
प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले गोरखामा निर्माण भएका विद्युत् परियोजनाहरूको सफलतासँगै गोरखावासीको समुन्नति सुनिश्चित हुने बताएका छन् ।
विकास हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित माछाखोला जलविद्युत् आयोजनाको उद्घाटन समारोहमा सांसद बजगाईंले गोरखाको गौरवको रूपमा रहेको बुढीगण्डकी आयोजना र अन्य साना विद्युत् आयोजनाका सफलतासँग गोरखाको विकास जोडिएको बताए ।
आफ्नो निर्वाचन क्षेत्रमा मात्रै साना खोलाहरूबाट एक हजार मेगावाट विद्युत् उत्पादनका लागि पिपिए भएको स्मरण गराउँदै उनले आयोजनाहरूको लागत अनावश्यक रूपले बढ्न दिन नहुने बताए । ‘राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकीको प्रस्तावित प्रसारण लाइन निर्माणमा एक अर्ब ८० करोड रुपैयाँ फजुल खर्च हुने देखिन्छ । गुम्दा र लाप्राकको बीचमा ग्रिड बनाउने हो भने फजुल खर्च रोक्न सकिन्छ,’ उनले भने ।
माछाखोला जलविद्युत् आयोजनाले उत्पादन सुरु गरेकोमा खुसी व्यक्त गर्दै सांसद बजगाईंले जलविद्युत् र पर्यटन प्रवर्द्धनबाट नै मुलुकले समृद्धि हासिल गर्ने बताए ।