्रीय कार्यसमितिका लागि सुरुवातमै ११ सदस्य निर्वाचित हुनुपर्नेमा २५ जनाले उम्मेदवारी दिएका छन्। सुरुवाती चरणमा छनोट भएका ११ जनाबाटै पाँच पदाधिकारीसहित ६ सदस्य नै कायम हुनेछन्। 

कांग्रेसनिकट नेपाल प्राध्यापक संघ एकै संगठनबाट नेतृत्वका लागि पाँचजना देखिएपछि विवाद भएको थियो। नेपाल प्राध्यापक संघ सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय सभापतिका लागि कांग्रेसनिकट डा. दीपकराज जोशी, गिरिराज कडायत, मदनसिंह बोहरा, मानबहादुर चन्द र डा. राजेन्द्रवीर चन्द आकांक्षी देखिएका छन्। 

केन्द्रीय क्याम्पसका कार्यरत एवं हाल प्राध्यापक संघ केन्द्रीय समितिका उपसभापति रहेका मदनसिंह बोहराले रोलक्रमअनुरूप अहिले सभापतिमा इच्छा देखाए पनि अन्य प्राध्यापकले स्वीकार गरेका छैनन्। 

जयपृथ्वी बहुमुखी क्याम्पस बझाङमा कार्यरत प्राध्यापक जोशी, दुर्गा बहुमुखी क्याम्पस अत्तरियामा कार्यरत प्राध्यापक कडायत, जनगन्नाथ बहुमुखी क्याम्पस बैतडीमा कार्यरत प्राध्यापक चन्द र कैलाली बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापक डा. चन्दले सभापतिका लागि इच्छा देखाएका छन्। 

पाँचैजना कांग्रेसनिकट प्राध्यापक भएकाले उनीहरूबीच एकले अर्कोलाई स्वीकार नगरेपछि संघको कार्यसमिति चयन प्रक्रिया स्थगित भएको एक प्राध्यापकले बताए। 

‘उहाँहरू सबै प्रजातान्त्रिकनिकट प्राध्यापक हुनुहुन्छ, संघमा पनि उहाँहरूकै बहुमत छ,’ ती प्राध्यापकले भने, ‘अब आफ्नै संघभित्रको विवादले पूरै समितिको निर्वाचन प्रक्रिया चैत्र मसान्तसम्मका लागि स्थगित गरियो।’

सभापतिका आकांक्षीसमेत रहेका प्रजातान्त्रिक प्राध्यापक संघनिकट डा. राजेन्द्र चन्दले समय अभावले सबैलाई समेट्नुपर्ने भएको हाललाई स्थगित गरिएको बताए। उनले आफ्नो नाममा अन्यले सहमति नगरेको बताए। 

‘नयाँनयाँ विश्वविद्यालय भएकाले सबैलाई समेट्नुपर्ने हुन्छ,’ उनले भने, ‘अहिले हामीसँग समय अभाव भएकाले छ, घनीभूत छलफल गर्नुपर्ने पनि देखियो, त्यसैले निर्वाचन प्रक्रिया लम्ब्याएको हौँ।’